झट्काका बावजुद कांग्रेसलाई कीर्तिपुरमा सान्त्वना जित

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसलाई आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा झट्का लागेको छ । ४४ स्थानमा भएको उपनिर्वाचनमा वडाध्यक्ष पदमा खासै क्षति नपुगे पनि नेपाली कांग्रेसले यसअघि जितेका क्षेत्रहरू समेत जोगाउन सकेन ।

उपनिर्वाचन नतिजाको चिरफार

उपनिर्वाचन भएका ८ पालिका पदाधिकारीमध्ये ६ ठाउँमा यसअघि कांग्रेसले जितेकामा ६ स्थानको नतिजा आउँदा कीर्तिपुर नगरपालिका प्रमुखमा मात्रै जित हासिल गरेको छ । गणना भइरहेको सर्केगाडँ गाउँपालिका उपाध्यक्षमा विजयी हुने थोरै सम्भावना भए पनि गौरीशंकर गाउँपालिका उपाध्यक्ष पद गुम्ने लगभग निश्चितजस्तै छ । गौरीशंकरमा एमाले उम्मेदवार अगाडि हुँदा कांग्रेस तेस्रो स्थानमा छ ।

त्यसो त एक्लै प्रतिस्पर्धा गर्ने नीति अख्तियार गरेको कांग्रेसले २०७९ सालमा जितेको मोरङको ग्रामथान र दैलेख महाबु गाउँपालिका अध्यक्ष गुमाइसकेको छ ।

त्यस्तै, जाजरकोटको नलगाड नगरपालिका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापरको उपाध्यक्ष पद पनि कांग्रेसले गुमाएको छ । दुई जिल्ला समन्वय समिति (जिसस) अध्यक्षमा भने यसअघि नै नेपाली कांग्रेस निर्वाचित बनिसकेको छ ।

आइतबार नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदमा निर्वाचन भएको थियो । ४४ पदमध्ये यसअघि कांग्रेसले २७, माओवादी आठ, एमाले सात, जसपा एक र स्वतन्त्रले एक स्थानमा जित हात पारेको ठाउँमा उपनिर्वाचन भएको हो ।

मतगणनाअनुसार कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यहाँ कांग्रेस उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३ सय ३४ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी उम्मेदवार शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत पाएका छन् । तेस्रो स्थानमा पुगेका एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत पाएका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको दैलेखको महाबु गाउँपालिका अध्यक्ष र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद एमालेले जितेको छ ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य रहेका जंगबहादुर शाहीलाई पार्टीमा भिœयाउँदा एमालेले यसअघि कांग्रेसले जितेको दैलेखको महाबु गाउँपालिकामा जित निकालेको हो । गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार शाही ३ हजार १ सय २७ मत ल्याएर निर्वाचित भएका थिए । उनी गत २७ कात्तिकमा एमाले फर्किएका थिए । यहाँ नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६ सय ७५ मत पाए । २०७९ सालमा निर्वाचित गाउँपालिका अध्यक्ष कांग्रेसका लछुमन गुरुङको निधनपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।

कांग्रेसले यसअघि जितेको मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पनि गुमाएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका नमोनारायण माझी ६ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी बन्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले ६ हजार ३ सय ३३ मत ल्याए । एमालेका तुलसीराम विश्वासले ४ हजार १ सय ५९ मत प्राप्त गरे । यहाँ २०७९ सालमा अध्यक्षमा निर्वाचित कांग्रेसका जयप्रकाश गच्छदारको निधनपश्चात् उपनिर्वाचन भएको हो ।

यस्तै, यसअघि नेपाली कांग्रेस विजयी जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद माओवादीको पोल्टामा परेको छ । सो नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छन् । लामिछाने ४ हजार २ सय ७२ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसकी इन्द्राचन्द सिंहले ३ हजार १ सय ४७ मतमा चित्त बुझाउनुपरेको छ ।

यहाँ कांग्रेसबाट निर्वाचित उपप्रमुख सरिता सिंहको निधनपश्चात् रिक्त पदमा उपनिर्वाचन भएको हो । १७ कात्तिक २०८० को भूकम्पमा परी सिंहको निधन भएको थियो ।

यस्तै, कांग्रेसले यसअघि जितेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी निर्वाचित भएकी छन् । उनी १ हजार ७ सय ४० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसकी पुल्तीसरा शाहीले १ हजार ४ सय ७४ मत पाइन् । एकीकृत समाजवादीकी जवा शाहीले ५ सय ५३ मत ल्याइन् ।

यहाँ माओवादी केन्द्रबाट उम्मेदवार बनेकी राजुकुमारी विश्वकर्माले एमालेलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएकी थिइन् । तर, केन्द्रले भने एकीकृत समाजवादीलाई समर्थन गर्न निर्देशन दिएको थियो । २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी मैना जोशी निर्वाचित भएकी थिइन् । उनको निधनपश्चात् उपनिर्वाचन भएको हो ।

यस्तै, नेपाली कांग्रेसले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पनि गुमाउने देखिएको छ । यहाँ माओवादी एमाले अग्रस्थानमा रहँदा कांग्रेस उम्मेदवार तेस्र्रो स्थानमा छ । गौरीशंकर गाउँपालिकाका तत्कालीन उपाध्यक्ष श्यामसुन्दर तामाङको ३१ असार २०८० मा निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

२०७९ सालको निर्वाचनमा गौरीशंकरको अध्यक्षमा माओवादीबाट विश्वास कार्की निर्वाचित हुँदा कांग्रेसबाट उपाध्यक्षमा तामाङ विजयी भएका थिए । त्यसबेला यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको थियो ।

यस्तै, यसअघि कांग्रेसले जितेको उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको परिणाम आउन बाँकी छ । प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस तेस्रो स्थानमा छ ।

हुम्लाको सार्केगाड गाउँपालिकाको उपाध्यक्षको नतिजा आउन बाँकी छ । यो समाचार तयार पार्दा त्यहाँ माओवादी अग्रस्थानमा छ । कांग्रेस दोस्रो स्थानमा छ ।

कांग्रेसले यसअघि १९ वटा वडाध्यक्ष जितेकामा हालसम्म १६ वडा जितेको छ । कांग्रेसले यसअघि जितेका केही वडा गुमाए पनि एमालेले जितेका तीन र माओवादीले जितेका चार वडा खोसेको छ ।

कांग्रेसले यसअघि एमालेले जितेको सुनसरीको गढी गाउँपालिका–६, रौतहटको ईशनाथ नगरपालिका–७ र बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष जितेको छ ।

यसैगरी, माओवादीले यसअघि जितेका हेटौंडा उपमहानगरपालिका–१२, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, जाजरकोटको कुशे गाउँपालिका–७, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पद आफ्नो हातमा पारेको छ ।

यस्तै, यसअघि स्वतन्त्र उम्मेदवार विजयी कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । २०७९ सालको निर्वाचनमा यस वडामा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १ हजार ३ सय ८० मतसहित विजयी भएका थिए । श्यामकुमारसँग कांग्रेसका राजेन्द्र बानियाँ त्यसबेला पराजित भएका थिए । अहिले उनै बानियाँले जितको माला पहिरिएका हुन् ।

काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष पद पनि कांग्रेसले गुमाएको छ । यो कांग्रेसका लागि ठूलो क्षति हो । यस वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याई विजयी भएकी छन् । रास्वपाले उठाएका उम्मेदवारमध्ये उनी विजयी हुने उनी मात्रै हुन् । यस वडामा श्रेष्ठका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीरत्न महर्जनले २ हजार २ सय २० मत प्राप्त गरेका थिए । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २ सय १४ मत पाई तेस्रो स्थानमा चित्त बुझाउनुप¥यो । कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्ष मुकुन्द रिजालको निधन भएकाले यहाँ उपनिर्वाचन भएको हो ।

नेपाली कांग्रेसले यसअघि जित हासिल गरेको उदयपुरको त्रियुगा नगरपालिका–१२ मा हार ब्यहोर्नुपरेको छ । माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई त्यहाँबाट विजयी भएका छन् । २०७९ सालमा सो वडामा नेपाली कांग्रेसका चुडाराज काफ्ले ४ सय ३९ मतसहित विजयी हुँदा तेस्रो स्थानमा रहेका माओवादीका राईले ४ सय ४ मत मात्र प्राप्त गरेका थिए । यसपटक विजयी राईले ९ सय २३ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी एमालेका लक्ष्मीनारायण चौधरीले ६ सय ८ मत ल्याएका छन् ।

यसैगरी, नुवाकोटको ककनी गाउँपालिका–२ पनि कांग्रेसबाट गुमेको छ । त्यहाँ माओवादी उम्मेदवार विजयी भएका छन् । २०७९ सालमा सो वडामा पराजित माओवादी केन्द्रका कृष्ण घिमिरे अहिले १ हजार ८५ मतसहित विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य तामाङले ५ सय ८७ मत मात्र पाएका छन् । यस वडामा २०७९ सालको निर्वाचनमा कांग्रेसका तिलकबहादुर लामा ८ सय ८८ मतसहित विजयी भएका थिए । उनीबाट राजित माओवादी उम्मेदवार कृष्ण घिमिरेले ७ सय ३४ मत मात्र प्राप्त गरेका थिए ।

नेपाली कांग्रेसले धनुषाको धनुषाधाम नगपालिका–१ पनि गुमाएको छ । कांग्रेसको गढ मानिएको सो वडामा यसपटक माओवादी उम्मेदवार सुनील कापर केवट ६ सय ८४ मतसहित विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६ सय २ मत प्राप्त गरेका छन् । २०७९ सालको निर्वाचनमा यस वडामा कांग्रेसका विश्वनाथ यादव ६ सय १८ मतसहित विजयी भएका थिए ।

यसैगरी, सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नं १ र ४ पनि नेपाली कांग्रेसबाट फुत्किएको छ । दुवै वडाध्यक्षमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विजयी भएको छ ।

डाकनेश्वरी वडा नम्बर १ को वडाध्यक्षमा जसपा नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भएका छन् । उनले ६ सय ५२ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी भुलियादेवी थरुनीले ५ सय ८७ मत प्राप्त गरिन् ।

यस्तै, डाकनेश्वरी वडा नम्बर ४ मा जसपा नेपालका देवेन्द्रप्रसाद यादव विजयी भएका छन् । यादवले ३ सय ७२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगीन्द्र राय अमातले २ सय ७७ मत प्राप्त गरे ।

नेपाली कांग्रेसले तेह्रथुमको लालीगुराँस–८, रौतहटको राजपुर–६, काठमाडौंको कीर्तिपुर–१, गुल्मीको मुसिकोट–१, रोल्पाको रुन्टीगढी–४, बर्दियाको ठाकुरबाबा–४, डोटीको पूर्वी चौकी–६ को वडाध्यक्षमा जित हासिल गरेको छ ।

नतिजाबाट कांग्रेस ‘असन्तुष्ट’
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल उपनिर्वाचनको नतिजाबाट आफूहरू पूर्ण सन्तुष्ट नभएको बताए । उनले पहिला गठबन्धन हुँदा धेरै ठाउँमा जितेको भए पनि अहिले नहुँदा त्यसको असर परेको बताए ।

‘हामीले पहिला कतिपय जितेका ठाउँमा हारेका छौं, कतिपय हारेका ठाउँमा जितेका छौं, पहिला गठबन्धन पनि थियो, अहिले कांग्रेस एक्लै लड्दा पनि करिब ६० प्रतिशत हाम्रो पक्षमा जित आएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले भने, ‘यस निर्वाचनको नतिजाले चुनाव भएको ५० प्रतिशत कांग्रेसले जित्ने संकेत देखिएको छ, यसलाई सकारात्मक रूपमा लिएका छौं, हामीले ७० प्रतिशत जित आफ्नो पक्षमा पार्छौं भन्ने थियो, नतिजाबाट हामी पूर्ण रूपमा सन्तुष्ट भने छैनौं ।’

उनले एक्लाएक्लै लड्दा २०८४ सालको निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउनसक्ने आधार देखिएको भने दाबी गरे । उनले अब कांग्रेस आफ्नो संगठनलाई अझै चुस्त पारेर युवाहरूलाई पार्टीप्रति आकर्षण गराउने योजनाका साथ अघि बढ्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीमा एमालेको विरासत तोड्ने योजनामा कांग्रेस, एमाले भन्छ : हामी जित्छौँ