मस्कोमा आतंककारी आक्रमण, १३३ बढीको मृत्यु

मस्को । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल)मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३३ जना बढीको मृत्यु हुनुका साथै सय जना बढी घाइते भएका अधिकारीले शनिबार बताएका छन् ।

शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा १३३ जनाको मृत्यु भएको रुसको अनुसन्धान समिति (आईसीआर)ले पुष्टि गरेको छ । आतंकवादी आक्रमणका कारण १३३ जना बढीको मृत्यु भएको प्रारम्भिक पुष्टि आईसीआरले गरेको हो । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आईसीआरले शनिबार बताएको छ ।

आन्तरिक मामिला मन्त्रालय र संघीय सुरक्षा सेवाको परिचालन एकाइसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ ।

मृतकको शवको जाँच भइरहेको छ भने अपराधस्थलबाट हतियार र गोलाबारुदसहितका सामग्री प्रमाणस्वरूप जफत गरिएको छ ।

घटनास्थलमा रहेका आरआईए नोभोस्ती समाचार संस्थाका संवाददाताका अनुसार नकावधारी आक्रमणकारीले शुक्रबार एक्कासि भवनभित्र पसेर गोली चलाउनुका साथै भीडमा विस्फोटक पदार्थ फ्याकेका थिए ।

मस्कोको उत्तरी क्रास्नोगोस्र्क उपनगरमा रहेको क्रोकस सिटी हलमा आक्रमणपछि धुवाँको मुस्लो भरिएको र त्यसपछि आगोको ज्वाला फैलिएको थियो ।

आक्रमण हुँदा घटनास्थलमा पुगेका संगीतकर्मी एलेक्सीले भने, ‘कन्सर्ट सुरु हुनुभन्दा केही समय पहिले एक्कासि गोली र भीडमा व्यापक कोलाहल सुनिएको थियो । होहल्लालगत्तै त्यहाँ स्वचालित हतियारबाट गोली चलाइएको थाहा भयो । सम्भवतः यो रुसको इतिहासमा निकै विनाशकारी आतंककारी आक्रमणमध्ये एक हो ।’

मानिसहरू आपतकालीन निकासतर्फ दौडिँदै गर्दा कन्सर्टमा जानेहरू एकअर्काको टाउकोमा चढेर बाहिर निस्किएको उनले बताए ।

रुसी समाचार संस्थाका अनुसार रुसको अनुसन्धान समितिले शनिबार १३० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले पाँच बालबालिकासहित १ सय १५ जनालाई अस्पताल भर्ना गरिएको र तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जानकारी दिए ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी समाचार एजेन्सीलाई बताएअनुसार अधिकारीले ‘आतंकवादी’ अनुसन्धान सुरु गरिएको बताएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणपछि ‘निरन्तर’ घटना’bout जानकारी लिइरहेको बताइएको छ ।

रुसको नेसनल गार्डले घटनास्थलमा रहेको र आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । एएफपीका एक संवाददाताले खोजी कुकुरसहित प्रहरी अधिकारीले भवनको छेउमा पार्किङ गरिएका सवारीसाधनको निरीक्षण गरिरहेको देखेको बताए ।

इस्लामिक स्टेट समूहले आफ्ना लडाकुहरूले मस्कोको बाहिरी इलाकामा ‘ठूलो जमघट’मा आक्रमण गरेको र सकुशल आफ्नो अखडामा फर्किएको बताएको छ ।

मस्कोलाई ‘आतंकवादी हमला’ हुन सक्ने पूर्वसूचना थियो
मार्च महिनाको सुरुमा रुसस्थित अमेरिकी दूतावासले ‘अतिवादी’ समूहले ‘मस्कोमा हुने कन्सर्टसमेत ठूला जमघटलाई लक्षित गर्ने’ योजना बनाइरहेको भन्ने समाचारको अनुगमन गरिरहेको बताएको थियो ।

इस्लामी समूहद्वारा रुसका मस्को र अन्य ठूला सहर विगतमा पनि आक्रमणको निशाना बन्ने गरेका छन् र त्यहाँ कुनै स्पष्ट राजनीतिक उद्देश्यबिनाका घटना पनि भएका छन् ।

एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले भनेको छ, संयुक्त राज्य अमेरिकाले मार्चको सुरुमा रुसी अधिकारीलाई मस्कोमा ‘ठूला सभाहरू’लाई लक्षित गरी ‘योजनाबद्ध आतंकवादी हमला’ हुन सक्ने सूचना दिएको थियो ।’

सन् २००२ मा चेचेन पृथकतावादी लडाकुहरूले मस्कोको डुब्रोभ्का थिएटरमा आक्रमण गरी ९ सय १२ जनालाई बन्धक बनाएका थिए । विशेष सुरक्षा बलले बन्धकलाई रिहा गर्ने क्रममा थिएटरमा आक्रमण गर्दा १ सय ३० जनाको मृत्यु भएको थियो भने र सबै आक्रमणकारी बन्दुकधारीलाई आत्मसमर्पण गराउन सफल भएको थियो ।

हमलाको विश्वभरबाट निन्दा
मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल)मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १ सय बढी घाइते भएको घटनाप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएको रुसी उपप्रधानमन्त्री तात्याना गोलिकोवालाई उद्धृत गरी रुसी सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार एक विज्ञप्ति जारी गरी मस्कोमा आजको आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । गुटेर्रेसले रुसको आधिकारिक नाम उल्लेख गर्दै शोक सन्तप्त परिवार, जनता र रुसी सरकारप्रति भावपूर्ण समवेदना व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि शोक व्यक्त गर्दै सबै राष्ट्रलाई रुसी सरकार र अन्य अधिकारीसँग आतंकवादका यी निन्दनीय कार्यका दोषी र समर्थकलाई जवाफदेही बनाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउन ‘सक्रिय सहयोग गर्न’ आग्रह गरेको छ ।

‘सुरक्षा परिषद्का सदस्यहरूले जघन्य र कायरतापूर्ण आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस जघन्य आतंकवादी आक्रमणको भत्र्सना गर्दै भनेका छन्, ‘दुःखको यस घडीमा भारत सरकार रुसी महासंघका जनतासँग ऐक्यबद्धताका साथ उभिएको छ ।’

जापानको विदेश मन्त्रालयका प्रेस सचिव कोबायासी माकीले आक्रमणको निन्दा गर्दै जापानले शोक सन्तप्त रुसी नागरिकप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइते जनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

त्यसैगरी, चिनियाँ राष्ट्रपति सी चिन फिङले आक्रमणको कडा शब्दमा निन्दा गर्दै रुसी जनता र राष्ट्रपति पुटिनप्रति समवेदना प्रकट गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीले चीनले सबै प्रकारका आतंकवादको विरोध गर्ने, आतंकवादी आक्रमणको कडा निन्दा गर्ने र आफ्नो राष्ट्रिय सुरक्षा र स्थायित्वको रक्षाका लागि रुसी सरकारको प्रयासलाई दृढतापूर्वक समर्थन गर्ने कुरामा जोड दिएका छन् ।

विगत दुई वर्षदेखि रुसी सैन्य आक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपतिका सहयोगी माइखाइलो पोडोल्याकले टेलिग्राममा लेखेका छन्, ‘युक्रेनको यस आक्रमणसँग कुनै सम्बन्ध छैन ।’

युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले ‘मस्कोमा भएको आतंकवादी हमला पुटिनको आदेशमा रुसी विशेष सेवाको योजनाबद्ध र सुनियोजित उक्साहट भएकोे’ बताउँदैै युक्रेनसँगको युद्धलाई थप चर्काउने र विस्तार गर्ने उद्देश्य रहेको आरोप लगाएको छ ।

अमेरिकाले ‘भयानक’ गोलीकाण्डका पीडितप्रति समवेदना व्यक्त गर्दै थप जानकारी लिने प्रयास गरिरहेको जनाएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले पत्रकारसँग भने, ‘यस भयानक गोलीकाण्डका पीडितहरूप्रति हाम्रो समवेदना छ । ‘घटनास्थल र ’roundका तस्बिर भयानक छन् र हेर्न गाह्रो छ ।’

ह्वाइट हाउसका अनुसार अमेरिकाले मार्चको सुरुमा रुसका अधिकारीलाई मस्कोमा हुने ‘ठूलो जमघट’लाई लक्षित गरी ‘योजनाबद्ध आतंकवादी हमला’ हुन सक्ने चेतावनी दिएको थियो ।

युरोपियन युनियन (ईयू)ले मस्को आक्रमणले विश्वलाई स्तब्ध बनाएको जनाएको छ । ‘इयूले नागरिकमाथि हुने कुनै पनि आक्रमणको निन्दा गर्छ । प्रभावित सबै रुसी नागरिकप्रति हाम्रो समवेदना छ,’ ईयूका प्रवक्ताले भने ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले इस्लामिक स्टेट (आइएस)ले रुसमा गरेको आतंककारी आक्रमणको कडा शब्दमा निन्दा गरेको बताएका छन् ।

‘फ्रान्सले पीडित, उनीहरूका प्रियजन र सम्पूर्ण रुसी जनताप्रति ऐक्यबद्धता प्रकट गर्दछ,’ फ्रान्सको राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ ।

‘मस्को नजिकैको क्रोकस सिटी हलमा निर्दोष मानिसमाथि भएको भयानक आक्रमणको चित्र भयानक छ । घटनास्थल र पृष्ठभूमिको छिट्टै अनुसन्धान हुनुपर्छ,’ जर्मनीको विदेश मन्त्रालयद्वारा एक्समा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले उक्त आक्रमणलाई ‘आतंकवादी कार्य’ भनेका छन् । ‘मस्कोमा निर्दोष नागरिकको नरसंहारको भयावहता अस्वीकार्य छ,’ मेलोनीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रभावित जनता र पीडित परिवारप्रति पूर्ण ऐक्यबद्धता जाहेर गर्नुभएको छ ।’

मेक्सिकोको विदेश मन्त्रालयले नागरिकको जीवनविरुद्ध हुने कुनै पनि हिंसात्मक गतिविधिलाई अस्वीकार गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

epaper

ताजा समाचार

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन