चौधरीका उम्मेदवारका रूपमा प्रचार भएपछि ढुंगाना आफैं मैदानमा

काठमाडौं । विनोद चौधरीका बलमा गभर्नर बन्ने सपना बुनेका ज्ञानेन्द्र ढुंगाना नबिल बैंकमा अनौपचारिक बिदा लिएर शक्ति केन्द्रहरू धाउन थालेका छन् ।

कांग्रेस र एमालेको साझा उम्मेदवारका रूपमा आफूलाई उभ्याउने कोसिस गरिरहेका ढुंगानालाई चौधरीका उम्मेदवारका रूपमा प्रचार गरिएपछि उनी आफैं अगाडि बढेका बताइएको छ ।

नबिल बैंकबाट अनौपचारिक बिदा लिएर शक्ति केन्द्र धाउँदै

चौधरी ग्रुपले मुलुकको आर्थिक स्थिति सुधार्न भन्दा पनि ग्रुपको स्वार्थ साकार पार्नका लागि ढुंगानालाई अगाडि बढाउन आर्थिक तथा राजनीतिक दबाब बढाएको आरोप लाग्दै आएको छ ।

राजनीतिक दबाब बढाउँदै चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई गभर्नर कांग्रेसकै भागमा पार्नुपर्ने दबाब दिइरहेका छन् ।

गभर्नरका आकांक्षीसमेत रहेका कांग्रेसनिकट विश्व पौडेललाई गभर्नर नियुक्ति सिफारिस समितिमा पारेर ढुंगानालाई कांग्रेसको निर्विकल्प उम्मेदवारका रूपमा प्रस्तुत गर्न चौधरी ग्रुप सफल भएको स्रोतको भनाइ रहेको छ ।

गभर्नरका विषयमा सत्ता सहयात्री दल नेपाली कांग्रेस र नेकपा एमालेबीच टसल बढेको थाहा पाएपछि नबिल बैंकका सीईओसमेत रहेका ढुंगाना अहिले शक्ति केन्द्रहरू धाउन थालेका बताइएको छ । बैंकर्स संघका पूर्वअध्यक्ष एवं नबिल बैंकका सीईओ ढुंगानालाई बजारमा कांग्रेसको उमेदवारभन्दा पनि ‘विनोद चौधरीको उमेदवार’का रूपमा बढी हेरिएपछि ढुंगानालाई आफैं लागि पर्न चौधरी ग्रुपले सुझाएको पनि बताइएको छ ।

यसअघि आफ्नै बैंकका सीईओ ढुंगानालाई बोकेर बूढानीलकण्ठ र बालुवाटार धाइरहेको आरोप विनोद चौधरीलाई लागेको थियो ।

नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्तिका लागि शक्ति केन्द्र धाउन ढुंगाना नबिल बैंक जान छाडेका छन् । यद्यपि, उनले राजीनामा भने दिइसकेका छैनन् ।

तत्कालीन एनबी बैंकलाई नबिल बैंकमा मर्ज गराएबापत डेढ वर्षअघि सीईओ बनेर नबिल बैंक भित्रिएका ढुंगानाले गभर्नर बन्न चौधरीमार्फत सुरुमा लबिङ सुरु गरेका थिए ।

उनी अहिले बैंकमा बिदा बसेर बूढानिलकण्ठस्थित देउवा निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार र भैसेपाटीस्थित अर्थमन्त्री विष्णुु पौडेलको घरमा कहिले एक्लै त कहिले चौधरीलगायत अन्य राजनीतिक नेतासँग जान थालेको स्रोतको भनाइ छ ।

शक्तिशाली नेता, कर्मचारी, बैंकर र शक्ति केन्द्रहरूमा नयाँ गभर्नरका लागि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगाना सीईओको जिम्मेवारीबाट मुक्त नभईकनै लबिइङमा लागि परेका हुन् ।

नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि लबिइङ गरिरहेका कम्तीमा डेढ दर्जनलाई पछाडि पार्दै सीईओ ढुंगानाको नाम शीर्ष तीनमा रहेको बताइएको छ । यद्यपि, गभर्नरका लागि सिफारिस समितिले उनको नाम पठाएपछि मात्र राजीनामा दिने मनस्थितिमा ढुंगाना पुगेका छन् । यसका लागि भने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले सबै तयारी पूरा गरिसकेका छन् ।

ढुंगाना गत सातादेखि नै बिदामा रहेका छन् । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले सार्वजनिक गरेको जानकारीअनुसार ढुंगाना राजीनामा नै दिइसकेर बिदामा बसेका भने होइनन् ।

एक बैंकको प्रमुख कार्यकारी अधिकृतलाई अर्को बैंकमा जान ६ महिना ‘कुलिङ पिरियड’ लाग्छ भने सोझै गभर्नर बनाउँदा के होला भन्ने बहस राष्ट्र बैंकभित्र चर्चा हुने गरेको छ । कानुनले नरोकेका कारण मुख खोलेर कसैले विरोध गर्न भने नसकेको बताइएको छ ।

बैंकमा बहालवाला प्रमुख कार्यकारी अधिकृतलाई गभर्नरमा सिफारिस गर्न नसकिने जनाउँदै माथिल्लो तहबाट ढुंगानामाथि राजीनामाको दबाब परेको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि दुई दर्जन व्यक्तिले आकांक्षा देखाएका छन् । बैंकका सीईओ, अन्य नियमनकारी निकायमा नेतृत्व गरिसकेका व्यक्तिहरूले राष्ट्र बैंकको गभर्नर बन्न आकांक्षा देखाएका छन् । उनीहरूले सोही किसिमले राजनीतिक लबिइङ गरिरहेका छन् ।

बिमा प्राधिकरण र राष्ट्र बैंक कांग्रेसको भागमा तथा नेप्से र निर्वाचन आयोगका प्रमुख आयुक्त एमालेको भागमा पर्नेगरी अनौपचारिक सहमति भएकामा अहिले केही टसल भएपछि निर्णय आफ्नो पक्षमा पार्न ढुंगाना मैदानमा उत्रिएको चर्चा छ ।

राष्ट्र बैंककै डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू डा. गुणाकर भट्ट र डा. प्रकाशकुमार श्रेष्ठ तथा राष्ट्र बैंकका सञ्चालक एवं पूर्वकार्यकारी निर्देशक रवीन्द्र पाण्डे, राष्ट्रिय बाणिज्य बैंकका पूर्वसीईओ किरणकुमार श्रेष्ठलगायत पनि गभर्नरका लागि लबिइङमा छन् । तर, अहिले यी अधिकांश उमेदवार छायामा परेका छन् ।

प्रधानमन्त्री ओलीको विश्वासमा रहनुका साथै आर्थिक सल्लाहकार युवराज खतिवडाको लाइनअनुसार काम गर्ने भनेर ढुंगानाले पहल गरेका पनि बताइएको छ ।

नेपालको वित्तीय अवस्था यतिबेला निकै समस्यामा छ । नेपाल ग्रे लिस्टमा परेका कारणले पनि वित्तीय अवस्थामा थप समस्या आउने विश्लेषण भइरहेको छ । त्यसैले, अबको गभर्नरका लागि ग्रे लिस्टबाट नेपाललाई निकाल्ने प्रमुख चुनौती रहेको विश्लेषण भइरहेको छ । यस्तो अवस्थामा कसैको स्वार्थ पूरा गर्नका लागि गभर्नरको लबिइङमा रहेका ढुंगानाले अर्थतन्त्र उकास्न नसक्ने दाबी गरिएको छ ।

अहिलेको सुस्त अर्थतन्त्रलाई गतिशील बनाउने क्षमता ढुंगानासँग नरहेको आरोप रहेको छ । उनी सीईओ बनेपछि नबिल बैंकले बाँड्ने मुनाफासमेत घटेकाले यस्तो आँकलन गरिएको हो ।

उनी कार्यकारी अधिकृत भएपछि बैंकले खासै प्रगति गर्न नसक्दा गत आर्थिक वर्षमा ११ प्रतिशत मात्र लाभांश बाँड्न सकेको थियो । विगतमा ३० प्रतिशतभन्दा बढी कुल लाभांश दिइरहेकामा आव २०८०–८१ मा बैंकले ११ प्रतिशत मात्र नगद लाभांश दिन सकेको थियो ।

नेपालमा हाल भएका नियामक निकायहरूमध्ये सबैभन्दा बढी स्वायत्त, कानुनी तथा जनशक्ति एवं प्राविधिक रूपमा पनि सक्षम तथा देखिनेगरी नियामकको भूमिकामा संलग्न राष्ट्र बैंक अन्य नियामक निकायभन्दा बढी नै महत्वपूर्ण भएकाले करोडौं रुपैयाँ खर्चेर भए पनि गभर्नर बन्न लालायित हुने गरेको आरोप लाग्दै आएको छ । यस्तोका बीचमा ढुंगाना आफैंले भने कुनै खर्च गर्न नपर्ने र चौधरी ग्रुपले खर्च गरिदिने अनि पछि चौधरीकै निर्देशनमा गभर्नर बनी काम गर्ने योजना बुनेको आरोप छ ।

नेपालबाट पैसा बाहिर लैजान होस् वा बाहिरबाट पैसा नेपाल ल्याउन, नेपाल राष्ट्र बैंकले धेरैवटा स्थितिमा स्वीकृति दिनुपर्ने भएकाले चौधरी ग्रुपले ढुंगानाका लागि जोडबल गरिरहेको बताइएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल २४ चैतमा सकिँदै छ । गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्थाबमोजिम अर्थमन्त्रीको संयोजकत्वमा विजयनाथ भट्टराई र विज्ञ सदस्यका रूपमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल रहेको समिति बनाइसकिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 621 times, 1 visits today)

epaper

ताजा समाचार

प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी, उजुरीकर्तासँग भोलिदेखि छलफल