इटहरी । इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोकबाट पूर्वपट्टि लाग्नेबित्तिकै बडेमानको भवन देखिन्छ । सो बडेमान भवनमा बुधबार बिहान ९ बजेर ३५ मिनेटमा आगलागी भएको सूचना आयो । सूचना आउनेबित्तिकै इटहरी उपमहानगरको बारुण यन्त्र (दमकल) आगो निभाउन खटियो । लगत्तै इलाका प्रहरी कार्यालय इटहरीबाट पनि प्रहरीहरू आगो नियन्त्रणका लागि खटिएका थिए ।
सेन्टर प्लाजा नामक भवनमा लागेको आगो निभाउन पुगेको दमकलले तत्कालै आगलागी नियन्त्रणमा लिन सकेन । छैटौं तल्लामा रहेको होटल बरन्डामा आगो झनै दन्किन थालेपछि स्थानीय पालिकाका दमकलहरू बोलाइयो । सुरक्षाकर्मीहरू बाक्लो मात्रामा खटिन थाले । पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधन ‘बाइपास’ गरी राजमार्ग खाली गराइयो । तर, सुरक्षाकर्मीहरू भने रमिता हेर्ने मानिसको घेराबन्दीमा परे ।
– रमिता हेर्ने मानिसको घेराबन्दीमा सुरक्षाकर्मी
– आलिसान बंगलाको फ्ल्याट क्षणभरमै खण्डहर
आगलागी झनै दन्किरह्यो । केही मानिस होटलभित्रै फसेका थिए । होटल सञ्चालकले प्रहरीलाई १५ वटा कोठा ‘बुक’ भएको जनाएका थिए । प्रहरीले घटनास्थलबाट डोरी र भ¥याङको सहायताबाट उद्धार ग¥यो । केहीलाई भने नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरियो ।
यसरी उद्धार हुनेमा भोजपुर आमचोककी २६ वर्षीया मेरिका राई, कैलालीकी २६ वर्षीया लक्ष्मी श्रेष्ठ, सुनसरीको बराहक्षेत्रका २६ वर्षीय विजय धामी रहेका छन् । यसैगरी, काभ्रेका विष्णु तामाङ, बंगलादेशका एमडी जय, धनुषाका सञ्जय जयसवाल, विराटनगरका दिया राय र उनका श्रीमान् विशाल सिंह, सुनसरीको रामधुनीका आशिष चौधरी रहेका छन् । उनीहरूको उमेर खुल्न बाँकी छ । अन्य थप दुई जनाको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीका कारण मानवीय क्षति नभए पनि ठूलो धनराशिको क्षति भएको छ ।
इटहरी उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका ६ नं. वडाका वडाध्यक्ष दिवस पोखरेलले भने, ‘प्रारम्भिक अनुमानअनुसार होटलको किचनबाट आगलागी भएको देखिन्छ, यद्यपि थप अनुसन्धान भने भइरहेको छ ।’ आगलागी नियन्त्रणमा लिनका लागि सबै जना घटनास्थलमा खटिए पनि समन्वय अभावका कारण भने समस्या भएको उनको भनाइ छ ।
‘आगलागी नियन्त्रणमा लिनका लागि कमान्डर नभएको हो कि भन्ने पनि महसुस भएको छ,’ पोखरेलले भने, ‘यो गर, त्यो गर भन्ने भयो, सबै जना फिल्डमा खटिए पनि लक्ष्यमा पुगेर आगो निभाउन अलमल भयो ।’
खासगरी भवनको माथिल्लो तल्लामा आगलागी हुँदा दमकलको फोर्सले पानी नपुग्ने र पानी पुगेको अवस्थामा पनि बाहिरी भागमा मात्रै पर्ने हुँदा भित्रभित्रै आगो दन्किएको उनले जनाए । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय नगर प्रहरी, जनप्रतिनिधिसहित स्थानीयवासी खटिए पनि समयमै आगो नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ ।
‘आगलागी नियन्त्रणका लागि क्रेन नै बोलाउनुप¥यो, विराटनगरबाट क्रेन बोलाएर त्यसमाथि चढेर पानीको फोर्स भित्रसम्म पु¥याउने कोसिस भएको थियो,’ ६ नं. वडाका वडाध्यक्ष पोखरेलले भने, ‘सबैभन्दा ठूलो कुरा भनेको आगलागी हुँदा त्यसलाई नियन्त्रणमा लिनका लागि छुट्टै युनिट आवश्यक पर्छ, त्यो युनिट तीनै तहको सरकारसँग अभाव छ ।’
विपद्सम्बन्धी कार्यक्रम भइराखे पनि घटना घट्दा तुरुन्तै नियन्त्रणमा लिन नसकिएको पोखरेलले बताए । तीनै तहको सरकारले समन्वय गरेर युनिट बनाउन आवश्यक रहेको पोखरेलले बताए । इटहरीका ठूला भवनमा बर्सेनिजस्तै आगलागी हुने गरे पनि मानिसहरू आगलागी भएको एक सातासम्म मात्रै सचेत हुने गरेको र अलिक दिनपछि बिर्सिने गरेकाले यस्ता घटना भइरहेको उनको भनाइ छ ।
‘आगलागी भनेको भवितव्यका घटना हुन्, खासगरी पुराना होटल व्यवसायीले प्रत्येक होटलमा फायर एग्जिट राख्नु आवश्यक छ, कतिपय होटल तथा घरमा राखिए पनि डेट एक्स्पायर भएको देखिन्छ ।’
भवनको संरचना ठूलो हुँदा तत्कालै आगलागी नियन्त्रणमा आउन नसक्दा होटल भएको फ्ल्याट भने जलेर खण्डहर भएको छ । आगलागीको कारण र क्षति विवरण’bout भने प्रहरीले तथ्यांक संकलन गर्ने काम गरिराखेको छ ।
व्यवसायी राजेश श्रेष्ठले सञ्चालनमा ल्याएको सो प्लाजामा होटल बरन्डासहित लक्ष्मी–सनराइज बैंक, क्यूएफएक्स सिनेमा हल, सुपर मार्केट, मोबाइल पसलहरू, इलेक्ट्रोनिक्स पसलहरू, कपडा पसलहरू, क्याफेलगायतका पसलहरू सञ्चालनमा थिए ।
क्षतिको विवरण तत्काल आउन असम्भव रहे पनि विवरण भने संकलन भइरहेको छ । खासगरी इलेकट्रोनिक्स पसलमा पानी पसेर क्षति हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, बुधबार ठूलो भीडभाड भएका कारण सटर बन्द गरिएको छ । बिहीबार थप क्षतिको विवरण संकलन गरिने बताइएको छ ।
११ जनाको उद्धार
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाका अनुसार भवनमा फसेका ११ जनाको उद्धार गरिएको छ । तिम्सिनाले भने, ‘हेलिकोप्टरसहित विपद् सुरक्षा समितिले ११ जनाको उद्धार गरेको हो ।’
उनका अनुसार तीन जना महिला र आठ जना पुरुषको उद्धार गरिएको हो । सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएका मध्ये एक महिला घाइते भएकी थिइन् । आगलागीको धुवाँमा निसास्सिएर बेहोस भएकी ती महिलाको सामान्य उपचारपछि घर फर्किएको एसपी तिम्सिनाले बताए । उनले भने, ‘हामीलाई होटल सञ्चालकले १५ वटा कोठा बुक भएको जानकारी गराएपछि हेलिकोप्टर तयारी अवस्थामा राखिएको थियो । उद्धारपछि पनि अरू कोही फसेका छन् कि भनेर हेलिकोप्टर तयारी अवस्थामा राखिएको थियो ।’
इटहर, धरान उपमहानगरपालिका, इनरुवा, रामधुनी, दुहबी, सुन्दरहरैंचा, बेलबारी नगरपालिका, नेपाल आयल निगम विराटनगर, विराटनगर महानगरपालिकालगायत १२ वटा बारुण यन्त्र आगलागी नियन्त्रणका लागि खटिएका थिए ।
कोशी प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण घिमिरे, इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेल, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहाल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनीष थापा, सुनसरी प्रहरीका एसपी सुमन तिम्सिना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका एसपी विनोद घिमिरेसहित तीन सय ५० जना सुरक्षाकर्मी खटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी तिम्सिनाको नेतृत्वमा ७० जना, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनीष थापाको कमान्डमा १ सय ५ जना, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीबाट प्रहरी उपरीक्षक विनोद घिमिरेको कमान्डमा ७५ जना, नेपाली सेनाको भगवती दल इटहरीबाट सेनानी शुभशमशेर जबरा नेतृत्वमा ५० जना र नेपाल प्रहरी विशेष सुरक्षा गण, दुहबीबाट प्रहरी निरीक्षक गजेन्द्र कटवाल नेतृत्वमा ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
सात जना सुरक्षाकर्मी घाइते
प्रहरीका अनुसार आगलागी नियन्त्रणमा खटिएका सात जना सुरक्षाकर्मी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका एक जना र नेपाली सेनाका एक जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् ।
‘प्रारम्भिक अनुमानअनुसार सात जना घाइते भएको अवस्था छ तर सबैको अवस्था सामान्य छ,’ भण्डारीले भने, ‘आगलागीको कारण विद्युत् सर्ट भएर भन्ने प्रारम्भिक अनुमान गरिए पनि यसै भन्नसक्ने अवस्था छैन ।’
यस’bout विस्तृतमै अनुसन्धान हुने उनले जनाए । खासगरी अहिले सीसीक्यामेरा फुटेज हेरेरै अनुसन्धान गरिहाल्ने अवस्था नरहे पनि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको उनको भनाइ छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, एसएसपी दाहालले ठूला भवन निर्माण गर्दा विपद् जोखिम न्यूनीकरणको मापदण्ड अपनाउन आवश्यक रहेको बताए । ‘भवन निर्माण गर्दैगर्दा विपद् न्यूनीकरण र उद्धार मापदण्ड’bout जानकार हुनुपर्छ,’ उनले भने, ‘आजको घटनामा पनि सो भवनमा केही उपकरण जडान भएको भए पनि प्रयोगको प्रभावकारिता भएन ।’
सानो आगोले नै ठूलो क्षति हुने भएकाले सुरक्षा मापदण्ड गरेर भवन बनाउनुपर्ने उनले सुझाए । खासगरी चैत, वैशाखको महिना आगलागीको समय नै भए पनि सो भवनमा भने कसरी आगो लाग्यो भन्ने’bout थप अनुसन्धानबाट खुल्ने उनको भनाइ छ । दाहालले भने, ‘आगलागीको कारण’bout प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्नेछ, खासगरी सानो आगाले नै ठूलो क्षति हुन्छ तर बेलैमा सावधानी अपनाउन आवश्यक छ, विद्युतीय उपकरणका कारण पनि आगलागी हुनसक्ने भएकाले सचेत हुनुपर्छ ।’
खासगरी विद्युत् सर्ट, ग्यास लिक तथा विस्फोट, ज्वलनशील पदार्थको लापरबाही भण्डारण, आगोसँग खेलबाड गर्दा आगलागीका घटना हुने गरेका छन् । आगो लागेपछि यसलाई तत्कालै नियन्त्रणमा लिनका लागि फायर एग्जिट तथा फायर ड्रिलको अभ्यास गर्न आवश्यक हुने विज्ञहरूले सुझाएका छन् ।