काठमाडौं । चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको दिंग्री काउन्टीमा गएको ६ दशमलव ८ म्याग्निच्युडको ज्यान गुमाउनेको संख्या यो समाचार तयार पार्दासम्म १२६ पुगेको भने १ सय ८८ जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।
नेपाल, भारत र भुटानसम्म भूकम्पको धक्का महसुस
नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने ७ म्याग्निच्युडको धक्का मापन गरेको छ । केन्द्रका अनुसार, तिब्बतको दिंग्री आसपास केन्द्रबिन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प गएपछि तिब्बतको सिगात्से सहरमा हजारवटा भन्दा बढी भवन भत्किएका र १ सय ८८ जना घाइते भएको चिनियाँ अधिकारीहरूले पुष्टि गरेका छन् । सो क्षेत्रमा विद्युत् र पानी वितरण प्रणाली अवरुद्ध भएको छ । चिनियाँ सेनाले उद्धार कार्यमा सैनिकहरू संलग्न भएका र मानवरहित ड्रोनलाई सगरमाथानजिकैको दुर्गम क्षेत्रमा परिचालित गरिएको जनाएको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्दबिन्दु भएको २० किलोमिटर क्षेत्रभित्र रहेका २७ वटा गाउँमा करिब ६९ हजार मानिस बस्ने गरेका छन् । भूकम्पको केन्द्रबिन्दुबाट ८६ किलोमिटर टाढा ल्हासा काउन्टीको सडकमा भूकम्पका कारण सडक क्षतिग्रस्त भएका छन् भने घरहरू भत्किएर माटो र ग्रेगान थुप्रिएका भिडियो फुटेजहरू सार्वजनिक भएका छन् ।
केन्द्रबिन्दुको सबैभन्दा नजिकको प्रमुख सहर सिगात्से हो । जुन लगभग १ सय ८० किलोमिटर (१ सय ११ माइल) टाढा रहेको छ । यस सहरमा लगभग ८ लाख मानिसका घर छन् र तिब्बती बौद्ध धर्मका दोस्रो आध्यात्मिक नेता दलाई लामापछि दोस्रो स्थानमा रहेका पञ्चेन लामाको गाउँ पनि हो ।
शक्तिशाली भूकम्पपछि चिनियाँ राष्ट्रपति सी चिन फिङले क्षति कम गर्नका लागि प्रभावित क्षेत्रमा जुट्नका लागि सेनालाई निर्देशन दिएका छन् । साथै, उनले उद्धारको काममा जुट्न र प्रभावित मानिसहरूको पुनर्वासका लागि काम गर्न निर्देशनसमेत दिएका छन् । चिनियाँ सरकारी टेलिभिजन सीसीटिभीका अनुसार ६ दशमलव ८ रेक्टरको भूकम्प आएपछि धेरैपटक पराकम्प आएको जनाइएको छ ।
भूगर्भीय त्रुटि रेखामा अवस्थित यस क्षेत्रमा भूकम्प जाने गरेको छ । सो क्षेत्रमा यसअघि पनि बारम्बार भूकम्प जाने गरेको थियो । सन् २००८ मा सिचुआन प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परी ७० हजार जनाको ज्यान गएको थियो । सो क्षेत्रमा पछिल्ला ५ वर्षको अवधिमा तीन वा सोभन्दा माथिका २९ वटा भूकम्प गइसकेको छ ।
दिंग्री संस्कृति तथा पर्यटन ब्युरोका अनुसार कोमोलाङ्मा क्षेत्रमा होटेल तथा भवन र ’roundका क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् । दिंग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेसनको विद्युत् कटौती भएको छ । मौसम पूर्वानुमान महाशाखाले दिंग्रीको तापक्रम शून्यभन्दा तलदेखि माइनस १८ डिग्री सेल्सियससम्म रहेको जनाएको छ । सगरमाथा क्षेत्रमा नेपालतर्फबाट भने अहिले कुनै गतिविधि हुँदैनन् ।
चीन भूकम्पको धक्का काठमाडौंसम्म
चीनमा गएको शक्तिशाली भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसुस भएको थियो । भूकम्पको केन्द्रबिन्दु सगरमाथा क्षेत्रबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । भूकम्पको धक्का काठमाडौंसहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । विशेषगरी, पूर्वीनेपालमा भूकम्पको महसुस बढी भएको बताइएको छ ।
नेपालमा भूकम्पका कारण ओखलढुंगा, सोलुखुम्बु र संखुवासभामा केही घरमा क्षति पुगेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । साथै, भारतका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चीनमा गएको भूकम्पको धक्का महसुस पश्चिम बंगाल, आसाम, बिहार र दिल्लीसहित उत्तर भारतका विभिन्न स्थानमा भएको छ । सो भूकम्पको धक्का भुटानमा पनि महसुस भएको छ ।
भूकम्पको उच्च जोखिममा हिमाली क्षेत्र
पश्चिम अफगानिस्तानदेखि पूर्वी म्यानमारसम्म फैलिएको हिन्दकुश तथा हिमालय क्षेत्र भूकम्पीय जोखिमको दृष्टिले निकै संवेदनशील रहेको विज्ञहरूको भनाइ छ । नेपालमा ८ सय किलोमिटरभन्दा लामो हिमाली क्षेत्र भएकाले यस क्षेत्रको भूकम्पीय जोखिमको एक तिहाइ प्रभाव यही क्षेत्रमा पर्ने अवस्था रहेको राष्ट्रिय भूकम्प मापन अनुसन्धान केन्द्रका अधिकारीको भनाइ छ ।
विज्ञका अनुसार पृथ्वीको सतहमुनि रहेका दुईवटा प्लेटले एक आपसलाई धकेलिरहेको अवस्था हिमालय क्षेत्रमा मात्र छ । हिमालय तथा हिन्दकुश क्षेत्रमा पृथ्वीको सतहमुनि दक्षिणतर्फ रहेको भारतीय प्लेट उत्तरतर्फ रहेको युरेसियन प्लेटतर्फ सरिरहेको विज्ञहरूको भनाइ छ । राष्ट्रिय भूकम्प मापन अनुसन्धान केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजयी अधिकारीका अनुसार हिमालय क्षेत्रमा पृथ्वीको सतहमुनि रहेका दुई प्लेटले एक आपसमा धकेलिइरहेको अवस्था छ ।
हिमाली क्षेत्रको मुनि दुईवटा प्लेट एक आपसमा टकराइरहेका छन् । पृथ्वीको सतहमुनि दक्षिणतर्फ रहेको भारतीय प्लेट प्रतिवर्ष करिब ४ सेन्टिमिटरका दरले उत्तरतर्फ रहेको युरेसियन प्लेटतर्फ सरिरहेको छ । प्लेट सर्ने क्रममा आपसमा ठोक्किँदा भूकम्पको धक्का महसुस हुने गरेको छ ।