नेपालले पठाएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ प्रस्तावमा चीनले दिएन जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी अन्तिम चरणमा पुगेसँगै बेइजिङमा हुने सम्भावित सम्झौता’bout चिनियाँ अधिकारीसँग अन्तिम चरणको छलफल भइरहेको छ । ‘बीआरआई सहकार्य फ्रेमवर्क’ नाम दिइएको मस्यौदा चिनियाँ राजदूतावासमार्फत बेइजिङ पठाइएको भए पनि चिनियाँ पक्षले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै

नेपालले चिनियाँ परियोजना (बीआरआई) कार्यान्वयन सम्झौताका लागि आफ्नोतर्फबाट अन्तिम प्रस्तावको मस्यौदा चिनियाँ दूतावासमार्फत चीनलाई बुझाएको हो । सत्तारूढ दल कांग्रेस र एमालेका नेताहरूले तयार पारेको मस्यौदामा चीनले अघि बढाएको बीआरआई र नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बीआरआई समझदारीपत्रमा उल्लेख गरिएको भन्दा पनि कुनै विशेष क्षेत्रमा सहकार्य फ्रेमवर्क गर्नुपर्ने उल्लेख छ ।

मस्यौदामा भनिएको छ, ‘सन् २०१७ को समझदारीपत्रको धारा ३ (२) मा कुनै पनि विशेष क्षेत्रमा सहयोगका लागि दुई पक्षले पारस्परिक सहमतिका सर्तहरूमा आधारित सम्झौता वा अन्य सहयोगका दस्ताबेज सम्पन्न गर्ने प्रावधान उल्लेख भएको छ । तसर्थ सबै÷व्यापक क्षेत्र समेटेरभन्दा पनि कुनै विशेष क्षेत्रहरूमा सहकार्य फ्रेमवर्क गर्नुपर्ने अहिलेका लागि आर्थिक सहकार्य, पूर्वाधार कनेक्टिभिटी परियोजना, व्यापार आदि क्षेत्रमा सीमित भएर सहकार्य फ्रेमवर्कको मस्यौदा तयार गरिएको छ ।’

‘शनिबार चिनियाँ राजदूतावासमा बुझाइएको यससम्बन्धी डकुमेन्टमा नयाँ सम्झौताको नाम कांग्रेसले प्रस्ताव गरेअनुसार नै ‘बीआरआई सहकार्य फ्रेमवर्क’ राखिएको छ’ स्रोतले भन्यो, ‘६–७ पृष्ठको सो प्रस्तावमा बीआरआईअन्तर्गत समेटिन सक्ने सबै विषय समेटिएका छन् ।’

‘चीनलाई पठाइएको दस्तावेजमा सन् २०१७ मा भएको बीआईआरसम्बन्धी समझदारीको विषयको चर्चा गरिएको छ’ स्रोतले भन्यो, ‘त्यसमा विद्युत्, शिक्षा, पर्यटन स्वास्थ्य, पूर्वाधार निर्माणलगायत कैयौं विषयमा सहकार्य गर्न सकिने उल्लेख छ ।’

त्यसो त चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा १३–१५ मंसिरमा चीन भ्रमण गरेकी परराष्ट्रमन्त्री डा. राणा देउवाले अनुदानमा मात्र बीआरआई परियोजना अघि बढाउने विषयमा सत्तारूढ दलहरूबीच सहमति रहेको जानकारी गराएकी थिइन् । बीआरआईको विषयमा परराष्ट्रमन्त्री राणाले अनुदान बीआरआई परियोजना अघि बढाउने प्रस्ताव वाङसमक्ष राखिसकेकी छिन् । ‘हामीले सन् २०१७ मा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर ग¥यौं र अब हामीले चीनबाट जे पनि सहयोग र समर्थन प्राप्त गर्छौं त्यो बीआरआईको परिधिमा छ । त्योभन्दा अगाडि कुनै कुरा अघि बढेको छैन,’ परराष्ट्रमन्त्री राणाले भनिन् । ‘मुख्य रूपमा, हामी कनेक्टिभिटी र सीमापार पूर्वाधारसँग सम्बन्धित परियोजनाहरूमा केन्द्रित छौँ ं। बीआरआई ढाँचाअन्तर्गत भावी सहयोगको मोडालिटीमा दुवै पक्ष सहमत भए । यो सरकारमा आउनुअघि कांग्रेसले नेपालले बीआरआईअन्तर्गत थप ऋण नलाग्ने निष्कर्ष निकालेको थियो,’ उनले भनिन्, ‘त्यसैले त्यहाँ कुनै भ्रम हुनु हुँदैन ।’

प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई पक्षबीच चक्रपथ विस्तारको दोस्रो चरण र बीआरआई ढाँचाअन्तर्गत अरनिको राजमार्गको स्तरोन्नतिलगायत पुराना र नयाँ आयोजनाका विषयमा छलफल हुनेछ । ‘सत्ताधारी दलहरूबीच भएको समझदारीअनुसार भ्रमणका क्रममा केही नयाँ कनेक्टिभिटीे परियोजनाहरू प्रस्ताव गर्नेछौं,’ परराष्ट्रमन्त्री राणाले भनिन् ।

एमालेका महासचिव शंकर पोखरेलले बीआरआईको विषयमा आफ्नो फेसबुक पेजमा ‘बीआरआईमा कांग्रेस–एमाले सहमति भएसँगै हामीलाई चिनियाँ सहयोगमा बीआरआई कार्यान्वयन गर्न सहज हुने’ लेखेका छन् ।

बीआरआईको कार्यान्वयका सन्दर्भमा नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)ले साझा धारणा बनाउने काम गरेका छन् । विगतमा बीआरआईका सन्दर्भमा नेपालले एमओयू हस्ताक्षर गरे पनि सोअन्तर्गतका परियोजनाहरू अघि बढ्न सकेका थिएनन् । ‘अब बीआरआई अन्तर्गतको चिनियाँ सहयोग परिचालनका सन्दर्भमा साझा फ्रेमवर्क तयार भएसँगै परियोजना कार्यान्वयनमा सहजता हुनेछ,’ उनले लेखेका छन्, ‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा यस सहमतिले सार्थकता पाएसँगै नेपालको विकासमा चिनियाँ सहयोग परिचालनमा तीव्रता आउनेछ । बीआरआईका सन्दर्भमा प्रमुख दलहरूबीचको सहमतिले अन्तर्राष्ट्रिय मामिलामा साझा राष्ट्रिय दृष्टिकोण तयार गर्ने सुखद प्रक्रया आरम्भ भएको मान्न सकिन्छ ।‘

कांग्रेस र एमालेबीच भएको समझदारीअनुसार नेपालले काठमाडौं–रसुवागढी सडक स्तरोन्नतिजस्ता परियोजनामा लगानी गर्न चिनियाँ अनुदान माग गर्नेछ । टोखा–छहरे सुरुङ, कोरला सिमानाको नेपाली पक्षमा पूर्वाधार विकास, मदन भण्डारी प्राविधिक विश्वविद्यालयको निर्माण डडेल्धुरामा खेलकुद रंगशाला, प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापाको दमकमा रहेको नेपाल–चीनमैत्री पार्क, हिल्सा र सिमिकोटबीचको दोहोरो लेनको सडक निर्माण गल्छी (नुवाकोट) र रसुवागढीबीचको अन्तरदेशीय प्रसारण लाइन र एउटा जलविद्युत् आयोजना रहेको छ ।

प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज सोमबार बिहान बेइजिङ प्रस्थान गर्ने भएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीन जान लागेका उनी २० मंसिरमा स्वदेश फर्कनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी, उनले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् ।

प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै, उनले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहनेछिन् ।

यस्तै, प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा कांग्रेसले खोल्यो खाता