जोखिम न्यूनीकरणका उपाय खोइ ?

मनसुन सुरु भएसँगै ज्यान जोखिमका घटनाले तीव्रता पाउँदै गएका छन् । कहालीलाग्दा जोखिम नेपालीले बेहोरिरहेका छन् । पछिल्लोपटक नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता भएका यात्रुहरूको खोजी भइरहेको छ ।

बस पनि भग्नावशेषका रूपमा मात्र भेटिन थालेको छ । गोताखोर तथा रेस्क्यु टिम परिचालित अवस्थामा छ । मनसुन भर्खरै मात्र सुरु भएको छ । अविरल वर्षाका कारण खोजी कार्य निकै चुनौतीपूर्ण बन्दै गएको छ । जलसतह केही कम भए पनि नदीको उर्लदो प्रवाह भने वेगवान नै छ ।

यस्तो अवस्थामा जोखिम बढेर जाने देखिन्छ । देशभर पानी परिरहेको छ । नदीमा बस खस्ने, पहिरो जाने, सडक भासिने र ढुंगा खस्ने समस्या आम बनेको छ । बस्ती जोखिममा छन् । भूगर्भको अध्ययन हुन सकिरहेको छैन । बस्तीका मास्तिर र मुनितिर पहिरो तथा नदीका उत्ताल छालमय बहाब जारी छ ।

असार साउनको महिना नेपालीका लागि भोकमरीका महिना हुन् । गरिबका घरमा यतिबेलामा छाक बसेको हुन्छ । खानका लागि पनि मानिस ओहोरदोहोर गरिरहेका हुन्छन् । काठमाडौंलगायतका सहर नेपाल र नेपालीका लागि सेवाप्रवाहका ‘हब’ हुन् । ग्रामीण जनता यहाँ नपुगी सुखै छैन । त्यहाँ पुग्न प्रयोग गरिने भनेका सवारीसाधन नै हुन् । तर, भारी वर्षाका कारण बाटोघाटो निकै जोखिममा छन् ।

एक ठाउँको सूचना अर्को ठाउँमा आदानप्रदान गर्ने संयन्त्रको पनि विकास हुन सकिरहेको छैन । भलै सूचनाका यन्त्र मानिसका हातहातमा छन् । यिनलाई सही सदुपोग गर्न सकिइरहेको छैन । यी सबैको एकीकृत व्यवस्थापन र परिचालन हुन सकिरहेको छैन ।

सरकार पनि पूर्वसतर्कता अपनाउनमा जुम्सो भएको छ । जोखिम न्यूनीकरणका उपाय अवलम्बनसमेत गरिएको छैन । पोहोर पनि यस्तै थियो, अहिले पनि यस्तै टर्छ भन्ने सरकारी सोच छ । यो अत्यन्त पिछडिएको र परम्परागत मानसिकताले नेपालीमाथि विपद्माथि विपद् थपिरहेको छ । यसलाई कम गर्न सरकाररले अझै पनि चासो, चिन्ता र पहल लिई दिएमा थप जोखिमबाट जिउधनको सुरक्षा हुन सक्ने थियो ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

epaper

ताजा समाचार

रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते