धरातलमा झारिदेऊ महँगी

पेट्रोल, एलपी ग्यासलगायतका कुरामा बेलाबेलामा मूल्यवृद्धि गरिए पनि तीज, दसैं र तिहार आउँदाका बखत यी कुरामा थोरै भए पनि मूल्यवृद्धि गरिहाल्ने मनोविज्ञान अहिले पनि कायमै छ । यो विरासतमा टेक्दै यस वर्ष पनि नेपाल आयल निगमले तीजपछि र दसैंको पूर्वसन्ध्यामा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिछाड्यो । यसको सर्वत्र विरोध भयो । अहिले ढिलै भए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको छ । निगमले स्वचालित मूल्य प्रणाली यथावत हुनेगरी मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्नेगरी मूल्यवृद्धि फिर्ताको निर्णय गरेको सार्वजनिक जानकारी पनि गराएको छ । पर्व आउँदा कहिल्यै पनि सुखका साथ पर्व मनाउन र खुसीयाली बाँड्न महँगी र मूल्यवृद्धिले व्यवधान खडा गरिरहेको परिवेश अहिले पनि कायमै छ । उपभोग्य सामग्रीको बजार मूल्य अहिले पनि आकासिएको छ । दसैं आउँदै गर्दा सबैको घरघरमा दशा सुरु हुन थालेको छ । प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरिएसँगै अन्य उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धि रोक्नका लागि पनि आवाज उठिरहेको छ ।

कतिपय सामानमा अहिल्यैदेखि अभाव सिर्जना गर्न थालिएको छ । यसले दसैं, तिहार र छठजस्ता पर्वमा कालाबजारी मौलाउने संकेत गरिरहेको छ । तर, सरकार तथा मातहतका निकाय कुनै पनि निकाय यस’bout सतर्क छैनन् । बजारमा किनमेलको चहलपहल सुरु भइसकेको छ । अनुगमन र पहल कोहीकसैबाट पनि हुन सकिरहेको छैन । उता छिमेकी देश भारतले अघोषितरूपमा सामान रोक्ने र खुलाउने गरिरहेकाले पनि सर्वसाधरण जनतामा त्रासपूर्ण मनोविज्ञानले काम गरिरहेको छ । सरकारको पहलमा कुनै पनि कुरा रहेको देखिँदैन । बजार सरकारको हात र पहुँचबाट टाढा पुगिसकेको छ । बिक्रीमा मनोमानी छ । सबै वस्तुभाउमा बजारको नियन्त्रण छ । सरकारले दिने सहुलियत र सेवा यति नै बेला हो । यो सेवा र सहुलियत नीति, विधि र प्रक्रियामा आउन सके मात्र जनताले राहत पाउन सक्ने सम्भावना रहन्छ । होइन भने ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’को अवस्था यसैगरी रहिरहन्छ ।

दैनिक भान्सामा चाहिने सामग्रीमा आकासिएको महँगीले घरपरिवारमा आहत ल्याइदिएको छ । नुन, तेल, चामल, दाल र हरियो तरकारी विचार पु¥याएर खानुपर्ने अवस्था सिर्जना हुन गएको छ । दाल खाएमा तरकारी नपकाउने र तरकारी पकाएमा त्यसैमा झोल राखेर दाल नपकाउने गरी भान्सा टारेको नेपाली दैनिकी मजाक नभएर यथार्थता बनिरहेको छ । त्यसो त चाडपर्वमा पढ्न गएका र बिदेसिएका परिवारजन घरमा आउने हुँदा हुने खुसीयाली र रमझममा महँगीले ननिकै अमिलो थपिदिने छ । पर्वका अवसरमा हरेक परिवारको आवतजावत खर्च यसै पनि बढेर जान्छ । त्यसमा पनि ‘घुँडोमाथि पिलो थप’ भने झैं आकासिएको महँगीले झनै पीडा दिने भएको छ । महँगीका कारण पर्वका अवसरमा सामूहिक भेटघाट, कुराकानी, मिलन र सुखदुःख साटासाटको अवसर पनि नेपालीका लागि महँगो परिरहेको छ । त्यसैले सरकार सक्छौ भने महँगीलाई धरातलमा झारिदेऊ !

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता