अनुमतिबिनै विद्युतको पोल निकाल्दा करेन्ट लागेर दुई जनाको मृत्यु

कालिकोट । अनुमतिबिनै आफ्नो टोलमा विद्युतको लाइन बिस्तार गर्न खोज्दा कालिकोटको नरहरीनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

पुराना सहायक रातो पोल निकाल्दै गर्दा गाउँपालिकाको मुख्य लाइनको तारमा पोल छँुदा ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको हो ।

आफूहरूसँग कुनै अनुमति नलिएर आफ्नो घरमा विद्युत् लिन पोल निकाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको विद्युत् वितरण केन्द्र कालिकोटले बताएको छ ।

‘पुराना सहायक लाइनका पोल निकाल्दै गर्दा मुख्य लाइनको तारमा छुँदा करेन्ट लागेको रहेछ,’ विद्युत् वितरण केन्द्र कालिकोटका कर्मचारी जयप्रसाद पाण्डेले भने, ‘यही महिनामा विद्युत् लाइन विस्तार भएको हो । सबै टोलटोलमा लाइन विस्तार हुन्छ । तर, हतारमा स्थानीयले घरमा पोल गाड्ने योजनाले आज दुई जनाको करेन्ट लागेर मृत्यु भयो, यो दुःखद हो । पोल निकाल्ने र अर्को ठाउँमा गाड्ने विषयमा हामीसँग जानकारी छैन । अनुमतिबिनै पोल निकाल्न खोज्दा यो घटना घटेको हो ।’

‘पछिल्लो समय गाउँगाउँमा विद्युतलाइनको विस्तार भइरहेको छ । यो राम्रो काम हो तर, कतै पनि राम्रोसँग पोल गाडिएको देखिँदैन । बाटैभरि छरपस्ट रूपमा विद्युतका तार फिँजिएका छन्, नागरिकलाई कुन तारमा करेन्ट छ, कुनमा छैन थाहा पनि हुँदैन,’ स्थानीय रोहन विष्टले भने ।

‘६ फिटदेखि बढीमा २ मिटरसम्म पोल जमिनमुनि गाड्नुपर्ने मापदण्ड भएता पनि कालिकोटमा अधिकांश ठाउँमा पोल ४ फिटसम्म पनि गाडिएका छैनन्,’ नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष अमलराज शाहीले भने । निगरानी गर्ने कार्यालय र ठेकेदारको लापर्बाहीका कारण विद्युत् लाइन जोखिमपूर्ण बन्दै गइरहेका छन् । नागरिकले ज्यान गुमाउनुपरेको छ ।

मापदण्डअनुसार कामै नगरी रकम भुक्तानी दिने कार्यालय र ठेकेदारको मिलेमतोमा रकम अनियमितता हुने गरेको समेत शाहीले आरोप लगाए । कर्णाली राजमार्गमा मापदण्डविपरीत विद्युत् लाइन विस्तार भएको शाहीले आरोप लगाए ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन