काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेर अलपत्र परेका १६ नेपाली युवा स्वदेश फर्किएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबका अनुसार उनीहरूलाई कम्पनीले तलब नदिएको, काम पनि नदिएको र सबैको अकामाको म्याद सकिए पनि विगत ४ महिनादेखि खानसमेत नदिई अलपत्र अवस्थामा छाडेका थिए ।
उनीहरूलाई खानाको समेत समस्या भएपछि एनआरएनए साउदीको समन्वयमा एनआरएनए आरसीसी रियादले खाद्यान्न उपलब्ध गराएको थियो भने एक्जिट भिसा प्रक्रियाका लागि रियादस्थित नेपाली दूतावाससँग समन्वय गरेको थियो । उनीहरूले सन् २०१५ देखि कम्पनीमा कार्यरत रहेको र २०२४ सेप्टेम्बरमा कम्पनी बन्द भएको तथा विगत दुई महिनादेखि तलब पनि नदिएको बताएका छन् ।
‘कम्पनी एक्कासि बन्द भएपछि खानामा समस्या भयो,’ घर फर्कंदै गर्दा एक नेपालीले भने, ‘त्यसपछि हामी साउदीमा क्रियाशील संघसस्था कहाँ गयौं, त्यहाँबाट खानाको व्यवस्था भयो र दूतावासले पनि कुनै समस्या भयो भने हामी सहयोग गर्छौं भन्यो ।’ चार महिनादेखि बिनातलब बस्नुपर्दा कस्तो समस्या भयो ? त्यो त आफूहरूलाई मात्र थाहा थियो तर पनि आफूहरूले हिम्मत नहारेको उनले सुनाए ।
‘सहयोग गर्ने सबै संघसंस्थाप्रति आभार व्यक्त गर्दछौं,’ उनले भने । उनीहरूलाई एनआरएनए र दूतावासको सहयोगमा एक्जिट भिसा प्राप्त गरी नेपाल फर्काउन सफल भएको एनआरएनए आरसीसी रियादका सचिव जितेन्द्र थपलियाले बताए । सचिव थपलियाले अब फेरि विदेश आउँदा बुझेर मात्र आउन तथा सप्लाई कम्पनीमा नआउनसमेत अनुरोध गरेका थिए ।
पछिल्लो समय साउदीमा कम्पनीले समयमा तलब नदिने तथा अकामा पनि नवीकरण नगरिदिँदा कमाएको धेरथोर पैसा पनि पठाउन समस्या हुने गरेको छ । अकामा नहुँदा बिदाको समयमा बाहिर हिँडडुल गर्न समस्या भएको उनीहरूले बताए । साउदी अरबका कम्पनीहरूले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिने तथा नवीकरण नगरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनी रूपमा काम गर्न बाध्य छन् ।
अहिले कम्पनीहरूले अकामा नबनाइदिने प्रवृत्ति बढ्दै गएको एनआरएनए साउदीले जनाएको छ । यसले गर्दा विदेशमा श्रम गर्न आएका नेपाली दाजुभाइलाई बाहिर हिँडडुल गर्न समस्या हुने गरेको छ । आफूले कमाएको धेरथोर पैसा घरपरिवारलाई पठाउन वञ्चित हुनुपर्ने, प्रहरीले पक्राउ गरी जरिमाना गराउनेलगायत धेरै समस्याबाट नेपाली कामदार पीडित हुने गरेका छन् ।
साथै, यस्ता घटनालाई कम गर्न दूतावासले साउदी अरबमा कार्यरत नेपालीलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो खोजी आफ्नो अधिकार लिन समय–समयमा अनुरोध गर्दै आएको छ ।
कम्पनी राम्रो नभएर अर्को कम्पनीमा जाँदा पुरानो कम्पनीले विभिन्न सामान चोरी गरेर भाग्यो भनेर अनावश्यक जरिमाना लगाउने तथा फर्जी कागजात बनाएर कामदारलाई कम्पनीले मुद्दा लगाउने गरेका कारण हजारौं नेपाली स्वदेश फर्किन सकेका छैनन् । साउदीमा विभिन्न पेसामा ५ लाखभन्दा बढी नेपाली कार्यरत रहेका पाइन्छ ।