गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–१ दिब्रुङ्गको सिङ्गो गाउँ व्यवसायिक आलु खेतीमा लागेका छन् । उनीहरुले आलुखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । दिब्रुङ्ग लुग्दीका ३४ परिवारले सामुहिक रुपमा व्यावसायीक आलु खेती गर्दै आम्दानी गर्न थालेका हुन् । आलु पकेट बिकास कार्यक्रम अन्तर्गत एक सय ५० रोपनी क्षेत्रफलमा सामुहिक आलु खेती गरिएको छ ।
गाउँमै महिला तथा युवालाई स्वरोगार तथा उद्यमी बनाउले लक्ष्यका साथ उक्त स्थानमा विगत दुईबर्ष देखि आलु खेती गर्दै आएको वडाअध्यक्ष घनश्याम खरेलले जानकारी दिए । दिव्रुङ्ग लुग्दी गाउँमा गरिएको सामुहिक आलुखेतीबाट गत बर्ष ४० लाख रुपियाँ आम्दानी भएको छ । आलुले राम्रो उत्पादन दिएपछि यसको खेतीबाट गाउँका कृषक सन्तुष्ट रहेको सन्तुष्ट रहेका छन् भने यो बर्ष ५२ लाख वढीको आलु उत्पादन गर्ने लक्ष्य लिएका छन् ।
पराम्परागत शैलीमा गरिदैँ आएको आलुखेती अहिले व्यावसायीक बनेको छ । यतिबेला गाउँका खेतबारी आलुले हरियाली छन् । यहाँका कृषकको दैनिकी आलुको स्यहार सम्भारमा कट्ने गरेको छ । आलु उत्पादनबाट भएको आम्दानीले घरखर्च चलाउन समेत सहज भएको कृषक राधिका खरेलले बताईन् । र्‘सिंचाईको कुनै समस्या नभएपनि एकै पटक उत्पादन हुने हुने हुँदा कुहिने डर हुन्छ ।’ उनले भनिन्, ‘गाउँपालिकाले कोल स्टोरका व्यवस्था गरिदिए राम्रो हुन्थ्यो ।’
दिब्रुङ्गका किसानहरुले ढोरपाटनबाट आलुको बिउ लिएर सामुहिक खेती सुरु गरेका थिए । यस स्थानमा एम एस ४२ नामक उन्नत जातको आलु लगाइएको छ । आलु पकेट बिकास कार्यक्रम अन्तर्गत १८ लाख र उद्यमशिलता अन्तर्गत समूहको १३ लाख ६८ हजार गरी कूल ३१ लाख ६८ हजार लगानी भएको वडाध्यक्ष घनश्याम खरेलले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष युवराज केसीले गाउँकै माटो पहिचान गरी माटो सुहाउँदो बाली तथा फलफुल व्यावसायीक खेतीमा गाउँपालिकाले प्राथमिकता दिएको बताए । कृषिको माध्यमबाट युवालाई गाउँमै रोजगारी सृजना गरी गाउँपालिकालाई कृषि तथा पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ पालिकाले योजना बनाएको उनको भनाई छ ।
गुल्मी जिल्लाभर ८७१ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको छ । गतवर्ष जिल्लामा आठ हजार एक सय मेट्रीक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिए । कार्यालय प्रमुख भण्डारीका अनुसार अघिल्लो बर्ष दुई करोड ७१ लाखको आलु जिल्ला बाहिर निर्यात भएको थियो । जिल्लाको चन्द्रकोट, मालिका, मदाने ,सत्यवती, गुल्मीदरबार गाउँपालिका रमुसिकोट नगरपालिका ब्यवसायीक आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।






