काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ । यस पर्वलाई यमद्वितीया पनि भनिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा छ । दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।
भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः०७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा डा पुरुषोत्तम भट्टराईले बताए । उनका अनुसार आज दिनभर टीका लगाउन कुनै बाधा छैन । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन् । आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछ । त्यसअघि चन्द्रमा तुला राशिमा रहनेछ । तुला राशिमा चन्द्रमा रहेका बेला पनि यही दिशाअनुसार टीका लगाउन सकिने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको उनको भनाइ छ ।
भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन् । त्यसपछि मूल थालीमा लेखिएको अष्टदलमा अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामका साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज तथा गणपत्यादि वनस्पत्यन्त देवताको पूजा आराधना गरिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहि¥याउने चलन छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतमले बताए ।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिएर सम्मान प्रकट गर्ने धार्मिक तथा सामाजिक परम्परा छ ।
दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला
दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ । वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।
बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गर्न आवश्यक तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए ।
यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डनले जानकारी दिए ।
उनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा हामफालेर बालगोपालेश्वर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि मन्दिर बन्द गरिन्थ्यो । त्यसबेला दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला हुने गर्थे । अहिले पनि भाइटीकाका दिन त्यहाँ भक्तजनको भीड लाग्ने गरेको छ ।
विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो । विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि विसं २०७७ सम्म दिदीबहिनी तथा दाजुभाइ नहुने भक्तजन खञ्जनेश्वर महादेव मन्दिरमा पुग्ने गरेका थिए । भूकम्पपछि पुनर्निर्माण गरिएको बालगोपालेश्वर मन्दिर विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गरिएको हो ।
भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायमा कुल परम्पराअनुसार कसैले आज र कसैले अघिल्लो दिन किजापूजा गर्ने गर्छन् । भक्तपुरका अधिकांश नेवार समुदायले हिजो किजापूजा गरेका छन् । त्यहाँको तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार भक्तपुरका नेवार समुदायले हिजो नै किजापूजा गरेको जनाइएको छ ।
सम्बन्धित समाचार
‘अर्नब’को प्रभाव : कञ्चनजंघा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटन हुने
आज काग तिहार पर्व मनाइँदै, यस्तो छ शास्त्रीय मान्यता
भाडामा यात्रु बोक्ने मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते
चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछ : प्रधानमन्त्री शाह
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जना पक्राउ
सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतबीच द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु





