नारी उत्थान समाजसेवा पुरस्कारबाट पौडेल सम्मानित

पोखरा । नारी उत्थान दिदीबहिनी समूह पोखराद्वारा स्थापित र सञ्चालित नारी उत्थान समाजसेवा पुरस्कार सामाजिक अभियन्ता सुष्मा पौडललाई प्रदान गरिएको छ ।

संस्थाको सोमबार १० औं साधारणसभा अवसरमा पोखरा महानगरपालिका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले नगद ११ हजार १११ सहित सम्मानपत्र पौडेललाई हस्तान्तरण गरिन् । सो अवसरमा उनले नारी उत्थान दिदीबहिनी समूहले स्थापनाकालदेखि नै उत्कृष्ट कार्य गर्दै आएको जनाउँदै पुरस्कारसमेत स्थापना गरी अन्य संघसंस्थालाई समेत उत्साहित गरेको बताइन् ।

संस्थाका संस्थापक सल्लाहकार छन्दनायक माधव वियोगीको संयोजकत्वमा अध्यक्ष जानुका पौडेल, प्रमुख संरक्षक सरिता घिमिरे, अधिवक्ता जानुका शर्मा र उपाध्यक्ष बिमला भुजेल सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा पहिलो पल्ट सो पुरस्कार हस्तान्तरण गरिएको हो । महिला हिंसाको अन्त्य र सामाजिक जागरणका लागि विभिन्न अभियानको सञ्चालन तथा सीपमूलक शिक्षा प्रदान माध्यमबाट लामो समयदेखि क्रियाशील रही समाजसेवामा विशिष्ट कार्य गरेकोमा कदरस्वरूप पत्रकार, अधिवक्ता एवं सामाजिक अभियन्ता पौडेललाई पुरस्कार प्रदानका लागि सिफारिस गरेको छनोट समिति संयोजक छन्दनायक वियोगीले बताए ।

नेपाल पत्रकार महासंघकी पूर्व केन्द्रीय सदस्यसमेत रहेकी पुरस्कृत व्यक्तित्व पौडेलले पुरस्कारले समाजसेवामा खटेर लाग्न थप प्रेरणा प्राप्त भएको बताइन् । संस्थाका प्रमुख संरक्षक सरिता घिमिरेले समूहले दिदीबहिनीलाई एकताबद्ध गरेकैले प्रभावकारी कार्य गर्न सकेको बताइन् । सो अवसरमा संस्थापक सदस्यहरू दुर्गा ढकाल, तुलसी कार्की र रामकुमारी गुरुङलाई सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

epaper

ताजा समाचार

सपना अधुरै, मनकुमार बाकसमा फर्किंदै