पहिरोको त्रासले ३५ दलित परिवार रातभर जागा

मुगु । जिल्लास्थित सोरु गाउँपालिका–४ रावलबाडा गाउँका ३५ दलित परिवार बाढी पहिरोको त्रासले रातभर जागा बस्न थालेका छन् ।

२१ असारको बिहान गाउँमाथिबाट वर्षासँगै उर्लेर आएको बाढीले खेतीयोग्य जग्गा बगरमा परिणत गरेपछि त्रसित बनेका ३५ दलित घरका करिब १ सय ७५ स्थानीय रातभर जाग्राम बस्न थालेका हुन् ।

बर्खा लागेपछि रावलबाडा गाउँको माथिबाट बाढी पहिरो आउने र गाउँको मुनितिरबाट पनि जमिन भाँसिदै जान थालेपछि ३५ दलित परिवारलाई आफ्नो ज्यानदेखि धनसम्पत्ति जोगाउन सास्ती हुन थालेको छ । कर्णाली नदीले गाउँमुनिको जमिन कटान गर्दै जान थालेपछि बस्ती नै भाँसिदै जान थालेको छ ।

गत वर्ष पनि यही समयमा गाउँमाथिबाट बाढी आउँदा खेतबारीको अन्नबाली तहसनहस पारेको थियो । यसपटक पनि सोही स्थानबाट बाढी आएर जग्गा जमिन तहसनहस बनाएपछि दलित परिवारको उठिबास हुने स्थिति छ ।

‘बाढी पहिरोको डरले हामी रातभर सुत्दैनौं,’ रावलबाडा गाउँका ४७ वर्षीय जाड नेपालीले भने, ‘वर्षा हुनेबित्तिकै माथिबाट बाढी पहिरो आएर खेतीयोग्य जग्गा जमिन बगर बनाइसक्यो, बीचमा हामी दलित परिवारको घर छ, वरिपरि बाढी पहिरोले तहसनहस बनाइसक्यो ।’

राति बाढी आएपछि बग्ने डरले रातभर गाउँले जम्मा भएर घरको छतमा जाग्राम बस्ने गरेको अर्का स्थानीय दानसिंह नेपालीले बताए । वर्षा सुरु भएपछि देवी देउता पुर्कादै घरमा बस्नुपरेको उनले सुनाए । उनका अनुसार कोही ओछ्यान बोकेर गाउँभन्दा ५ मिनेट टाढा प्राथमिक विद्यालयको भवनमा सुत्न जाने गरेका छन् ।

रावलबाडा गाउँका ३५ दलित परिवार बाढी पहिरोको उच्च जोखिममा रहेको सोरु गाउँपालिका–४ का वडाध्यक्ष गोर्ख मल्लले बताए । अध्यक्ष मल्लका अनुसार झरी पर्न थालेपछि बाढी पहिरोको त्रासले दलित परिवार रातभर जाग्राम बस्ने गरेका छन् ।

बाढी पहिरोको उच्च जोखिममा रहेको रावलबाडा बस्तीलाई सरकारले यथाशक्य चाँडो अन्यत्र स्थानमा सार्न अति जरुरी भइसकेको वडाध्यक्ष मल्लले सुनाए । रावलबाडा गाउँका दलित परिवार बस्ती अन्यत्र सारिदिन गाउँपालिका, कर्णाली प्रदेश र संघीय सरकारसँग बारम्बार गुहार माग्दै हैरान भए पनि कार्यान्वयन नहुँदा चिन्तित छन् ।

‘रावलबाडा गाउँ बाढी पहिरोको उच्च जोखिममा छ,’ सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले भने, ‘बजेट अभावका कारण सो बस्ती अन्यत्र सार्न गाह्रो भइरहेको छ ।’

सोरु गाउँपालिकाभरिका ५५ बटा बस्तीमध्ये दलितको बाहुल्यता रहेको रावलबाडा गाउँ बाढी पहिरोको जोखिममा रहेकाले अन्यत्र सार्न अति आवश्यक देखिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

epaper

ताजा समाचार

सरिता तिवारीको हत्यापछि गाडिएको अवस्थामा शव