लमजुङ । लमजुङमा एक जनाको भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भेडा चराउन गएका गएका थिए ।
लमजुङको क्व्होलासोँथर गाउँपालिका– ९ विम्दाबेसीका ४५ वर्षीय श्याम गुरुङको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । क्व्होलासोंथर गाउँपालिका– २ मालिङको तोल्जुङ भीरमा भेडा चराउन गएको बेला भीरबाट खस्दा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता ओमप्रकाश पुनले बताए ।
उनका अनुसार भेडा चराउने क्रममा भीरबाट करिब १ सय मिटर तल खस्दा गुरुङको मृत्यु भएको हो । पुनले भने, ‘मालिङको तोल्जुङ जाने बाटोको भीरमा भेडा धपाउन गएका गुरुङ एक्कासी भीरबाट खसेर घाइते भएका थिए । उनको उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको गुरुङलाई अस्पतालमा डाक्टरले मृत घोषणा गरेको हो ।’ गुरुङको शव लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम गरी सम्बद्ध परिवारलाई बुझाइएको पुनले बताए ।






