खोटाङ । नियमन गर्ने संयन्त्र प्रभावकारी नहुँदा खोटाङमा पेट्रोल विक्री वितरणमा मनपरी भइरहेको पाइएको छ । मोटरसाईकलमा प्रयोग हुने पेट्रोल केही पसलहरुमा राखेर मनपर्दो मूल्यामा बिक्रीवितरण भइरहेको पाइएको हो । केही व्यवसायीले पेट्रोल पम्पबाट पेट्रोल खरिद गरेर ड्यु र मिनरल वाटरको खाली बोत्तलमा भरेर बढी मूल्या लिएर बिक्रीमा राख्ने गरेका छन् ।
पेट्रोल पम्पमा नेपाल आयल निगमले तोकेको मुल्यमा पेट्रोल पाइए पनि पसलमा राखिएको पेट्रोल दोब्बर–तेब्बर मूल्यामा बिक्री गर्ने गरिएको उपभोक्ताको गुनासो छ । उसो त स्वयं पेट्रोल पम्पले नै आयल निगमले तोकेकोभन्दा बढी मूल्या लिने गरेको सामाजिक सञ्जालमै गुनासो आइरहेका छन् ।
गाउँका पसलमा समेत बोत्तलमा पेट्रोल भरेर बिक्री गर्न राखिएको देख्न सकिन्छ । खुद्रा पसलमा साँढे दुई लिटरको जम्बु ड्युको बोत्तममा पेट्रोल भरेर ४७० देखि ७०० रुपैयाँ सम्ममा बिक्री गर्ने गरिएको एक उपभोक्ताले बताएका छन् । आयल निगमले बिहिबार पेट्रोलको मूल्या प्रतिलिटर १७१.५० तोकेको छ ।
‘केही व्यापारीले अबैधरुपमा पेट्रोल बेचिरहेका छन्, पेट्रोल पम्पबाट पेट्रोल लगेर तेब्बर मूल्या लिएर कालोबजारी गरिहेका छन्,’ ती उपभोक्ताले भने, ‘पेट्रोल पम्प छ भन्ने थाहा नपाउने उपभोक्ता त्यही पसलको पेट्रोल किन्न वाध्य छन् । यसको कसले नियमन गर्ने, कसले कारबाही गर्ने ?’
मध्यपहाडी लोकमार्गका कारण जिल्लामा सवारी साधनको चाप बढ्दोछ । जिल्ला बाहिरबाट आएका उपभोक्ता पेट्रोल खरिदका क्रममा बढी ठगिनेगरेका छन् । जिल्ला भित्रिएका नयाँ मान्छेलाई पेट्रोल पम्पको ‘लोकेसन’ थाहा हुन्न । त्यही भएर उनीहरु पसलमा राखिएको पेट्रोल खरिद गर्नेक्रममा दोव्वर–तेव्वर बढी पैसा तिर्न वाध्य छन् ।
यस्तै, चोरीका बाईक चलाइरहेका चालकले पनि बोत्तलमै पेट्रोल प्रयोग गर्नेगरेका छन् । दिक्तेलबजारबाट पेट्रोल पम्प जानेक्रममा ट्राफिक प्रहरीको चेकिङ पार गर्नुपर्ने हुन्छ । ट्राफिकको चेकिङबाट जोगिनका लागि चोरीका बाईकलाई पसलमा राखिएको पेट्रोल हाल्ने गरिएको श्रोत बताउँछ ।
उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बोत्तलमा पेट्रोल भरेर बिक्रीमा राखेको देखिइरहेको बताउँछन् । ‘व्यापारीले बोटलमा पेट्रोल भरेर विक्रीवितरण गरिरहेको हामीले पनि देखेका छौँ । किनेका पनि छौँ,’ आचार्यले भने, ‘कालोबजारी गरेर उपभोक्तालाई ठग्ने प्रवृति मौलाएको छ । हामी नियमन गर्न लाग्छौँ ।’
पेट्रोल खरिदका क्रममा उपभोक्ता ठगिएको गुनासो नआएको खोटाङका प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले बताए । ‘उपभोक्ता ठगिएको विषयमा कुनैपनि गुनासो आएको छैन । खुद्रा पसलका व्यापारीले बोत्तलमा पेट्रोल भरेर विक्री वितरण गरेकारहेछन् भने अनुगमन गरेर कारवाही गर्छौँ,’ प्रमुख जिल्ला अधिकारी शाहले भने, ‘कालोबजारी गर्नु नियम विपरित हो, चाँडै एक्सन लिन्छौँ ।’






