काठमाडौं । बुधबार दिनभर सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्बिरसहितको पोस्ट भाइरलजस्तै भयो । पोस्टमा ‘झापा घर भएका लालबहादुर लिम्बु बिरामी भई मलेसियाको अस्पतालमा रहेको र आफन्त तथा परिवारलाई सम्पर्कमा आउनु’ भनिएको थियो ।
त्यो पोस्ट देखेपछि मात्र मलेसियास्थित नेपाली दूतावासले उनको उद्धार पहल थालेको छ ।
विगत १५ वर्षदेखि मलेसियामा गैरकानुनी रूपमा बस्दै आएका उनी त्यहाँको जोहोरमा एक कम्पनीमा सुरक्षागार्डमा काम गर्दै आएका थिए । उनलाई केही दिनअघि मात्र ड्युटी गर्ने क्रममा अचानक उच्च रक्तचाप भई छाती दुख्यो भन्दै छटपटाइरहेको अवस्थामा केही साथीहरूले देखेर अस्पताल पु¥याएका थिए ।
उनी बिरामी परेर अस्पताल भर्ना गरिएपछि सञ्जालमार्फत आफन्तको खोजी भइरहेका बेला दूतावासले पनि उनी कार्यरत कम्पनीसँग उनको अवस्था’bout सोधखोज गरेर उद्धार कार्य अगाडि बढाएको जनाइएको छ ।
दूतावासको पहलमा कम्पनीले उनको उपचारमा लाग्ने अस्पतालको शुल्क र औषधिबापतको २ हजार मलेसियन रिंगेट तिरिदिने र स्वास्थ्यमा सुधार भएपश्चात् कम्पनीकै आर्थिक सहयोगमा स्वदेश फर्काइदिने समझदारी भएको जनाएको छ ।
ड्युटीको समय वा बिदाको दिनमा घुम्न बाहिर निस्किएर कुनै दुर्घटनामा परे मलेसियाका कतिपय रोजगारदाता कम्पनीले उपचार नगर्ने गरेका कारण त्यहाँ कार्यरत धेरै नेपालीले कम्पनीले उपचार नगरेको भन्दै आर्थिक सहयोग माग्ने गरेका छन् ।
मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायतका कारण बिरामी हुँदा नेपाली कामदारले सहज रूपमा अस्पतालमा उपचार गराउन पाउँदैनन् । कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै कारणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत जनाएको छ ।
मलेसिया जाने नेपालीको संख्या बढेसँगै गैरकानुनी रूपमा काम गर्नेको संख्या पनि उच्च रहेको भन्दै गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न दूतावासले अनुरोध गर्दै आएको छ । गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब ३ महिनासम्म जेल सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिने गरेको छ ।






