तीन युवाले खोले पानी उद्योग

गुल्मी । स्वदेशमा रोजगार नपाएर दैनिक हजारौँको संख्यामा युवाहरु विदेश गइरहेको बेला गुल्मीमा भने तीन युवा मिलेर पानी उद्योग खोलेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–३ छल्दी खोलाको किनारमा रेसुङ्गा जल प्रा.लि.को स्थापना गरिएको हो । रेसुङ्गा नगरपालिका वडा नम्बर –२ का विश्वास पुन, वडा नम्बर ३ का सन्तोष कुँवर र वडा नम्बर ६ का राम पन्थी मिलेर दुई करोडभन्दा बढी लगानीमा पानी उद्योग संचालनमा ल्याएका हुन् ।

रेसुङ्गाको काखमा रहेको मूलबाट प्रशोधन गरी खानेपानी बिक्री वितरण थालिएको छ । प्रतिघण्टा २ हजार लिटर पानी उत्पादन क्षमताको उद्योगले अहिले १ हजार ४ सय लिटर उत्पादन गरिरहेको छ । उद्योगबाट १ लिटर, आधा लिटर र २० लिटर जारमा पानी बजार पठाउन थालिएको छ । ‘आफ्नै गाउँमा केही गरौँ भनेर पानी उद्योग खोलेका हौँ ।’ उद्योगी राम पन्थीले भने, ‘अहिले सुरुको चरणमा छौ, पुरा नजिता केही आएको छैन ।’ उनले आफुहरु पूर्ण उत्साह र हौसलाका साथ गाउँमै लगानी गरेको बताए । अहिले पानी गुल्मी जिल्लाभर पठाउन थालिएको छ । सुरुमा जिल्लाको माग पूरा भएपछि पानी अन्य जिल्ला पठाइनेछ । पानीको प्रतिलिटर २० रुपैयाँ खुद्रा मूल्य तोकिएको छ ।

चिनियाँ प्रविधियुक्त स्वचालित उद्योगमा स्थानीय १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पानी उद्योगको दीगो संचालनको लागि लागत र मूल्यको सन्तुलन समेत मिलाएर मूल्य कायम गरेको पन्थीले बताए । युवाहरुले पानी उद्योग संचालन गरेपछि तम्घास–भाडगाउँ–छल्दी सडकको स्तरोन्नतीको कामलाई तिब्रता दिइएको छ भने बिजुलीको निरन्तरताका लागि पनि पहल गरिएको छ ।

पानी उद्योगमा एक घण्टा लाइन जाँदा पाँच हजार रुपैँया घाटा हुने गर्दछ । त्यसकारण बिजुलीको नियमित प्रशारणको लागि आफुहरुले पहल गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीको भनाई छ । ‘पछिल्लो समय जिल्लामा साना–ठूला उद्योग बन्द हुने अवस्थामा पुगेका बेला युवाले आँट गरेर पानी उद्योग सञ्चालन गर्नु अत्यन्तै सकारात्मक छ ।’ उनले भने, ‘यस कार्यले जिल्लामा उद्योग–व्यवसायमा सम्भावना देखिएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम