काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो ४ देखि ६ वैशाखसम्म गोसाईंकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ । आयोजक सेलिब्रेटी नेपालले सो जानकारी गराएको हो । महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पु-याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरू समावेश गरिनेछ । महोत्सवमा वृत्तचित्र, लघु चलचित्र र कथानक चलचित्र समावेश गरिने छ ।
‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका चलचित्र गाउँलेहरूलाई नै देखाइने भएका छ ।
महोत्सवमा सहभागी चलचित्रहरूबाट निर्णायक टिमले उत्कृष्ट चलचित्रहरू चयन गरेर अवार्ड समेत प्रदान गरिनेछ । विगत चार वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका चलचित्र मात्र प्रदर्शन हुने पनि आयोजक सापकोटाले जानकारी गराए । महोत्सवमा विभिन्न विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरू समेत गरिने छ ।