‘छायादेवी सेन्टरको जग्गा सार्वजनिक सम्पत्ति हो, पहिलाकै अवस्थामा फर्काउनुपर्छ’

काठमाडौं । सर्वोच्च अदालतमा काठमाडौंको ठमेलस्थित कमलपोखरी मासेर छायादेवी सेन्टर बनाइएको कि.नं. १६७ को जग्गालाई सार्वजनिक गरिनुपर्ने जिकिर पेस भएको छ । बुधबार न्यायाधीश शारंगा सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा भएको सुुनवाइमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू बालकृष्ण न्यौपाने, विश्वप्रकाश सिग्देल एवं अधिवक्ताहरू रामहरी श्रेष्ठ, भीम राई, दीपकविक्रम मिश्र, सुरेन्द्रविक्रम केसी, हरिकृष्ण श्रेष्ठ, सञ्जय अधिकारी, कीर्तिनाथ शर्मा पौडेललगायतले बहस गरेका थिए । उनीहरूले ठमेलको छाया सेन्टर जग्गा गुठियारले नियोजित रूपमा मोही हक कायम गरेर बेचबिखन भएको दाबी पेस गरे । ‘गुठी संस्थानलाई अहित हुनेगरी त्यसरी मोही कायम गर्न मिल्दैन,’ वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले भने ।

केयुरशमशेर मोही कसरी भए भन्ने विषय नै अन्योल छ । ‘पहिलो कुरा केयुरशमशेर मोही हुनका लागि किसान हुनुपर्छ, तर उनी किसान थिएनन्, दोस्रो कुरा कमलपोखरी मोही कायम गर्न मिल्ने जग्गा होइन,’ वरिष्ठ अधिवक्ता न्यौपानेले भने, ‘मोही कायम हुनका लागि अनुसूची फाराम १ र २ भर्नुपर्छ त्यो पनि कतै देखिँदैन, त्यसैले यो जग्गामा मोही कायम हुन सक्दैन ।’ गुठियारले आफ्नो अधिकार क्षेत्र मिचेर व्यक्तिका नाममा मोही कायम गरेको विषय गम्भीर भएको वरिष्ठ अधिवक्ता विश्वप्रकाश सिग्देलले बताए । गुठीको जग्गा मोही कायम हुन नसक्ने र बेचबिखन पनि गर्न नमिल्ने सिग्देलको दाबी छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरिनुहुँदैन । २०३३ सालमा भएको मिलापत्र कार्यान्वयन हुन नहुने अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जिकिर गरे । ‘पहिला जुन अवस्थामा थियो सोही अवस्थामा सार्वजनिक जग्गा कायम हुनुपर्छ,’ अधिवक्ता पौडेलले भने, ‘यसरी सार्वजनिक जग्गा व्यक्तिले हडप्दै जाने र मान्यता दिँदै जाने हो भने अरूले पनि सार्वजनिक जग्गा मिच्न बल पुग्छ, त्यसैले सार्वजनिक जग्गाको जगेर्ना हामी सबैले गर्नुपर्छ ।’ यो गुठी संस्थान ऐनअन्तर्गतको जग्गा भएकाले मोहियानी हक कायम हुन नसक्ने अधिवक्ता पौडेलको जिकिर छ ।

महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सहन्यायाधिवक्ता उद्धव पुडासैनीले छायादेवी सेन्टर बनाएको जग्गा सार्वजनिक रहेको जिकिर गरे । ‘हाल छायादेवी सेन्टर रहेको जग्गा सार्वजनिक पोखरी मासेर बनाइएको हो,’ पुडासैनीले भने, गुठियारले आफ्नो क्षेत्राधिकार मिचेर मोही कायम गर्नु गलत छ ।’ छायादेवी सेन्टर बनेको ठाउँ सार्वजनिक सम्पत्ति भएकाले पुरानै अवस्थामा फर्काउनुपर्ने सहन्यायाधिवक्ता पुडासैनीको जिकिर छ । यस मुद्दामा बुधबार बहस नसकिएपछि हेर्दाहेर्दैमा आउँदो ११ कात्तिकका लागि पेसी तोकिएको छ ।

२०३३ सालमा सो जग्गाका विषयमा गुठियारले मिलापत्रका आधारमा केयुरशमशेरका नाममा मोही कायम गराउँदा गरुड भगवान्का नाममा सो जग्ग कायम हुने र मोहीका नाममा भोगचलन गर्ने भनेर कायम गरेको देखिन्छ । गुठियारको क्षेत्राधिकारभन्दा बाहिर गएर कमलपोखरीलाई मोही कायम गराई सो जग्गालाई पछि किनबेच गरेर व्यक्तिका नाममा प्रयोगमा ल्याइएको थियो । २०४४ सालसम्म आउँदा पनि सो जग्गा श्री ५ को सरकारका नाममा दर्ता भएको पाइन्छ । दर्ता गरिएको कमलपोखरीको कि.नं. १६७ को १२ रोपनी १३ आना २ पैसा २ दाम जग्गाको विवरणमा आवादीमा पर्ती पोखरी र घर जग्गाको महलमा पोखरी कायम गरिएको छ भने जग्गाधनीका नाममा श्री ५ को सरकार लेखिएको छ ।

बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवान्बहाल अगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेका नाममा व्यापारिक कम्प्लेक्स बनाएको सो जग्गामा व्यक्तिको मोही कायम हुँदै किनबेच भएको जग्गा हो । सो जग्गा व्यक्तिको हुने कि गुठीको नाममा रहेको सार्वजनिक पोखरी भन्ने विषय विवादमा छ । गुठीको नाममा रहेको ऐतिहासिक कमलपोखरी मासेर व्यक्तिका नाममा बनाइएपछि छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने माग गर्दै २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरी श्रेष्ठलगायत १५ थान मुद्दा दायर भएका थिए ।

थहवी विक्रम शील महाविहार राजगुठीको संरक्षणमा रहेको कमलपोखरी, डिल र चोकसमेत २६ रोपनी ८ आना क्षेत्रफलका नाइके हिरण्यश्वरमान प्रधानसमेतले २०३३ र २०६२ सालमा गुठी संस्थानको ऐनविपरीत मिलापत्र गरी व्यक्तिका नाममा दर्ता गर्न सहीछाप गरिदिएकाले हाल सो गुठीको कार्यसमितिका अध्यक्ष हिरण्यश्वरमानका छोरा सुरेन्द्रमान प्रधानसमेतले सार्वजनिक पोखरी र पोखरीको डिलसमेतलाई व्यक्तिका नाममा रहेको छाया कम्प्लेक्स प्रालि कम्पनीका नाममा हक हस्तान्तरण गर्न सहमतिपत्र दिएका हुँदा थुनामा राखी काराबही गरी कि.नं. साबिक १६७ को हाल कायम २४१२, २४१३, १६१७, २०१९, १०४० समेतका कित्ताहरू सार्वजनिक गरी सो जग्गामा बनाइएका संरचना भत्काउनुपर्ने माग स्थानीयले समेत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केपी ओलीको प्रधानमन्त्रीकालमा साढे ३ खर्बको व्यापार घाटा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी