काठमाडौं । माघे संक्रान्तिको अवसर पारेर नयाँ चलचित्र ‘फेरि रेशम फिलिलि’को पहिलो गीत ‘ग्रीन कार्डैमा…’को भिडियो मंगलबार सार्वजनिक गरिएको छ । यो चलचित्र महाशिवरात्रीको अवसर पारेर आगामी १४ फागुनबाट रिलिज हुने यसका निर्माता रौनक बिक्रम कँडेलले जानकारी गराएका छन् ।
फेरि रेशम फिलिलीको ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीत ग्रीन कार्डैमा…लाई डेविड शंकरको स्वरमा रेकर्ड गरिएको छ । गीतलाई दीपक शर्माले संगीत गरेका हुन् । शब्द पनि दीपककै हो । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ र अन्य कलाकारको अभिनय रहेको छ । गाउँमा साधारण युवा (विनय)लाई डिभी परेर उसले अमेरिकाको ग्रीनकार्ड पाएपछि विवाहको लागि केटी दिनेहरूको ओइरो लागेको रमाइलो प्रसँग यो गीत र भिडियोमा समेटिएको छ ।
यसअघि २०७२ सालमा रिलिज भएको सिनेमा ‘रेशम फिलिली’को सिक्वेलको रूपमा यो चलचित्र निर्माण गरिएको छ । रेशम फिलिलीको गीत ‘पारी त्यो डाँडा’ दर्शकमाझ चर्चित बनेको थियो । फेरि रेशम फिलिलीको ग्रीन कार्डैमा…गीतले पनि त्यस्तै चर्चा पाउने विश्वास आफुले लिएको यसका संगीतकार दीपक शर्माले राजधानीलाई बताए ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको यो चलचित्रको लेखक र निर्देशक निरोज महर्जन हुन् । रौनक विक्रम कडेल निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सह–निर्मातामा एनि थापा हुन् ।
यो चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । अघिल्लो चलचित्र रेशम फिलिलीका निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको बाँकी अधिकांश पुरानै कलाकार यसमा छन् । चलचित्रमा सुसन प्रजापतिको छायांकन रहेको छ ।