इटहरी । सप्तकोसी (कोशी ब्यारेज)मा यात्रुबाहक बस खसेको छ । बिहीबार साँझ ६ बजेतिर कोशी ब्यारेजको ३५ नं. ढोकाबाट बस सप्तकोसी नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार विराटनगरबाट उदयपुरको गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुबाहक बस सप्तकोसी नदीमा खसेको पुष्टि गरे ।
उनका अनुसार कोशी ब्यारेजको दक्षिणतर्फ बस खसेको थियो । नरसिंह डिलक्स बस आफैं अनियन्त्रित भएर साँझ नदीमा खसेको एसपी रेग्मीले जानकारी दिए । घटनाको जानकारी पाएलगत्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, एसपी रेग्मीसहित प्रहरी अधिकारीहरू घटनास्थलतर्फ खटिएका थिए ।
ब्यारेजको ३५ नम्बर ढोका खुला नभएका कारण बस खसेको स्थानमा पानीको सतह कम थियो । पानी सतह कम भएकैले नदीमा खसे पनि बस डुब्न पाएन । जसकारण मानवीय क्षति हुन नपाएको एसपी रेग्मीले जानकारी दिए । ‘बस खसेको सूचना पाएपछि सुनसरी र सप्तरीबाट खटिएको प्रहरी टोलीले तत्कालै घटनास्थलबाट उद्धार गरेको हो,’ उनले भने, ‘बस खसेको ढोका खुला नभएका कारण पानीको सतह कम हुँदा मानवीय क्षति हुन पाएन ।’
बस खसेको क्षेत्र सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१ स्थितमा पर्छ । जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार बस चालक सिराहाको लहान नगरपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिइएको छ ।
चालकसहित दुईजना सहचालक र १४ जना यात्रु सवार रहेका थिए । चालक मेहतालाई इलाका प्रहरी कार्यालय भारदहमा राखिएको डीएसपी न्यौपानेले जानकारी दिए । बस कोसीमा खसेपनि प्रहरीले सबैको सकुशल उद्धार गरेको उनको भनाइ छ ।
उद्धार गरिएका सबैको अवस्था सामान्य छ । केहीलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए ।
‘बस आफैं अनियन्त्रित भएर सप्तकोसी नदीमा खसेको हो,’ उनले भने, ‘ब्यारेजको ३५ नम्बर ढोकादेखि दक्षिणतर्फको साइडबाट बार भत्काउँदै बस नदीमा खसेको थियो ।’
दुर्घटनाको कारण’bout थप अुनसन्धान भइरहेको प्रहरीको भनाइ छ । अहिले बस कोसीमै रहेको र बाहिर निकाल्ने प्रयास भइरहेको छ । के कारण बस कोसीमा खसेको भन्ने’bout विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





