पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ दोस्रो पटक ल्यान्ड भएको छ । बिहीबार दिउँसो चार्टर्ड उडानमार्फत सिचुवानको न्यारोबडी एयरबस–३१९ पोखरा विमानस्थलमा अवतरण भएको हो ।
शनिबार पोखरामा हुने तेस्रो संस्करणको क्रस कन्ट्री दौडमा भाग लिने चिनियाँ खेलाडी, प्रतिनिधि र पाहुनासहित १ सय २० जना बोकेर सिचुवानको जहाज आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जशोदा सुवेदीले बताइन् । उनका अनुसार जहाज चीनको कुनमिङ विमानस्थलबाट चार्टर्ड उडान भरेर आइपुगेको हो ।
सो जहाज करिब २ घण्टा पोखरा विमानस्थलमै रहेको थियो भने त्यसपछि ४ः१० बजे काठमाडौंको लागि उडान भरेको थियो । यात्रु लिएर आएको सो विमान काठमाडौं फर्किदा भने रित्तै फर्कियो ।
पोखरा आएका खेलाडी, खेल प्राविधिक तथा खेल पदाधिकारी फर्किंदा भने काठमाडौंहुँदै फर्किने छन् । पोखराबाट काठमाडौंसम्म यातायात व्यवस्था अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजक हिमालयन टुरिजम फोरम अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । पोखरा बसाइँका क्रममा आइतबार चिनियाँ पर्यटकहरुले पोखराको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्ष ६ असारमा सिचुवानकै न्यारोबडी एयरबस–३१९ ले पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो । त्यतिबेला फेवातालमा पहिलोपटक भएको ड्रागन बोट रेस फेस्टिबलमा सहभागी हुने खेलाडी र चिनियाँ पाहुनालाई चीनको छेन्दुबाट चार्टर्ड उडान भरेर आएको हो ।
२२ महिनाअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले धुमधामसाथ उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । हालसम्म योसहित मात्र ८ वटा चार्डर्ट उडान भएका छन् । गत वर्ष ७ वटा अन्तर्राष्ट्रिय उडान भएका थिए । सन् २०२४ को आखिरीमा यो वर्ष मात्र १ अन्तर्राष्ट्रिय उडान भएको हो ।
उद्घाटनका दिन हिमालयन एयरलाइन्सले डेमो उडान भरेको थियो । त्यसपछि ६ असारमा सिचुवान एयरलाइन्सको जहाजले चार्टर्ड उडान भरेर पोखरा आयो । २०८० भदौ ३ गते भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान गरेर विमान पोखरा आयो। पोखराबाट पर्यटकले लिएर फर्कियो ।
२२ कात्तिक, ०८० मा चिनियाँ जनमुक्ति सेनाको दुई कार्गो विमान पोखरामा ओर्लिए । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितका लागि रहात सामाग्री बोकेर ती दुई विमान पोखरा आएका थिए । सोही वर्ष ७ मंसिरमा चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्सले पोखरामा चार्टर्ड उडान भरेको थियो । सरकारले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाइरहेको बताए पनि नियमित उडान हुन नसक्दा पोखरेली निराश छन् ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले यहाँ अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने उदाहरण पटक–पटक पुष्टि भएको भन्दै नियमित उडानको माग गरे ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बिहीबारको चार्टर्ड फ्लाईटले आफूहरु उत्साहित भएको उल्लेख गर्दै यसरी नियमित उडान सके पोखरा र यस क्षेत्रको पयटन प्रवद्र्धनमा टेवा मिल्ने बताए ।
कति भयो आम्दानी ?
विमानस्थलको रेकर्ड अनुसार सन् २०२३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ लाख ८ हजार जना यात्रुले हवाई सेवा लिएका छन् । यस्तै, गएको आर्थिक वर्ष २०८०÷०८१ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ४० करोड रुपैयाँ आम्दानी गरेको छ । विमानस्थल प्रवक्ता जसुदा सुवेदीका अनुसार गएको वर्ष विमानस्थलले उक्त रकम कमाएको हो ।
उनका अनुसार विमानस्थलले एरोनोटिकल तथा नन–एरोनोटिकल रिभिन्यू (राजस्व) बाट आम्दानी लिन्छ भने विमानस्थल दस्तुर नियमावलीअनुसार ल्याण्डिङ, पार्किङबाट आम्दानी हुन्छ । अरुमा कोठा बहाल, घर बहालबाट पनि आउँछ । तर, सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई विशेष सहुलियत दिने निर्णय लिएकाले यदि अन्तर्राष्ट्रिय उडान भए पनि खासै आम्दानी नहुने सुवेदीको भनाइ छ ।
उनले भनिन्, ‘सरकारले ल्याण्डिङ, पार्किङमा छुट गरेकोले अन्तर्राष्ट्रिय उडान भए पनि तत्काल हामीलाई खासै फाइदा हुँदैन । प्यासेन्जर ट्याक्स (यात्रु कर) बाट मात्र आउने हो । अरु केही पनि आउँदैन ।’ अन्तर्राष्ट्रिय उडानमा विमानस्थलले प्रतियात्रुबाट ३ हजार रुपैयाँ आम्दानी गर्ने प्रवक्ता सुवेदीले बताइन् ।
जुन रकम जहाजको टिकटमै जोडिएको हुन्छ । आन्तरिकसँगै ३ वटा अन्तर्राष्ट्रिय फ्लाइट नियमित गर्न सके वर्षमा १ अर्ब रुपैयाँ हाराहारी कमाइ हुन सक्ने विमानस्थलले जनाएको छ ।