सुर्खेत । दोश्रो कर्णाली चलचित्र कार्यशाला २०८० बुधबारबाट कर्णालीको राजधानी बीरेन्द्रनगरको सुर्खेतमा सुरु भएको छ । केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लि.को आयोजना दोश्रो पटक यो कार्यशाला सुरु गरिएको हो । चलचित्र विकास बोर्डको सह–आयोजनामा सुरु भएको कार्यशालाको वीरेन्द्रनगर नगरपालिका ७ का वडा अध्यक्ष ध्रुव चपाईले उद्घाटन गरे ।
वडा अध्यक्ष चपाईले चलचित्रको मध्यमबाट समाजमा रहेका विकृति विसंगतिहरुलाई न्यूनिकरण गर्नु पर्ने बताउँदै भने,‘चलचित्र समाजको ऐना भएको हुँदा यस्ले साँस्कृति सन्देशको माध्यम हो । कर्णालीमा चलचित्र विकाशको लागि हामी सँधै सहयोगकालागि तयार छौं ।’
कार्यक्रममा बोल्दै आयोजक संस्था केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लि.का अध्यक्ष भूपेन्द्र कुमार खड्काले कर्णालीका प्रतिभाहरुको माग अनुसार दोश्रो पटक विशेष कर्णाली चलचित्र कार्यशाला आयोजना गरिएको बताए । यो कार्यशालालाई हरेक वर्ष निरन्तर आयोजना गर्दै कर्णालीमा धेरै भन्दा धेरै चलचित्रकर्मी जन्माउने र कर्णालीको चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने बताए ।
कार्यक्रममा सुर्खेतका रङ्गकर्मी यामनारायण आचार्यले चलचित्र समाज रुपान्तरणको एउटा पाटो रहेकोले बताउँदै कार्यशाला सबैका लागि फलदायी हुने विश्वास ब्यक्त गरे । कार्यशालाको सहयोगी संस्था नेपाल टेलिकमका प्रेमप्रकाश सिक्देलले चलचित्रले दिने सन्देश लामो समय सम्म रहने बताए । यो कार्यशालाले उत्कृष्ट सिनेकर्मी जन्माउने विश्वास व्यक्त गरे् ।
कार्यक्रममा संगीतकार गंगा केसी एवं रङ्गकर्मी केशव ढकालले कर्णालीबाट चलचित्र निर्माणको सम्भावन रहेको बताए । कार्यशाला ७ दिन सम्म चल्ने कार्यक्रमका सहजीकरण कलाकार तथा निर्देशक निर्मल प्याकुरेलले गरिरहेका छन् ।
यो कार्यशालामा चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् अभिनेता भुवन केसीको मास्टर क्लास रहने छ । यस्तै चलचित्र निर्देशक एवम् सञ्चारकर्मी डब्बु क्षत्रीले चलचित्र लेखन तथा निर्देशकको प्रशिक्षण दिने छन् । यस्तै अभिनेत्री सरिता गिरीको चलचित्र अभिनय सम्बन्धि विशेष कार्यशाला र सञ्चारकर्मी एवम् मेकअप आर्टिष्ट सरिता भारतीको चलचित्रका लागि क्यारेक्टर मेकअप तथा इफेक्ट मेकअप प्रशिक्षण यो कार्यशालामा रहेको छ । अग्रज निर्देशक दयाराम दाहालले यो कार्यशालामा निर्देशन सम्बन्धि विशेष कक्षा रहने आयोजक भूपेन्द्र कुमार खड्काले जानकारी गराएका छन् ।






