काठमाडौं । साउदी अरबले श्रम कानुन उल्लंघन गर्नेमाथि कारबाही तीव्र परेको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार श्रम कानुन उल्लंघन गर्ने ३ हजार २ सय ५ जनालाई पक्राउ गरिएको छ । साउदीले गैरकानुनी कामदारमाथि धडपकड अभियान जारी राख्दै एक सातामा २० हजार १ सय ५९ जना गैरकानुनी रूपमा बसेकालाई पक्राउ गरेको छ ।
त्यहाँको सुरक्षा निकायले सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा सञ्चालन गरेको संयुक्त क्षेत्रीय सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ । पक्राउ पर्नेमा रेसिडेन्सी ऐन उल्लंघन गर्ने ११ हजार ३ सय २ र सीमा सुरक्षा ऐन उल्लंघन गर्ने ५ हजार ६ सय ५२ जना रहेका छन् ।
कानुन उल्लंघन गर्नेलाई ओसारपसार, आश्रय दिने र रोजगारी दिने १७ जना पनि पक्राउ परेका छन् । २६ हजार ४ सय ११ पुरुष र २ हजार ६ सय १९ महिला गरी २९ हजार ५ सय ४० जना आप्रवासीविरुद्ध दण्डात्मक कारबाही गरिएको साउदीको गृह मन्त्रालयले जनाएको छ । २० हजार ३ सय ३७ उल्लंघनकारीलाई यात्रा कागजातहरू प्राप्त गर्न तिनीहरूको कूटनीतिक नियोगहरूमा पठाइएको जनाएको छ भने ९ हजार ४ सय ६१ उल्लंघनकारीहरूलाई देश निकाला गरिएको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले कुनै पनि व्यक्तिलाई राज्यमा अवैध प्रवेश गराउने, आफ्नो भूमिमा ढुवानी गर्ने, आश्रय दिने वा अन्य कुनै सहयोग वा सेवा प्रदान गर्ने व्यक्तिलाई १५ वर्षसम्म कैद र जरिमाना हुनसक्ने चेतावनी दिएको छ । यसैगरी, साउदीमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका १ सय ५० नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् ।
रियादस्थित दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।
गैरकानुनी रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।






