इलाम । इलामको ठूलो टुँडिखेलमा शनिबारदेखि २९ गतेसम्म दोस्रो संस्करणका इलाम गोल्डकपको सञ्चालन हुँदैछ । गोल्डकपमा एनआरटी, संकटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक रेड हर्स सहभागी हुनेछन् । पहिलो खेल आयोजक रेडहर्ष र संकटा क्लबबिच हुने छ ।
नेपालका चर्चित खेलाडी टुँडीखेलमा
विजेताले उपाधिसहित नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रत्येक दिनका उत्कृष्ट खेलाडीलाई आठ हजार एक सय रुपैयाँ नगद पुरस्कार दिइने छ ।
प्रतियोगितामा खेल्न विभिन्न टिमबाट चर्चित खेलाडीसमेत आउँदैछन् । मछिन्द्रबाट देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, मनिष डाँगी, सनिष श्रेष्ठ, सुदेश राई, छिरिङ गुरुङ, विशाल घलान, सौरभ लिम्बू, दिवाकर चौधरी, पेमा तामाङ, प्रदीप भण्डारी, ओला ओले (विदेशी)लगायत खेलाडी आउने छन् ।
चर्च ब्वाइजबाट अनन्त तामाङ, कमल श्रेष्ठ, छिरिङ लामा, इरिक विष्ट, मोहन कार्की, सनिल तामाङ र नेपालका स्ट्राइकर अञ्जन विष्टसहितको टोली आउनेछ । आर्मीबाट भरत खवास, विकेश कुथु, नवयुग श्रेष्ठ र आयुष तिम्सिना पनि आउने आयोजक समिति सदस्य निरोज खड्गीले बताए । खेलाडीको सुरक्षाका लागि प्रत्येक खेलाडीको पाँच लाख रुपैयाँको बिमा नेको एन्स्योरेन्सले गरेको छ ।
ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइने छ भने प्रत्येक खेलका लागि जनही सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ । सेमी फाइनलमा जनही दुई सय र फाइनलमा तीन सय रुपैयाँ टिकटदर कायम गरिएको छ । आयोजक समिति सचिव प्रकाश घिमिरेले प्रत्येक दिन साढे तीन हजारदेखि पाँच हजारसम्म दर्शक आउने र फाइनलमा १२ हजार आउने अनुमान गरिएको बताए ।
इलाममा फुटबल
वि.सं. १९३९ तिर श्रीनाथ पल्टन इलाम आएपछि हलगोरु नारेर मैदान सम्याएपछि फुटल खेल्ने खेल्न थालिएको इतिहाँस छ । इतिहास हेर्दा विक्रम संवत् १९९० देखि सुरु भएको देखिन्छ । इलाममा पहिलो पुस्ताका गोविन्दप्रसाद सिंह, नरेन्द्र खाकी, मदनबहादुर कार्की , दुर्गाप्रसाद शिवाकोटी, बमबहादुर देवान, अमरबहादुर श्रेष्ठ, फत्तेबहादुर बुढाथोकी, लोकबहादुर खत्री, पदमबहादुर देवान, देवी भक्तराजलवट, शेरबहादुर पराजुली खेलाडी रहेको इतिहास छ । त्यसपछि फुटबल गाउँगाउँसम्म विस्तार हुन थाल्यो ।
त्यसपछि इलाममा प्रतियोगिता हुन थाले सँगै तत्कालीन बडाहाकिम महावीर शमशेरका नाममा स्थापित महावीर शिल्ड, गजराज बुढाथोकीका नामको गजराज कप, ज्ञानी भक्तराजका नाममा सुरु गरिएको ज्ञानी मेमोरियल शिल्ड र कमल गजमेरका नाममा राखिएको कमल शिल्ड हुँदै भूकम्पपीडित कप फुटबल प्रतियोगिता सम्मको इतिहासमा देखिन्छ ।
२०४० देखि ०४५ सालमा इलामको फुटबलमा गणेश पाण्डे, धीरेन्द्र प्रधान, मंगेश बस्नेत ध्रुव भक्तराज, धिरेन चेम्जोङ दर्शन भक्तराजको टिमले फुटबलको उचाई चुलाउँदै गयो । त्यसबेला पुरुषतर्फ मात्र हैन रमा सिंहको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा जनु खड्का, संगीता रावत, शोभा राई, इन्द्र राई र जमुना पाण्डे समावेश भएपछि इलामको फुटबल गति दगुर्न थाल्यो ।
१९९० बाट सुरु भएको फुटबलमा पछिल्लो समय इलामको माटोबाट मनिस बस्नेत, विवेक बस्नेत, छिरिङ गुरुङ, सविन रेग्मी, दर्शन गुरुङ, नवयुग श्रेष्ठ उदाउन सफल भए पछि इलामको पुटबल झनै चम्किीन पुग्यो । जसले गर्दा अहिले पनि इलाममा निकै रुचाईएको खेल भित्र पर्छ फुटबल ।
पछिल्लो समय माईभ्यालि गोल्ढडकपका नाममा परिचित इलाम माइभ्याली गोल्गकप स्थगीत भएपछि इलाम गोल्डकपले फुटबलमा फड्को मार्ने कोषिष गरिरहेको छ । गत वर्ष पहिलो संस्करण सम्पन्न भए पश्चात जोस बटुल्न सफल इलाम गोल्डकपले दोस्रो संस्करणलाई पहिलो संस्करण भन्दा दोब्बरले अघिबढाउँदै खेलको आयोजना गरेको छ ।
८५ लाख रुपैयाँ आय–व्यय अनुमान गरिएको प्रतियोगिताका लागि ३० लाख रुपैयाँको व्यक्तिगत सहयोग उठाउने, इलाम नगरपालिकाबाट करिब २० लाख रुपैयाँको सहयोग हुने, प्रवेश शुल्क र संस्थागत सहयोग संकलन गर्ने लक्ष्य रहेको आयोजक क्लबका सचिव प्रकाश घिमिरले बताए । उनले मैदानमा बाँसको प्यारापिट निर्माण गर्न करिब २५ लाख रुपैयाँ खर्च भएको जनाए । खेलको दोस्रो पुरस्कार राशि (नगद पाँच लाख) इलाम घर भइ काठमाडौं बस्ने तारा–रोजु सापकोटाले सहयोग गर्ने भएका छन् ।
प्रतियोगिताको उत्कृष्ट रिपोर्टिङ गर्ने पत्रकारलाई नगद ११ हजारसहितको पत्रकारिता पुरस्कारसमेत प्रदान गरिने आयोजकले घोषणा गरेको छ । गत माघमा भएको पहिलो संस्करणमा एनआरटीले टाइब्रेकरमा बिर्तामोड युनाइटेडलाई ४–३ गोलान्तरले पाखा लगाउँदै उपाधि जितेको थियो । पोहोर विजेताका लागि नगद पाँच लाख र उपविजेतालाई तीन लाख रुपैयाँ पुरस्कार राखिएको थियो । यो साल विजेता र उपविजेताको पुरस्कार पनि बढाइएको हो ।