नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर

काठमाडौं । बिगतमा नयाँ वर्षमा नेपाली चलचित्रको व्यापार निकै राम्रो हुने गरेको थियो । तर, यो नयाँ वर्षमा नेपाली चलचित्रले उल्लेख्य व्यापार गर्न सकेन । पछिल्लो दुई महिना यताबाट सुरु भएको नेपाली चलचित्रको व्यवासायिक असफलताको क्रम अहिले पनि जारी छ । नयाँ वर्षको अवसर पारेर २७ चैतमा रिलिज भएको नेपाली चलचित्र ‘राम नाम सत्य’को व्यापार पनि उत्साहजनक छैन ।

चलचित्र विकास बोर्डले सोमबार जारी गरेको बक्स अफिस रिपोर्ट अनुसार यो चलचित्रले पहिलो सातामा बक्स अफिसमा कुल २ करोड ७८ लाख १८ हजार ८४१ रुपैयाँको व्यापार गरेको छ । चलचित्रको लागत अनुसार पहिलो साताको व्यापारलाई न्यून मानिएको छ ।

बिराज भट्ट, सुपुष्पा भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुनिल थापा, प्रशान्त ताम्राकार, आयुष सिंह ठकुरी, खुसी कार्की लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको यो चलचित्र गत शुक्रवार रिलिज भएको थियो । चलचित्र ‘राम नाम सत्य’लाई शनिवार रातीसम्म ९ दिनमा ९७ हजार २०६ जना दर्शकले चलचित्र घरमा टिकट काटेर हेरेको बोर्डले जनाएको छ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुति रहेको यो चलचित्रलाई माइकल चन्दले निर्देशन गरेका हुन् । चलचित्रको लागत मात्रै करिब चार करोड रुपैयाँ रहेको छ । यो चलचित्रले आफ्नो लागत उठाउन चलचित्र घरमा १० करोडको व्यापार गर्नु पर्नेछ । पहिलो सातामा पौने तीन करोडको व्यापार गरेको यो चलचित्र अझै पनि ठुलो घाटामा छ ।

यस्तै गत मंगलबार १ वैशाखमा रिलिज भएको तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’को व्यापार पनि उत्साहजनक छैन । यो चलचित्रले रिलिज भएको पाँच दिनमा नेपालको बक्स अफिसमा जम्मा ४६ लाख ७६ हजार ६३७ रुपैयाँको व्यापार गरेको छ । यो चलचित्रलाई रिलिज भएको पाँच दिनमा १४ हजार ३१८ जना दर्शकले चलचित्र घरमा यसलाई हेरेर बोर्डको बक्स अफिस रिपोर्टमा उल्लेख गरिएको छ ।

सुरुको दुई दिनमा चलचित्र ‘पहाड’को राम्रो व्यापार थियो । तर तेस्रो दिनबाट यसको व्यापार खस्कन सुरु भएको हो । पाँचौँ दिनमा आइपुग्दा शनिवार समेत चलचित्रले राम्रो व्यापार गर्न सकेको छैन । चलचित्र ‘पहाड’को स्क्रिप्ट कमजोर भएको टिप्पणी समीक्षकहरूले गरिरहेका छन् ।

यो चलचित्रमा शिव श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, अरुण क्षत्री, पञ्चमी घिमिरेको मुख्य भूमिका रहेको छ । चलचित्रलाई निर्देशक घिमिरे आफैँले लेखेका हुन् । आठ वर्ष पछि चलचित्र निर्देशनमा फर्किएका तुलसीले यस पटक पनि राम्रो चलचित्र दिन सकेनन् । दुई करोड भन्दा माथिको बजेटमा निर्माण भएको यो चलचित्रले लगानी उठाउन मात्र करिब पाँच करोडको व्यापार गर्नु पर्ने हुन्छ । तर पहिलो साताको व्यापार हेर्दा चलचित्र घरबाट यसले लगानी उठाउने सम्भावना न्यून छ ।

अब ११ वैशाखबाट चलचित्र ‘परालको आगो’ रिलिज हुँदै छ । सुहाना थापा, प्रकाश सपुत, सौगात मल्ललगायतको अभिनय रहेको ‘परालको आगो’ रिलिजसँगै यति बेला प्रदर्शन भइरहेको चलचित्र ‘राम नाम सत्य’ र ‘पहाड’को व्यापारमा ठुलो प्रभाव पर्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर