शताब्दी काव्यपुरुष ‘किञ्जल्क’ को निधन

पोखरा । शताब्दी काव्यपुरुष गोपाल वैद्य ‘किञ्जल्क’ को निधन भएको छ । उनको सोमबार राति फेवा सिटी हस्पिटल, पोखरामा उपचारका क्रममा निधन भएको हो ।

बुढ्यौलीका कारण बिरामी परेका उनलाई गत १ साउनमा अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार दिउँसो सेती नदी किनार तुलसी घाटमा अन्त्येष्टि गरियो ।

विसं १९७८ जेठ २ मा प्यूठानको खलंगामा जन्मिएका उनी गत जेठमा १०३ वर्ष पूरा भएका थिए । पोखरा भैरवटोल निवासी उनका २ छोरा र ६ छोरीमध्ये हाल १ छोरा र ३ छोरी बितिसकेका छन् ।

बागलुङमा केही समय बिताएका किञ्जल्कको कर्मभूमि पोखरा हो । उनको परिवार २०१५ सालमा पोखरा झरेको हो । उनी नेपाली र संस्कृत भाषामा सिद्धहस्त थिए ।

आयुर्वेदमा स्नातक गरेका उनलाई पोखरेलीले ‘बागलुङे वैद्य’ भनी चिन्ने गर्छन् । भैरवटोलमा उनले आफ्नै भैषज्य सदनमा केही वर्ष अघिसम्म औषधालय सञ्चालन गरेका थिए ।

नेपाली र संस्कृत भाषामा सिद्धहस्त साहित्यकार गोपाल वैद्यको पहिलो रचना संस्कृतको किञ्जल्क कणिका २०४० सालमा गोरखामा प्रकाशित भएको थियो । उनको ‘हिमाद्री महिमा’ (संस्कृत, २०६१), ‘बद्रीकेदार दर्शन’ (पद्मात्मक, २०५४), ‘नीतिशतकम्’ (पद्मात्मक, २०५४) प्रकाशित छन् । यस्तै उनले थुप्रै पुस्तक सम्पादन गरेका छन् ।

साहित्यकार सरुभक्तका अनुसार ‘किञ्जल्क’ संस्कृतमै छन्द मिलाउन सक्ने खुबीका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीका अनुसार किञ्जल्कले थुप्रै कृति लेखेकोमा ती अझै प्रकाशित हुन पाएका छैनन् । उनी घरमै बसेर केही न केही लेखिरहने स्वभावका थिए । उनी खासगरी संस्कृतमै लेख्न रुचाउँथे ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

epaper

ताजा समाचार

रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते