कर्मचारीतन्त्रको डिप्रोफेसनलाइजेसन र रिप्रोफेसनलाइजेसन

प्रशासन प्रणालीलाई आधुनिकीकरण गर्न विभिन्न सिद्धान्तको प्रतिपादन र अभ्यास भएका छन् । व्यवस्थापनका ज्ञाता फ्रेड्रिक टेलरले प्रशासनलाई वैज्ञानिक बनाउन र उत्पादकत्व बढाउन कार्य सम्पादनका लागि वैज्ञानिक विधि, वैज्ञानिक र प्रतिस्पर्धात्मक पद्धतिबाट कर्मचारी छनोट, काम गर्ने राम्रो वातावरण, कर्मचारीका लागि प्रोत्साहनको व्यवस्था, म्यानेजर र कामदारबीच श्रम विभाजनको सिद्धान्तअनुरूप काम र जिम्मेवारीको बाँडफाँट गर्नुपर्ने सिद्धान्त प्रतिपादन गरे । जसले प्रशासनमा आधुनिकीकरणलाई भित्यायो ।

हेनरी ग्रान्टको कार्यतालिकाअनुरूप संगठनको कार्यसम्पादन हुनुपर्ने सिद्धान्त रहेनरी फोयलकोे संगठनात्मक सक्षमताका लागि संगठनमा नेतृत्वको भूमिका र संगठनको प्रभावकारीताका लागि निर्देशनको एकता, नियन्त्रणका सीमा, अधिकार र जिम्मेवारीमा स्पष्टता र अनुशासनको आवश्यकता औंल्याउँदै अधिकारको प्रयोगले मात्र जिम्मेवार र उत्तरदायी प्रशासन पद्धति बन्ने दृष्टिकोण दियो । हेनरी फोयलको सिद्धान्तले प्रशासन प्रणालीलाई आधुनिकीकरणको मार्गमा डो¥याउँदै लग्योे ।

प्रशासन प्रणालीलाई कर्मचारीतन्त्रमा रूपान्तरण गर्न सफल विद्वान म्याक्स वेवर हुन् । कर्मचारीतन्त्रका विधिसम्मत कार्यसम्पाद गर्ने, पदसोपान पद्धतिमा रहने, मेरिटको अधारमा कर्मचारी छनोट गर्ने, कर्मचारीमा कार्यसम्पादन सक्षमता उच्च हुने, कार्यसम्पादनमा अव्ययक्तिक र तटस्थ रहने, श्रम विभाजनको सिद्धान्तअनुरूप संगठनमा पदसोपानको आधारमा जिम्मेवारी तोकिने, कार्यसम्पादनमा विशिष्टीकरण हुने र संगठनको सम्पूर्ण क्रियाकलापको अभिलेख रहनेजस्ता विशेषताले कर्मचारीतन्त्रलाई प्रोफेसनल प्रशासनको पर्यायवाचीका रूपमा चिनायो । लोकसेवा आयोगवाट गुण सिद्धान्त (मेरिट प्रिन्सिपल)का आधारमा छानिएका सक्षम कर्मचारीको समूह कर्मचारीतन्त्रले एउटै नियम र विधिअनुरूप प्रशासनलाई हाँक्न थाल्यो ।

व्यवहारवादी सिद्धान्तका सर्मथक हरवर्ट सिमोनको कर्मचारीले सधंै कानुनमा आधारित भई व्यावहारिक निर्णय गर्न नसक्ने तथ्य उजागर गर्दै निर्णय गर्दा पर्याप्त सूचना उपलब्ध नहुने कारण केवल अधिकतम सन्तुष्टि हुने खालका निर्णय गर्न सीमित हुन पुग्छ भन्ने सिद्धान्तले कर्मचारीतन्त्रमा हुने निर्णयलाई थप वैज्ञानिक र तार्किक बनाएर लग्यो । इल्टन मायो र रेन्सिस लिंर्कटजस्ता विद्वानले कर्मचारीतन्त्रको मेरुदण्ड कर्मचारी मेसिन होइनन्, मानव हुन् भन्ने तथ्यलाई वैज्ञानिक रूपमा हार्थन प्रभावको अध्ययनबाट पुष्टि गरे । कर्मचारीको उत्पादकत्व एक्लैभन्दा समूहमा कार्य गर्दा बढी हुन्छ । कर्मचारीतन्त्रमा सहभागितामूलक ढंगले गरिएको निर्णयको कार्यान्वयन सफल पनि हुन्छ भन्ने विषयले महत्व पायो । अब्राहम मास्लो र डगलस म्याक ग्रेगरले कर्मचारीको उत्पेरणा केन्द्रित सिद्धान्त प्रतिपादन गरे । कर्मचारीसँग आवश्यकताको शृंखला हुन्छ । आवश्यकता पूर्ति नै कर्मचारीको उत्प्रेरणा हो । सो पूरा गर्न कर्मचारी क्रियाशील हुन्छ भन्दै कर्मचारीतन्त्रमा कर्मचारीलाई मानवोचित व्यवहार गर्नुपर्ने आवश्यकता औंल्याए । जसले संगठनको आधुनिकीकरणलाई मानवोचित बनाउन बाध्यकारी बनाइदियो ।

आधुनिकतासँगै कर्मचारीतन्त्रको स्थिर कार्यवातावरण गतिशील र जटिल बन्न पुग्यो । कर्मचारीतन्त्रको सेवाप्रवाह कार्य वातावरणको प्रभाव पर्ने र कर्मचारीतन्त्रले आकस्मिक घटनाको व्यवस्थापन पनि गर्नुपर्ने भएको कारण कार्यसम्पादन शैली समयसापेक्ष, परिस्थितिजन्य हुनु आवश्यक बन्यो । आजको गतिशील र जेलिएको समाजका अन्तरसम्बन्धित क्रियाकलापको व्यवस्थापनबाट कर्मचारीतन्त्रको लक्ष्य प्राप्त गर्नुपर्ने भएकाले स्रोतसाधनको उपयोगमा संक्षमता र प्रभावकारिता, सेवाको गुणस्तर र परिमाणप्रति उत्तरदायी बन्नुपर्ने अवधारणा र अपेक्षाले प्रशासनको आधुनिकीकरणको साथै प्रोफेसनल चरित्र र क्षमताको खोजी बढ्दैै गयो पदसोपान र कमान्ड र कन्ट्रोलको महिमामा ह्रास आउन थाल्यो । त्यसकारण कर्मचारीतन्त्रको प्रोफेसनलाईजेसन, डिप्रोफेसनलाइजेसन र रिप्रोफेसनलाइजेसनका चर्चाहरू चल्न थाले ।

कर्मचारीतन्त्रको पुनर्ताजगी नगरेसम्म राजनीतिक लक्ष्य र उद्देश्य प्राप्त हुँदैन

प्रशासनको आधुनिकीकरणले कर्मचारीतन्त्र र प्रणालीलाई प्रोफेसनल बनाउँदै लैजान्छ । खासगरी प्रोफेसनल कर्मचारीतन्त्रको विश्लेषक हेनरी मिन्टजवर्ग हुन् । उनले सामान्यतया पाँच प्रकारका संगठन प्रशासनको कार्य सम्पादनमा प्रयोग हुने स्पष्ट गरेका छन् । पहिलो संगठन साधारण हुन्छ । जसमा उच्चतहको म्यानेजर र केही कर्मचारी हुन्छन् । निर्णय केन्द्रीकृत हुन्छ । समन्वय औपचारिक हुन्छ । श्रम विभाजन नगन्य हुन्छ । कर्मचारी एक आपसमा उस्तैउस्तै काम गर्छन् । संगठनले बाह्य वातावरणको परिवर्तन अनुभव गर्दैन । संगठनको लक्ष्य प्राप्ति संगठनको स्थायित्वसँग जोडिएको हुन्छ । दोस्रो संगठन यान्त्रिक हुन्छ । धेरै कर्मचारी हुन्छन् । पदसोपानयुक्त संगठन हुन्छ । नियम र प्रक्रियामा आधारित काम हुन्छन् । अधिकार केन्द्रमा रहन्छ । प्रशासनिक र प्राविधिक कर्मचारी सँगसँगै काममा संलग्न हुन्छन् । सबै काम औपचारिक विधिबाट सम्पन्न हुन्छन् । प्रविधिको प्रयोग उच्च हुन्छ । वातावरण स्थिर हुन्छ । आन्तरिक सक्षमतामा संगठनको उद्देश्य प्राप्ति टिकेको हुन्छ किनकि संगठनमा बाह्य प्रभाव रहँदैन । तेस्रो संगठन डिभिजनलाइज्ड हुन्छ । संगठन ठूलो र कामको आधारमा डिभिजन स्थापना गरिएका हुन्छन् । विभाग आफ्नो काम गर्न केही हदसम्म स्वतन्त्र हुन्छन् र वातावरणस्थिर नै हुन्छ ।

प्रोफेसनल कर्मचारीतन्त्रको चौथो चरित्र संगठन तदर्थमुखी हुन्छ । गतिशील र जटिल वातावरणमा पनि काम गर्न सक्षम हुन्छ । अत्याधुनिक प्रविधि प्रयोग गर्छ । समन्वय समतल र ठाँडो दुवै हुन्छ । संगठन संरचना औपचारिक हुन्छ भने अधिकार केन्द्रमा नै केन्द्रीकृत हुन्छ । संगठनको काम प्रायः विज्ञहरूबाट हुन्छ भने नियन्त्रण दोहोरो चेन अफ कमान्डबाट हुने गर्छ । पाँचौं संगठन प्रोफेसनल हुन्छ । कर्मचारी थोरै र प्रोफेसनल हुन्छन् । सेवामुखी हुन्छन् । सेवाप्रवाह कुनै पनि समयमा हुने गर्छ । निर्णय प्रक्रिया विकेन्द्रित हुन्छ । सम्बन्ध र नियन्त्रण औपचारिक हुन्छ । संगठनको उद्देश्य प्राप्त गर्न निरन्तर कार्यसम्पादन प्रक्रियाको सुधार हुन्छ । कर्मचारी कार्यसम्पादनमा पोख्त हुन्छन् । संगठन परिणमप्रति सजग हुन्छ । कार्य विशिष्टिकृत र परिणाम गुणस्तरीय हुन्छ । प्रोफेसनल कर्मचारी पेसागत आचरण, मूल्य र मान्यतामा अडिग हुन्छन् । स्थिर, गतिशील र जटिल कार्य वातावरणमा उनीहरू निसंकोच काम गर्न सक्छन् ।

खासगरी, विश्व व्यवस्थापकीय संसार र प्रोफेसनल संसारको संयोजनमा चलेको हुन्छ । कर्मचारीतन्त्रको प्रोफेसनलाइजेसन आधुनिकीकरणको परिष्कृत अवस्था हो, थप आधुनिकीकरण गर्नु हो । गुणस्तरीय सेवा, जनप्रेमी व्यवहार र कर्मप्रतिको उत्तरदायित्व बोध गर्न सक्ने प्रशासन संयन्त्र विकास गर्न कर्मचारीतन्त्रको प्रोफेसनलाइजेसन गर्ने गरिन्छ । कर्मचारीतन्त्र प्रोफेसनलाइज्ड चरित्रबाट अलग हुन सक्दैन । कर्मचारीतन्त्र र प्रोफेसनल चरित्रको सहसहयोग र सहऊर्जामा कर्मचारीतन्त्र प्रोफेसनलाइज्ड वन्ने र सशक्त हुने गर्छ । प्रोफेसनल व्यक्ति, संगठन र विधिले प्रोफेसनल कर्मचारीतन्त्रको विकास र सञ्चालन गर्छ ।

प्रोफेसनल कर्मचारीका गुण मेरिट (गुण) वा योग्यता प्रणालीका उपासक, स्वःनियन्त्रणमा विश्वास गर्ने, सेवाग्राहीप्रति जवाफदेही, सैद्धान्तिक ज्ञान र व्यावहारिक अभ्यासमा पोख्त, प्रोफेसनल आचारसंहिता र मूल्य मान्यतामा अडिग, कार्यसम्पादनमा स्वायतत्ता खोज्ने, समयपालनामा कठोर, सकारात्मक सोचका धनी, सेवाग्राहीलाई आदरभाव प्रकट गर्ने, सूचना प्रवाह गर्न रुचाउने, इमानदारिता र कर्तव्यनिष्ठता हुन् । प्रोफेसनल कर्मचारी जनतालाई सेवाप्रवाह गर्ने र जनताको आवश्यकतालाई प्रोफेसनल आवश्यकतालाई भन्दा बढी महत्व दिने मूल्य मान्यताबाट अभिप्रेरित हुन्छन् । र उनीहरू सधंै उद्देश्यप्रति फोकस्ड हुन्छन् । प्रोफेसनल कर्मचारीले संगठनलाई पनि प्रोफेसनल बनाउँछन् । प्रोफेसनालिज्म भनेको आफ्नो जिम्मेवारी पूरा गर्दा उच्च नैतिक व्यवहार, सीप र जिम्मेवारी प्रदर्शन गर्नु हो । प्रोफेसनालिज्म प्रोफसनल कर्मचारी र संगठनको चिनारी पनि हो ।

प्रोफेसनालिज्मका खास चरित्र विधि प्रक्रियाअनुसार काम गर्ने, आफ्नो कार्य सम्पादनप्रति सधंै उत्तरदायी बन्ने, जनतासँगको सम्पर्कमा आदारभाव, नरमपन देखाउने र जनताको समस्या आफ्नै समस्याझंै गर्ने, ज्ञान र सीपयुक्त संरचनामा काम गर्ने, सामाजिकीकरण र समाजमा उच्च सेवाप्रवाह गर्न उद्यत रहने, पेसाको अभ्यासका लागि अनुमतिपत्र प्राप्त गर्ने, पेसागत संगठनको सदस्यता र नेटवर्क भएका, खास सीपको माध्यमबाट समन्वय स्वतः कायम पद्धति हुने, पेसागत आचारसंहिता र मूल्य मान्यताको उच्च पालना गर्ने, कार्यसम्पादनको मूल्यांकनमा सहकर्मीको मूल्यांकनलाई महत्व दिने , कार्यसम्पादनमा विशिष्टीकरण र स्वायतता चाहने, कार्यसम्पादनमा तटस्थ रहने, निर्णय निर्धारणमा स्वतन्त्रता र सहभागिता खोज्ने, कार्यक्षेत्रमा एकाधिकार जमाउने, जटिल समस्याको समाधानमा ज्ञान सिप र विज्ञताको प्रयोग गर्ने, परिणामप्रति सधैं सजग रहने र बाह्य वातावरणभन्दा आन्तरिक सक्षमतामा विश्वास गर्नेछन् ।

कर्मचारीतन्त्रको डिप्रोफेसनलाइजेसनलाई स्पष्ट र सरल विश्लेषण गर्न उदाहरणलाई आधार बनाइएको छ । पहिलो, प्राविधिक कर्मचारी खासगरी स्वास्थ्य सेवाका डाक्टर र पठनपाठन गर्ने शिक्षक प्राध्यापकलाई व्यवस्थापकीय जिम्मेवारी दिनु डिप्रोफेसनलाइजेसनको एक उदाहरण हो । पढाउने प्राध्यापक वा शिक्षकलाई कुनै संस्थाको महाप्रबन्धक, अस्पतालका डाक्टरलाई स्वास्थ्य मन्त्रालयको सचिव बनाउनु डिप्रोफेसनलाइज्ड गर्नु हो । दोस्रो, प्रोफेसनल क्षेत्रमा ट्रेड युनियनको अभ्यास हो । युनियन मेरिट पद्धतिभन्दा सिनियारिटि पद्धतिलाई जोड दिन्छ । जुन प्रोफेसनलाइजेसनको विपरीत हो । तेस्रो, एरोविक फिटनेस क्लब, डाइट क्लबहरूले पनि उस्तै सेवा प्रवाह गर्न थालेपछि खेल विज्ञ वा कोचहरूको डिप्रोफेसनलाइज्ड हुन पुगेको हुन्छ । अर्थात्, सेवाप्रवाहमा प्रतिस्पर्धात्मक वातावरणले पनि कर्मचारीतन्त्रलाई डिप्रोफेसनलाइज्ड गर्दछ । परम्परागत कार्यसम्पादन र सेवाप्रवाहको क्षेत्रमा स्थापित शक्ति, ज्ञान, तजबिजी अधिकार, स्वायतता, नियन्त्रण र प्रभावमा कमी आउनु कर्मचारीतन्त्र डिप्रोफेसनलाइजेसन हुनु हो, जसले गर्दा प्रोफेसनल स्ट्याटसमा पनि ह्रास आउने गर्छ ।

कार्यक्षेत्रमा अन्य प्रतिस्पर्धीको प्रवेश भई परम्परागत एकाधिकार समाप्त हुनु, सूचना सञ्चार प्रविधिको प्रयोगले प्रोफेसनल कर्मचारीको पेसागत ज्ञान र विज्ञता माथिको नियन्त्रण कमजोर बन्नु वा ज्ञान सीप र विज्ञता अपर्याप्त हुनु, कार्यसम्पन्न गर्ने सन्दर्भमा संगठनभित्र निर्णय निर्धारणमा रही आएको तजबिजी अधिकारको समाप्ति र स्वायतत्तामा कमी आउनु, कर्मचारीतन्त्रमा ट्रेड युनियनको उपस्थिति र अभ्यास गरिनु, प्रोफेसनल कर्मचारी अत्यधिक प्रोफेसनल, आत्मकेन्द्रित र संकीर्ण बन्नु, गैरप्रोफेसनल हित समूहहरूको दबाबबाट प्रोफेसनलले प्रोफेसनल कार्यसम्पादन गर्न अधिकार र शक्तिको प्रयोग गर्ने सहज वातावरण नहुनुु, राजनीतिक नेतृत्वमा पनि प्रोफेसनल ज्ञान भएका कारण उनीहरूबाट हुने निर्देशन र मूल्यांकनले प्रोफेसनल प्रभुत्वमाथि चुनौती आउनु, सुसूचित समाज विकासले प्रोफेसनल ज्ञान भएको कारण उनीहरूबाट प्रोफेसनल सेवा र गुणस्तर खोजी (जस्तो कि डाक्टरकोमा जाँदा इन्टरनेटबाट सबै जानेर बिरामी जानु) प्रबल बन्नु, वातावरणीय राजनीतिक, सामाजिक आर्थिक, प्राविधिक परिवर्तनले सिर्जना गरेको परिवर्तन व्यवस्थापन गर्न सक्षम नहुनु नै कर्मचारीतन्त्र, निजामती सेवा डिप्रोफेसनलाइज्ड भएको मानिन्छ ।

प्रोफेसनल चरित्र र क्षमताको खोजीले पदसोपान र कमान्ड र कन्ट्रोलको महिमामा ह्रास ल्यायो

कर्मचारीतन्त्रको डिप्रोफेसनलाइजेसनसुधारको एक चरण हो । जुन योजनाबद्ध र आकस्मिक दुवै रूपमा प्रयोगमा ल्याइएको हुन्छ । योजनाबद्ध वा आकस्मिकजस्तो भए पनि डिप्रोफेसनलाइजेसन उद्देश्यमुखी भने हुन्छ । यसकारण डिप्रोफेसनलाइजेसनको रणनीतिक महत्व रहेको हुन्छ । कर्मचारीतन्त्रलाई डिप्रोफेसनलाइजेसन गर्ने चतु¥याई (टयाक्टिस)हरू धेरै छन् । सेवाप्रवाहमा रहिआएको सरकारी एकाधिकार समाप्त गरी धेरै कर्ताहरूबीच(जस्ताकी शिक्षा प्रवाहमा सरकारीको साथसाथै निजी क्षेत्र पनि संलग्न हुने) प्रतिस्पर्धात्मक वातावरणको सिर्जना गर्ने, कमान्ड एन्ड कन्ट्रोलमा खुकुला बनाई सहभागिता र सहकार्यले लिँदै गएको छ । राजनीतिक नेतृत्वले कर्मचारीतन्त्रले सम्पादन गरी आएको कार्यमा बाहिरबाट विज्ञ सेवा लिन वा सल्लाहकार नियुक्ति गर्न प्रारम्भ भएको छ । बहुसंस्थाको उपयोग गरी एउटै कार्य कर्मचारीतन्त्र र कर्मचारीतन्त्र बाहिरका संस्थाहरूबाट गराई सम्पादनको स्तर मूल्यांकन गर्ने गरिन्छ । सार्वजनिक निर्णय प्रक्रियामा ट्रेड युनियन वा सरोकारवालाको सहभागिता अनिवार्य निजामती सेवालाई युनियनाइजेसन गरिन्छ । सरकारी सेवाको कार्यसम्पादन मूल्यांकन सुपरीवेक्षक र सहकर्मीको सट्टामा बाहिरी विज्ञबाट गराउने, सरकारी क्षेत्र विशेषज्ञता नभएका क्षेत्रबाट असंलग्न रहने र सरकारी नियमन खुकुलो गर्दै जाने, र तटस्थ प्रशासनको बदलामा राजनीतिक एजेन्डाप्रति प्रतिबद्ध प्रशासनको उपयोग बढाउने गर्ने गरिन्छ ।

कर्मचारीतन्त्र आफैं एक पद्धति हो र प्रोफेसनल संयन्त्र पनि हो । कर्मचारीतन्त्र÷निजामती सेवाको आधुनिकीकरण सँगसँगै त्यसमा प्रोफेसनल सक्षमता र उत्तरदायित्वको अपेक्षा गरिएको हुन्छ । सिद्धान्ततः कर्मचारीतन्त्र र प्रोफेसनलिज्मको सहअस्तित्व संगठनमा रहेको हुन्छ । प्रोफेसनल कर्मचारीतन्त्र उत्तरदयी, जनमुखी, परिणाममुखी, पारदर्शी र विकेन्द्रीत हुन्छ । प्रोफेसनल कर्मचारीतन्त्रले मात्र देशको सर्वांगीण विकासको नेतृत्व गर्न र विकास अभियान परिचालन गर्न सक्छ । यद्यपि, समयको गति सँगसँगै प्रविधि र राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनले कर्मचारीको क्षमता सचेत जनताको माग पूरा गर्न अपर्याप्त सिद्ध हुन पुग्छ ।

कर्मचारीतन्त्रको पुनर्ताजगी नगरेसम्म राजनीतिक लक्ष्य र उद्देश्य प्राप्त हुँदैन । कर्मचारीतन्त्रका विकल्प खोजेर जनतालाई सेवा पु¥याउने कोसिस गर्दा कुनै पनि विकल्प कर्मचारीतन्त्रभन्दा उत्कृष्ट र उत्तम पनि देखिएनन् । यसकारण कर्मचारीतन्त्रको डिप्रोफेसनलाइज्ड गर्दै त्यसको रिप्रोफेसनलाइज गर्नु (भत्काएर नयाँ बनाएझै) सधैं आवश्यक र उत्तम विकल्प हुन्छ । रिप्रोफेसनलाइजेसन भनेको कर्मचारीतन्त्रलाई वर्तमान आवश्यकता र भावी अपेक्षा पूरा गर्न सक्नेगरी सक्षम, उत्तरदयी र नैतिकवान् बनाउने सुधारात्मक प्रक्रिया हो ।

संगठनमा कर्मचारीतन्त्र र प्रोफेसनालिज्मका गुण र विशेषताको सहअस्तित्व कायम गर्ने, कर्मचारीतन्त्रको सामाजिकीकरण गरी सामाजिक एवं राजनीतिक उत्तरदायित्व वहन गर्न सक्षम बनाउने, उच्चस्तरको नैतिकता, इमानदारिता र सच्चरित्रका लागि आचारसंहिताको पालना कठोर बनाउने, कर्मचारीतन्त्रका प्रोफेसनल कर्मचारीहरूको ज्ञान, सीप र विज्ञता आध्यात्मिक ज्ञानको माध्यमबाट समयानुकूल धनीकरण गर्ने, कर्मचारीतन्त्रलाई वातावरणअनुकूल कार्यसम्पादन गर्न र परिस्थितिको व्यवस्थापन गर्न सक्षम बनाउने, जनताका लागि सेवाको सहउत्पादन, सहप्रवाह र सहमूल्याकंन गर्ने (जस्तै डायविटिज रोगको डाक्टर र डायविटिज रोगका रोगीहरूको संस्था मिलेर रोगको व्यवस्थापन सम्बन्धमा सेवा निर्धारण गर्ने, सेवा दिने र मूल्याकंन गर्ने) संयन्त्र विकास गर्ने, समावेशी प्रजातन्त्रका मूल्य मान्यताअनुरूप कर्मचारीतन्त्रको पुनरुत्थान र सञ्चालन गर्ने, कार्यसम्पादन विधि र प्रक्रियाको आधुनिकीकरण र स्तरीकरण गर्ने, स्वःचालनीकरण सार्वजनिक सेवाप्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग अनिवार्य बनाउने, सार्वजनिक सेवाप्रवाहमा रहेको बन्द प्रणालीको समाप्ति र पारदर्शीकरण गर्ने, र सेवा वा कार्यका सम्बन्धमा स्वप्रति, सरकार र मन्त्रीप्रति नभई जनता र सेवाग्राही प्रति उत्तरदायी बन्नुपर्ने अनिवार्यता गर्ने गरी कर्मचारीतन्त्रको रिप्रोफेसनलाइजेसन गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धार्मिक पर्यटन प्रर्वद्धनमा शक्तिपीठका सर्किट ‘कोशेढुंगा’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले छैटौं पटकको प्रयाशमा मलाई पार्टीबाट निकाल्न सफल हुनु भो उहाँलाई बधाई : कर्णबहादुर मल्ल