इटहरी । सुनसरीमा प्रहरीले हवाई फायर गरी ठूलो परिमाणको गाँजा नियन्त्रणमा लिएको छ । मंगलबार साँझ ७ बजेतिर धरान १३ अमरहाटबाट हवाई फायर गरी प्रहरीले करिब ७ सय केजी गाँजा बरामद गरेको हो ।
हवाई फायर गरी करिब ७ सय केजी बरामद
धनकुटाबाट सरकारी नम्बर (सेतो) प्लेटको स्कार्पिओमा गाँजा लोड गरी ल्याइँदै गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुको नेतृत्वमा खटिएको प्रहरी टोलीले ६ सय ९० केजी गाँजा बरामद गरेको हो ।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा१झ ५१२७ नम्बरको सरकारी नम्बर प्लेट भएको स्कार्पिओ र बा१झ ४६०५ नम्बरको सरकारी प्लेट भएको स्कार्पिओबाट सो मात्रामा गाँजा बरामद गरिएको र घटनामा एक जनालाई पक्राउ गरिएको डीएसपी जबेगुले जानकारी दिए ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा रहेका छन् । विश्वकर्मा बा१झ ४६०५ नम्बरको स्कार्पिओ चालक हुन् । बा१झ ५१२७ नम्बरको गाडी चालक तत्काल फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले सो गाडीलाई नियन्त्रणमा लिनका लागि इन्सास राइफलबाट चार राउन्ड फायर गरेको थियो ।
‘गाडीलाई रोक्नेक्रममा हामीलाई नै पेल्ने अवस्थामा आएपछि गोली चलाउन बाध्य भएका हौं,’ डीएसपी जबेगुले भने, ‘गोली चलाएपछि अलिक तलतिर गएर गाडी छाडेर फरार भएको अवस्था छ, हामीले खोजी गरिरहेका छौं ।’
सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार चार राउन्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएको हो । ‘जसमध्ये एक राउन्ड गोली सो गाडीको पछाडि रहेको सिसाभन्दा माथिलो भागमा लागेको र अर्को गाडीलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो,’ सुनसरी प्रहरी प्रमुख तिम्सिनाले भने, ‘तर, घटनास्थलबाट चालक भागेपछि हामीले चारैतिर निगरानी बढाएका छौं ।’
सो गाडीका चालकलाई नियन्त्रणमा लिन प्रहरीले सबैतिरका नाकामा निगरानी बढाएको छ । प्रहरीका अनुसार बा१झ ५१२७ नम्बरको गाडीमा प्लास्टिकमा भएको ३ सय ६५ केजी गाँजा र प्लास्टिकबाहेक जम्मा ३ सय ६० केजी गाँजा बरामद गरिएको छ ।
यसैगरी बा१झ ४६०५ नम्बरको गाडीमा भएको गाँजा प्लाष्टिकसहित ३ सय ३५ केजी र प्लास्टिकबाहेक जम्मा ३ सय ३० केजी गरी प्लास्टिकसहित जम्मा तौल ७ सय केजी गाँजा बरामद गरिएको एसपी तिम्सिनाले बताए । पक्राउ परेका विश्वकर्मालाई लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थपको तयारी भइरहेको प्रहरीको भनाइ छ । ‘बरामद भएका गाडी सरकारी गाडी हुन् कि होइनन् भन्ने’bout थप अनुसन्धान भएरहेको छ,’ एसपी तिम्सिनाले भने, ‘फेक सरकारी नम्बर प्लेट बनाएर प्रयोग गरिएको हो कि भन्ने’bout पनि अनुसन्धान भइरहेको छ ।’
गाँजा तस्करीमा प्रयोग भएका गाडीहरू एउटा अख्तियार दुरुपयोग अनुसन्धान र अर्को भने कानुन मन्त्रालयको गाडी नम्बर प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सरकारी गाडीलाई चेकजाँच नहुने भन्दै तस्करको समूहले निजी गाडीलाई नै सरकारी नम्बर प्लेट बनाएको हुनसक्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ । तस्करको समूहले कोशी प्रदेशका पहाडी जिल्ला धनकुटा, भोजपुरलगायतबाट ठूलो परिमाणको गाँजा भारतसम्म लैजाने गरेको छ । कहिले एम्बुलेन्स त कहिले इन्धन बोक्ने ट्यांकरमा गाँजा तस्करी गर्दै आएको समूहले यसपटक भने सरकारी नम्बर प्लेटकै गाडी प्रयोग गरी तस्करी गरेको खुलेको छ ।
सुनसरी प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा मात्रै ६ हजार १ सय ९७ केजी गाँजा बरामद गरिएको छ । लागूऔषध ओसारपसारमा संलग्न सवारीसाधनलाई लागूऔषध ऐनअन्तर्गत जफत गरिने प्रहरीले जनाएको छ । ‘हालसम्म लागूऔषध ऐनअन्तर्गत जफत गरिएका सवारीसाधन ४ करोड २५ लाख रुपैयाँका रहेका छन्,’ सुनसरी प्रहरी प्रमुख एसपी तिम्सिना भन्छन्, ‘पछिल्लो समय सुनसरी प्रहरीले लागूऔषधलाई नियन्त्रणमा लिन प्रहरीले विशेष निगरानी बढाएको छ ।’ उनका अनुसार सुनसरी प्रहरीले फैसला कार्यान्वयन, लागूऔषध अप्रेसन, भन्सार चोरी निकासी नियन्त्रण र नवप्रवद्र्धनात्मक कार्यमा जोड दिएको छ ।
जसअनुसार मंसिर महिनामा मात्रै ७४ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिइएको छ । चालू आवमा १ सय २० जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूलाई कुल ४६ वर्ष ६ महिना १० दिन कैद भुक्तानी गरिएको छ भने १८ लाख ९६ हजार ८ सय ८७ राजस्व संकलन भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
प्रहरीको तथ्यांकअनुसार चालू आवमा मात्रै गाँजा ६ हजार १ सय १७ केजी, ब्राउनसुगर, ६ सय ८१ ग्राम, एम्पुल ५० ट्याब्लेट, १ लाख ६७ हजार ६८ क्याप्सुल र १८ बोतल बरामद गरेको छ । १ सय ७८ वटा मुद्दा दर्ता हुँदा २ सय ६२ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूमाथि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।