काठमाडौं । नयाँ चलचित्र ‘वरिष्ठ बलराम’को निर्माण घोषणा गरिएको छ । निर्माण पक्षले बिहीबार यो चलचित्रको घोषणा गरेको हो । कबड्डी शृङ्खलामा जोडी बनेका अभिनेता दयाहाङ राई र विजय बराललाई यो चलचित्रमा शीर्ष भूमिकामा रहेका छन् । यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।
यो चलचित्रको टिजर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । चलचित्रलाई आउँदो तिहार लक्ष्मीपूजाको तीन ३ कात्तिकमा रिलिज गरिने भएको छ । आउँदो तिहारमा अहिलेसम्म अरू चलचित्र रिलिजको घोषणा गरिएको छैन ।
निर्देशक पौडेलका अनुसार यो चलचित्रको अर्को साताबाट छायांकन सुरु गरिने भएको छ,‘हामी छायांकनको पूर्ण तयारीमा छौँ । यति बेला चलचित्र महाभोजको छायांकनम अभिनेता दयाहाङ राई व्यस्त भएकाले अर्को साता त्यो चलचित्रको छायांकन सकेर दयाहाङ काठमाडौँ फर्किएपछि हामी यसको छायांकन सुरु गर्ने छौँ’, निर्देशक पौडेलले भने ।
तराईका विभिन्न स्थानमा छायांकन गर्न लागिएको फिल्मलाई मनकृष्ण महर्जनले खिच्नेछन् । यो चलचित्रमा प्रशान्त सिवाकोटी संगीत, सम्राट शाक्य द्वन्द्व निर्देशन तथा प्रदीप लामाको कोरियोग्राफी रहनेछ ।
निर्देशक सुरेन्द्र पौडेलका अनुसार चलचित्र वरिष्ठ बलराम सामाजिक कथामा आधारित रहने छ । यो चलचित्रमा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायतका कलाकारको मुख्य भूमिका रहने छ । चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।
यो चलचित्रको निर्मातामा आशिस एच तामाङ र श्रीराज कार्की रहेका छन् । चलचित्रको कथा निर्देशक पौडेलले नै लेखेका हुन् । यो चलचित्रलाई सम्पादन पनि आफैंले गर्ने निर्देशक पौडेलले बताएका छन् । उनी नेपालका राम्रा चलचित्र सम्पादक हुन् । सुरेन्द्रले यस अघि चलचित्र आभास, कृ, बाबरी निर्देशन गरिसकेका छन् । उनको यो चौथो प्रोजेक्ट हो । यो चलचित्रको निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टले गर्नेछ ।
सम्बन्धित समाचार











