मधेशमा एमालेप्रति ग्राफ उच्च

वीरगन्ज । मधेश प्रदेशमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गर्ने लहर झन बढेको देखिन्छ । आईतबार पनि विभिन्न पार्टी परित्याग गरी पर्सामा हजारौं व्यक्ति एमालेमा प्रवेश गरेका छन् ।

सखुवाप्रसौनीका पूर्व अध्यक्ष सहित हजारौं प्रवेश

एमाले पर्साले आयोजना गरेको वृहत पार्टी प्रवेश तथा जनसभामा आईतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नै सहभागी भए । नीजि हेलिकप्टर चढेर सीधा कार्यक्रमस्थल पर्साको सखुवाप्रसौगीमा आइपुगेका उनले सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल सहित हजारौंलाई औपचारिक रुपमा एमालेमा प्रवेश गराए । एमाले नेताहरुले शनिबार भनेझैं पर्साको सखुवाप्रसौनी गाउँपालिकामा करिब ५ हजारकै हाराहारीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको लहर देखियो ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले जनताको समृद्धि र मुलुकको विकास एमाले वाहेकले गर्न नसक्ने निष्कर्ष सहित अन्यत्र अल्मलिएका व्यक्ति एमाले प्रवेश गर्नुलाई सहि ठाउँमा आइपुगेको तर्क गरे । संविधानको धारा फेर्ने भ्रामक हल्ला चलाई मधेशमा एमाले विरुद्ध जनता उक्साउनेले त्यो धारा फेर्दा के आउँछ ? भन्दा थाहा छैन भन्ने सम्मको कुरा गरे । अनि संविधानको धारा फेर्ने नाउँमा मधेशी जनतालाई दिग्भ्रमित पारेर आखिर झुट र भ्रमको खेती गर्नेको वास्तविकता जनताले पत्ता लगाएर एमाले पार्टी रोज्नु सहि भएको उनले बताए ।

कही–कही ठेकदारले बदमासी गरेको र कही–कही छिमेकीले अल्झाएको वाहेक मधेशको समृद्धिको आधार हुलाकी राजमार्ग एमाले नेतृत्वको सरकारकै समयमा निर्माण करिब सकिएको उनको भनाइ छ । कृषिको सम्भावना बोकेको मधेशको भूमि सिंचाई गर्न सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम पनि अगाडी बढिरहेको छ । यो काम एमाले नेतृत्वकै सरकार नभएपछि रोकिएको थियो । कयौं कामहरु एमालेले सरकार छोडेपछि रोकिएका थिए । ती सबै कामहरु पुनः अहिले मुलुकका दुई ठूला पार्टीको सहमतीय सरकार बनेपछि गति लिएको प्रधानमन्त्री ओलीले जिकिर गरे । एमाले कांग्रेसको सरकार निर्माण पनि गठबन्धनको नभई सहमतीय सरकार नै बनेको उनको तर्क थियो ।

रोजगारीको अपार सम्भावना रहेको नेपालमा यहि युवाहरुलाई रोजगारी सृजना गर्ने सरकारको लक्ष्य छ । यसको लागि रुग्ण तथा पुराना उद्योगहरु पनि परिवर्तित अवस्थामा चल्न सक्ने अवस्थाका छन् भने संचालन गर्नु पर्छ । वीरगन्ज चीनि कारखाना समेत कृषकको हितमा प्रयोग हुन सक्छ भने संचालन गरी रोजगारी सृजना गर्न सरकार पछि नपर्ने उनले दावी गरे ।

तर सधैं सरकारले मात्र पैसा हाल्न भने नसक्ने हुँदा मुनाफामा चल्न सक्ने नसक्ने निष्कर्ष सहित उद्योगहरु चलाएर स्वदेशमा नै रोजगारी सृजना गर्न ढिलो गर्न नहुने उनको भनाइ छ । विदेशी शब्द ‘पाली–पाली’ अर्थात छिटो–छिटो भन्ने कुरालाई नेपालमा पनि उतार्दै गरीबीलाई लखेटी–लखेटी नेपाल र नेपालीको समृद्धिमा सबै एक हुन पर्ने उनको जोड छ । युवा र महिलाहरुलाई रोजगारीसँगै व्यवसायमा चाही लाग्न उनले सुझाव पनि दिए ।

प्रवेश साथ पद पाउने महत्वाकाँक्षा नराख्न सुझाव
अर्को प्रसंगमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पार्टीमा नव प्रवेशीहरुले हतार–हतारमा केहीे पाउँछु भनी बढि महत्वकाँक्षा पनि नराख्न सुझाव दिए । तर नयाँ र पुराना भनी पार्टी भित्र सीमारेखा पनि कसैले राख्न नहुने उनको तर्क छ ।

सय वर्ष अगाडी पार्टी प्रवेश गरेको अहिले को छ ? भनी प्रतिप्रश्न गर्दै त्यसो नभए केही छिटो ढिलो मात्र पार्टीमा आउने क्रम रहेकोले पार्टीले योग्यता र क्षमताका आधारमा निर्णय गरी उचित ठाउँ सबैलाई दिने उनको भनाइ छ । आफू धैर्य, नैतिकवान बन्ने मात्र नभई नयाँ पीढीलाई समेत सभ्य, नैतिकवान बनाउँदै मुलुकको हितमा सबै जुट पर्ने उनले सुझाव दिए ।

मिसन २०८४ मा एमालेलाई बहुमतको सरकार निर्माण गर्ने गरी मत दिएर पाँच सात बर्षमा नै मुलुकको समृद्धिका लागि सबै अग्रसर हुन पर्ने पनि उनको सुझाव छ । नयाँ पार्टी तथा फरक जनलहर बोकेका व्यक्ति तथा पार्टी तर्फ संकेत गर्दै अध्यक्ष ओलीले हावामा आफै अण्डा पार्ने, चल्ला कोरल्ने र उडाई पनि दिने जस्तो हावादारी कुरा गर्नेका पछाडी कोही पर्न नहुने अध्यक्ष ओलीको तर्क छ ।

एमालेको जत्तिको प्रष्ट भिजन र काम अरुको रहेन छ : नवप्रवेशी जयसवाल
एमाले प्रवेशीहरु मध्ये सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवालले मधेश प्रदेशको समृद्धि र विकासमा एमालेले राखेको प्रष्ट भिजन र कार्य सम्पादन दरिलो आधार भएको निष्कर्ष सहित आफू लगायतका मानिस यो पार्टीमा प्रवेश गरेको बताए ।

एमाले मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, केन्द्रिय सदस्य तथा पर्सा ईन्चार्ज प्रभु हजारा र अर्का केन्द्रिय सदस्य तथा संघीय मामिला तथा प्रशासन मन्त्री राजकुमार गुप्ता लगायतका बक्ताहरुले पनि हुलाकी राजमार्ग निर्माण, रेल सेवा संचालन र पाइपबाटै पेट्रोलियम पदार्थ नेपाल भित्र्याउने जस्ता विगतका काम र सुनकोशी मरिन डाइभर्सन आयोजना जस्तो मधेशको सिचाईंको दीर्घकालिन ठोस योजना एमाले वाहेक अरुसँग सम्भव नभएको उनीहरुको दावी थियो ।

एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्माको अध्यक्षता तथा सचिव महेश दासले सहजीकरण गरेको वृहत पार्टी प्रवेश तथा जनसभामा हजारौंको सहभागीता रहेको थियो । पछिल्ला केही वर्षदेखि विभिन्न व्यक्तिको प्रवेशको लहर र ठूला सभा तथा कार्यक्रमले अन्य पार्टीलाई भने चकित पार्न थालेको छ । एमाले नेताहरुले दावी गरेझैं मधेशमा एमाले प्रवेश गर्नेहरुको लहरले केही हदसम्म पुष्टि चाही गर्न थालेको देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 354 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपीले दिए स्वतन्त्र उम्मेद्वारी