उदयपुर । होली खेलेर सुनकोशी नदीमा नुहाउन जाँदा बेपत्ता भएका तीन बालबालिकाको खोजी सशस्त्र प्रहरी बलको गोताखोर टोलीले गरिरहेको छ । ती बालबालिकाको खोजी सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकलीको गोताखोर टोलीले गरिरहेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका तीन बालबालिका होली खेलेपश्चात् सुनकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भइरहेका छन् । २०÷२२ जना बालबालिका सुनकोशीमा नुहाउन गएकोमा पाँच जना बगेका थिए । जसमध्ये दुई जनालाई तत्काल उद्धार गरी निकालिएको थियो भने तीन बालबालिका बेपत्ता छन् ।
होली खेलेपश्चात् नुहाउन साउने बजारबाट ५ किलोमिटर तल सुनकोशीमा गएका बालबालिका सुनकोशीले बगाएर बेपत्ता भएको त्रियुगा नगरपालिका–१४ साउनेका वडाध्यक्ष हिमराज मगरले जानकारी दिए ।
बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ साउनेका १२ वर्षीय लोकबहादुर मगर, १२ वर्षीया रेखा मगर र आठ वर्षीय रिदम मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिनन्दन चौधरीले जानकारी दिए । बालबालिका सामूहिक होली खेल्दै धाप्लाङघाट पुगेका थिए । सुनकोशीमा पौडिन पसेकामध्ये दुई जनाको स्थानीयले उद्धार गरेको र तीन जना भने बेपत्ता भएका हुन् । घटनास्थलतर्फ खोजतलासका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गोताखोर टोलीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेले गरेका छन् जसमा ११ जना छन् ।
बोटसहितको आधुनिक उपकरण प्रयोग गरी नदीमा बेपत्ता बालबालिकाको खोजी भइरहेको छ ।
उदयपुर र खोटाङको बिच भएर बग्ने सुनकोशी नदीमा गोताखोरको टोलीले सोमबार ११ बजेबाट खोज तलासको काम थालेको हो । स्थानीयका अनुसार घटना आइतबार दिउँसो साढे ३ बजेतिरको भएको हो । बेपत्ता बालबालिका खोजतलासमा सशस्त्रको अलावा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि लागेका छन् ।






