भ्रष्ट नेता, दास कार्यकर्ता, निराश जनता

अहिले मुलुकमा रहेका केही नेता भ्रष्ट र कार्यकर्ता दास भएकाले जनतामा चरम निराशा छाएको देख्न्छि । यस निराशाले जनतामा दलहरूप्रतिको विश्वास गुमिसकेको सुनिन्छ । तर, पनि उपयुक्त विकल्प नभएका कारणले मात्र बाध्यतावस सोही पार्टीमा काम गरिरहेको भन्ने केही सञ्चारमाध्यममा आउन थालेको छ । पार्टीभित्रका नेताको हुकुमी शैली र अहम्वादले कार्यकर्तामा चरम निराशा छाएको प्रस्टै देखिन्छ । आफ्ना आसेपासे र भरौटेहरूलाई पदस्थापन गरी निष्ठा र आदर्शका पुजारीहरूको हत्या गर्ने रवैयाले लोकतान्त्रिक संस्कृति र शैलीको उपहास हुनपुगेको छ, जसले गर्दा लोकतान्त्रिक आन्दोलनप्रति स्वयं आन्दोलनकारीले नै प्रायश्चित गर्नुपर्ने दिन आएको हो कि ? भन्ने प्रश्न उब्जेको छ । यिनै विषयमा केही चर्चा गर्न खोजिएको छ ।

यस्तो अवस्था आउनुमा लोकतान्त्रिक दलहरूमा लोकतन्त्रकै आत्मा मानिने ‘उत्तरदायी संस्कृतिको हत्या’ भएर नै हो भन्नेमा दुई मत नहोला । कुनै पनि काम सम्पन्न गर्न निश्चित स्रोतसाधनहरूकोे बुद्धिमतापूर्ण प्रयोग हुने अपेक्षा राखिन्छ । उत्तरदायी संस्कृति सुशासनको जग मानिन्छ । काम कारबहीमा निष्पक्षता, नतिजामा तटस्थता र लाभहरूको वितरणमा समानता हुनसक्ने हो भने उत्तरदायी वहन गर्नबाट पन्छिनुपर्ने कुनै कारण नै छैन । उत्तरदायी संस्कृतिले काम सम्पादन गर्नुअघि नै मैले गर्न लागेको कार्यको परिणाम के हुन्छ ? भन्ने कौतूहलता लिने र सवालजवाफ गर्नसक्ने अवस्थामा पु¥याउने हँुदा हरेक जिम्मेवारीमा उत्तरदायी संस्कृतिको ठूलो महत्व छ । नेपालको संविधानको धारा २४१ को (१) मा सार्वजनिक संस्थाहरू सबैको महालेखामार्फत लेखापरीक्षण गराउनुपर्ने व्यवस्थाले जथाभावी खर्च गर्न नपाउने उत्तरदायी संस्कृतिको विकास गराउन खोजेको देखिन्छ ।

जति बढी शक्ति हुन्छ, उति नै धेरै जिम्मेवारी वहन गर्दै उत्तरदायी हुनुपर्छ भन्ने मानिन्छ । कानुनको प्रयोग गर्दा कानुनको स्रोतअक्षर मात्र नहेरी त्यसको व्यवस्थाले व्यक्ति र समाजलाई के कस्तो असर पर्छ भन्ने पूर्वअध्यनतर्फ ध्यान जानु जरुरी हुन्छ । अहिले मुलुकमा यसै कुराको अभाव भएकाले पाँच प्रवृबि खतराका रूपमा देखापरेका छन् । १. अनुदार र असहिष्णु राजनीति, २. ठूला विचार, नीतिगत प्रस्थान र क्रमभंगताको अभाव, ३. संस्थागत निर्णयभन्दा व्यक्तिवादी निर्देशनमा रुमल्लिएको प्रशासन, ४. लगानीमा संशय र उद्देश्यमा निराशा, ५. सन्तुलन गुमाएजस्तो देखिने परराष्ट्र सम्बन्ध । यी प्रवृत्ति देखापर्नुमा नेपालको संसद्ले उपयुक्त किसिमले काम गर्न, नियन्त्रण गर्र्न नसक्नु, निर्वाचन प्रणाली उपयुक्त नहुनु, सरकार गठन हुँदाको अवस्थामा सबै पार्टीको सरकार भएको अनुभूति दिलाउन नसक्नु र शक्तिपृथकीकरणको सिद्धान्तले काम गर्न नसक्नु नै हो ।

कार्यकर्ता नामक निरीह प्राणीलाई त्यस्तो कुरा मात्र सुनाइन्छ, जहाँ तिनले फरक तरिकाले सोच्नै नसकून्

कुनै पनि मुलुक विकसित हुनका लागि नियमप्रति प्रतिबद्ध, समयको आदर परिपालना र काममा गम्भीर हुने संस्कार पूर्वसर्त हो । जापानीहरू यसै कुरालाई व्यवहारमा उतारेर लागू गर्छन् र आज उनीहरू विकसित भए । हरेक काममा सामूहिकता र सामूहिक भावना दिगो विकासको अमूल्य औजार हो भन्ने जापानीहरू ठान्छन् । जापानमा समयभन्दा ढिलो सवारीसाधन आयो भने समाचार बन्छ भने नेपालमा समयमा सवारीसाधन आयो भने समाचार बन्छ । आज ली क्वान यूको फोटो खुसी र सम्मानका साथ हरेक सवारीचालकले आफ्नो सवारीसाधनमा टास्छन्, यसमा उर्दी जारी गर्नुपर्दैन । किनकि, यसले उनीहरूलाई ऊर्जा दिन्छ । ती नेता उखुको, दूधको, तरकारी तथा गोलभेंडाको मूल्य नपाउँदा त्यही किसानसँग उभिन्छन्, न कि माफियासँग होइन । किसानले मेहनत गर्दा भोकै मर्नुपर्दैन । सरकार छ भन्ने अनुभूति प्रत्येक कुरामा प्रत्येकपटक दिलाउँछन् ।

वास्तवमा लोकतन्त्र भनेकै त्यही हो । लोकतान्त्रिक मुलुकमा रहेका दलहरू भनेका सामाजिक गतिशीलता, नागरिकको सवलीकरण र आलोचनात्मक चेतलाई सामाजिकीकरण गर्ने माध्यम हुन् । आर्थिक सामाजिक परिवर्तनका लागि दलसँग सिद्धान्त र लक्ष्य हुन्छ । तर, नेपालमा दलहरूले कार्यकर्तालाई त्यो क्षमतामा काम गर्न सक्नेगरी जनताबीचमा पु¥याउनै चाहेनन्, केवल कठपुतली बनाएर राखेका छन् । कठपुतली यन्त्रले स्वतन्त्र चिन्तन गर्नैसक्दैनन् र समाजको हित अहित पनि छुट्ट्याउन सक्दैनन्, यो स्वाभाविक कुरा हो । कार्यकर्तारूपी यन्त्र मानवले आफ्नै आँखाअघि जे घटित भएको छ वा आफ्नो मन मस्तिष्कमा जे उब्जेको छ, त्यसलाई निर्भीकतापूर्वक भन्नै सक्दैन, देखेको कुरा दर्साउन डराउँछ । कठपुतली बनेको व्यक्तिले सबभन्दा पहिला आफ्नो पहिचान गुमाउँछ । जहाँ चेतनालाई विकृत पारिएको हुन्छ, त्यहाँ भावनात्मक दोहन गरेर उसलाई केवल शीर्ष नेताहरूको स्वार्थपूर्तिको औजार ठानिएको हुन्छ ।

ती कार्यकर्ता नामक निरीह प्राणीलाई त्यस्तो कुरा मात्र सुनाइन्छ, जहाँ तिनले फरक तरिकाले सोच्नै सक्दैनन् । तिनीहरू केन्द्रीय ब्यूँहरचनाबाट प्रक्षेपित सूचनाको गोटी खाएर सधैं अर्काे पक्षसँग भिड्न मात्र उत्तेजित भइरहन्छन् । तिनको दिमागलाई त्यसैअनुसार परिचालित गराइएको हुन्छ । आफ्ना असफलताहरूलाई ढाकछोप गर्ने वा शक्ति हत्याउने स्वार्थ खेलहरूमा लाभ पाउने हेतुले माथिल्ला नेताहरूले जहिले पनि भ्रम झुटका पुलिन्दारूपी नयाँनयाँ संकथनहरू जनता कार्यकर्ताबीच छरिरहेका हुन्छन् । यस्तो अवस्थामा भुइँ यथार्थहरूको बलात्कार भइरहेको हुन्छ । अहिले यस्तै भइरहेको छ । निर्वाचित राजनीतिको नकाव लगाएर भित्रभित्रै भ्रष्टाचार, दलाली, तस्करी, घुसखोरी गरिरहने तर बाहिरबाहिर जनता कायकर्ताको अगाडि सुशासनको ढोल बजाउने गरेका छर्लङ्गै छ । यस्तो अवस्थाको तुलना रातभरी डकैती गरेर बिहानबिहानै पूजागृहमा भजन गाउन पुग्ने प्रवृत्तिसँग गर्दा कुनै फरक नपर्ला । यी सबै अवस्था जनताले नजिकबाट नियालिरहेका छन् । जनताले मुखमा मास्क लगाएर नबोले पनि एक दिन अवश्य मुख खोल्नेछन् ।

नेतातर्फ कार्यकर्ता फर्किएका होइनन् कि कार्यकर्तातर्फ फर्र्र्र्र्किएका नेताको दल हुनु आवश्यक छ

यस्तो अवस्थाको शासन सत्ताले लोकतन्त्रप्रति जनतामा विश्वास जगाउन सक्ला भन्ने विश्वास गर्न कठिन भइसकेको छ । एउटा दलले अर्का दलका राम्रा अभ्यासहरू सिक्दै लोकतन्त्रको उपस्थिति र सेवा वितरणको विकेन्द्रीकरणप्रति सजगता अपनाउने कार्यशैलीतर्फ दलहरूको ध्यान गएको देखिएन । यसले राजनीतिमा संलग्न सिंगो तप्कालाई नै साँचो अर्थमा जीविकावादमा संलिप्त गराइदिएको देखिन्छ । कार्यकर्ताहरूले कानुन र अधिकारका दृष्टिले सोच्ने सामथ्र्य गुमाइसकेका देखिन्छन् । नेताहरूको आत्मकेन्द्रित अहम्वादले कार्यकर्ताहरूको मानसिकता दास बनाइदिइसकेको छ । नेताको आदेश एवं निर्देशबमोजिम तर्क–कुतर्क केही नहेरी, केही विश्लेषण नगरी ताली पिट्ने र पूर्ण कपी पेस्ट गरी कार्यक्षेत्रमा लैजाने संस्कार बसिसकेको छ । यसरी दलतन्त्रले जब आफ्नो हितसमूहलाई भीडतन्त्रमा ढाल्छ, त्यहाँ उत्पन्न आवेग कहिल्यै पनि ज्ञान र विवेकमा परिणत हुँदैन ।

यस्तो भीडलाई मुलुकको वास्तविक समस्याको मतलव नै हुँदैन । इतिहास किताबमा मात्र पढिँदैन इतिहासको अनाम पात्र बन्ने मौका पनि जुर्ने गर्छ । त्यो मौका समेत विवेक ज्ञानले ओतप्रोत व्यक्तिले मात्र प्राप्त गर्छ । त्यसका लागि नेताहरूतर्फ फर्किएका कार्यकर्ताहरूको दल होइन कि कार्यकर्ताहरूतर्फ फर्र्र्र्र्किएका नेताहरूको दल आवश्यक हुन्छ । अहिले नेताहरूतर्फ फर्किएका कार्यकर्ताहरूको दल संरचना निर्माण भएको छ । यसकै कारणले सामाजिक संरचनामा हेरफेर स्वतन्त्र चेतमा नियन्त्रण र नववर्गको उदय गराएको छ । अर्थात्, नेताहरू दलाल, कार्यकर्ता दास र जनताहरू निराश भएका छन् । यो अवस्थाबाट सबै दल, दलका नेता तथा कार्यकर्ता सच्चिनु र सुधार गर्नु जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे