काठमाडौं । काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरी मंगलबारबाट मुहारचित्रमय भएको छ । त्यहाँ २१ जना कलाकारले बनाएका विभिन्न मुहारचित्र प्रदर्शनमा राखिएको छ । पाँच दिनसम्म जारी रहने यो चित्रकला प्रदर्शनमा रहेको चित्रहरू प्रदर्शनसँगै बिक्रीका लागि पनि राखिएको हो ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो चित्रकला प्रदर्शनीको मंगलबार उद्घाटन गरे । सुषमा राजभण्डारीको १९औं एकल चित्रकला तथा ख्याति प्राप्त कलाकार शीर्षकमा सो कला प्रदर्शनी गरिएको छ ।
सो चित्रकला प्रदर्शनीमा पुगेका पूर्वमन्त्रीहरू कृष्णगोपाल श्रेष्ठ, नेता रघुजी पन्त, जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिहरू किरण मानन्धर, केके कर्माचार्य, पूर्वचेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारसहित विभिन्न व्यक्तिले मुहार चित्रको प्रशंसा गरेका छन् ।
सो प्रदर्शनीमा कलाकार केके कर्माचार्य, विजय थापा, चन्दा श्रेष्ठ, जीवन राजोपाध्याय, रत्नकाजी शाक्य, गजेन्द्रमान श्रेष्ठ, एनबी गुरुङ, उमेश श्रेष्ठ, कृष्णप्रकाश शाह, भीम श्रेष्ठ, पृथ्वी श्रेष्ठ, दिपेन्द्र बनेपाली, अजय देसार, आशुराम खैजू, विनोद गुप्ता, मदन श्रेष्ठ, बालकिशोर चौधरी, राजेश महर्जन, सितु मास्के, सूर्य दोडराज र सुष्मा राजभण्डारीले तयार गरेका मुहारचित्र राखिएको छ । सोही प्रदर्शनमा माई जर्नी शीर्षकमा कलाकार सुषमा राजभण्डारीको १९औं एकल चित्रकला प्रदर्शन गरिएको छ । उनका बनाएका तीन दर्जक कलाकृति त्यहाँ राखिएको छ ।






