शिक्षा मानव विकासको सुरुआतदेखि नै कुनै न कुनै रूपमा रहेको पाइन्छ । जुन समयमा विद्यालय तथा विश्वविद्यालय थिएनन्, त्यो समयमा पनि समाजमा अनौपचारिक शिक्षा थियो । घर, परिवार र समाजबाट मानिसले शिक्षा आर्जन गर्ने गर्थे । प्राचीन समयमा शिक्षाको मोडेल शारीरिक तथा व्यावहारिक अवस्थाको आधारमा निर्धारण गरिन्थ्यो । बुबाले छोरालाई पुरुषले दैनिक जीवनमा गर्नुपर्ने काम र आमाले छारीलाई महिलाले गर्नुपर्ने काम, आचार, विचार, व्यवहार सिकाउने गरिन्थ्यो । अथवा समाजमा अग्रजहरूले नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्ने प्रक्रियासँग शिक्षा आर्जन गर्ने प्रचलन थियो । त्यसैले घरपरिवारलाई मानिसको पहिलो पाठशाला भनिन्छ ।
समयको परिवर्तनसँगै शिक्षा आर्जनको माध्यम घर, परिवारमा मात्र सीमित रहेन । शिक्षा ऋषिकुल, देवकुल, राजकुल, पितृकुल, गुरुकुल, मठ, मन्दिर, शिवालय, देवालय, गुम्बा, चैत्य हुँदै विद्यालय शिक्षामा परिवर्तन भएको छ । शिक्षा आर्जनको क्षेत्र र विषयवस्तुको चयन भने समयको आवश्यकताअनुरूप तय गरेको पाइन्छ । समाजमा जुन समयमा जस्तो प्रकारको ज्ञानको आवश्यकता प¥यो तदअनुरूपको शिक्षा पढाइन्थ्यो । सिकाइन्थ्यो । यसरी शिक्षाको र समाज एकअर्काका परिपूरकको रूपमा रहेको पाइन्छ ।
शिक्षा व्यक्तिको आवश्यकता पूरा गर्नका लागि मात्र होइन । शिक्षा समाज र देशको आवश्यकतालाई पूरा गर्नका लागि पनि हो । शिक्षाको एक्लो सैद्धान्तिक ज्ञानले मात्र व्यक्ति र समाजको आवश्यकता पूरा गर्न सक्दैन । शैक्षिक विकासक्रमलाई अध्ययन गर्दा समयको परिवर्तनसँगै शिक्षा आर्जनका माध्यम र तरिकामा पनि फेरबदल हुँदै आएको पाइन्छ । आधुनिक समाज निर्माणको क्रमसँगै समाजमा विद्यालय खुले । विद्यालयमा निश्चित उद्देश्य प्राप्तिका लागि दिइने शिक्षालाई औपचारिक शिक्षा भनिन्छ । अहिले शिक्षा आर्जन गर्ने औपचारिक संस्थाको रूपमा विद्यालय, महाविद्यालय र विश्वविद्यालय स्थापना भएका छन् । व्यक्तिले आप्mनो, रुचि, क्षमता र चाहनाअनुरूपका विभिन्न विधामा अध्ययन गर्ने अवसर उपलब्ध छ ।
आजको एक्काइसौं शताब्दीसम्म आइपुग्दा शिक्षा व्यक्ति, समाज र देशको सर्वांगीण विकासको आधार बन्न पुगेको छ । शिक्षाका ’boutमा विभिन्न अवधारणा पाइन्छन् । जोन डिवेको भनाइमा शिक्षा जीवन हो, जीवनको तयारी होइन भन्ने छ । शिक्षाविद् थोमसका अनुसार शिक्षा व्यक्तिको व्यवहार, विचार र अवधारणाको स्थायी परिवर्तन ल्याउने साधन हो भन्ने छ । यसैगरी विवेकानन्दले शिक्षालाई मानिसमा भएका सम्पूर्णताको पहिचान हो भने । रुसोले शिक्षालाई आचरण निर्माणको रूपमा अथ्र्याएका छन् । समग्रमा शिक्षा मानिसको सर्वांगीण विकासको आधार हो । शिक्षाबिना जीवन अधुरो हुन्छ । अपुरो हुन्छ । मसी नभएको कलमजस्तो हुन्छ । बास्नाबिनाको पूmलजस्तो हुन्छ । त्यसैले पूर्ण तथा सफल जीवनका लागि शिक्षा अनिवार्य सर्त हुन आउँछ ।
केही विद्वान्को मतअनुसार शिक्षाको अन्तिम लक्ष्य मानव सन्तुष्टि प्राप्त गर्नु हो भन्ने छ । त्यसो त मानिसको सन्तुष्टिको कुनै सीमा हुँदैन । शिक्षालाई बालबालिकाका लागि शिष्टता, धनीका लागि आभूषण, वृद्धका लागि आत्मसन्तुष्टि र गरिबका लागि छत हो भन्ने गरिन्छ । तथापि उल्लिखित परिभाषाले मात्र पनि शिक्षाको पूर्ण परिभाषा हुन सक्दैन । समग्रमा शिक्षा जीवनको इन्जिन हो । अहिलेको युगमा अमेरिकन शिक्षाविद् जोन डिवेले भनेझैं शिक्षा जीवन हो । तर, कस्तो शिक्षाको प्रशिक्षणबाट कस्ता शिक्षित व्यक्ति उत्पादन गर्ने भन्ने कुरा भने राज्यले तय गर्ने शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाइको आधारमा दिशानिर्देश हुन्छ ।
मानिस चेतनशील प्राणी भए तापनि ऊभित्र रहेको आन्तरिक क्षमतालाई बाहिर ल्याउने, बढाउने, हुर्काउने र विकसित गर्ने काम शिक्षाको हो । व्यक्तिलाई समयको गतिसँगै अगाडि बढाउने काममा शिक्षाको ठूलो भूमिका हुन्छ । अहिले हाम्रो देशको शिक्षा प्रणाली समयसापेक्ष हुन नसकेको बहस छ । जनगुनासो छ । शिक्षाले व्यक्ति, समाज र सिङ्गो देशका आवश्यकतालाई पूरा गर्न नसकेको विज्ञहरूको ठहर छ । शिक्षाले व्यक्तिलाई आयआर्जन गर्ने अवसरका ढोका खोल्न सकेको छैन । शिक्षा र उत्पादनको साइनो शून्य छ । नेपाल कृषिप्रधान मुलुक हो । तर, विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययन गरेका शिक्षित जनशक्तिले कृषिजन्य उत्पादन गरी यस क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्न सक्ने ज्ञान र सीप आर्जन गर्न नसक्दा आयआर्जनका लागि शिक्षित युवापुस्ता कामको खोजीमा विकसित देशमा पलायन भएको अवस्था छ ।
समग्रमा शिक्षा मानिसको सर्वांगीण विकासको आधार हो । शिक्षाबिना जीवन अधुरो हुन्छ । अपुरो हुन्छ । मसी नभएको कलमजस्तो हुन्छ । बास्नाबिनाको फूलजस्तो हुन्छ । त्यसैले पूर्ण तथा सफल जीवनका लागि शिक्षा अनिवार्य सर्त हुन आउँछ । कस्तो शिक्षाको प्रशिक्षणबाट कस्ता शिक्षित व्यक्ति उत्पादन गर्ने भन्ने कुरा भने राज्यले तय गर्ने शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाइको आधारमा दिशानिर्देश हुन्छ
एकातिर अहिलेको शिक्षाले समाजमा रहेका अव्यावहारिक, अवैज्ञानिक, असान्दर्भिक तथा रुढीवादी संस्कृति र संस्कारलाई संशोधन, परिमार्जन तथा परिवर्तन गर्न सहयोग गरेको अवस्था छैन भने अर्कोतिर गरिखाने शिक्षाको अभाव छ । देशमा वैज्ञानिक शिक्षाको अभावमा भूगर्वमा भएका सुन, चाँदी, हीरा, मोती, कोइला, पेट्रोलियम पदार्थलगायतका खानी र खजानाको उत्खनन हुन सकेको छैन । सिद्घान्त र उपदेशमा मात्र आधारित शास्त्रीय शिक्षा समयसापेक्ष हुन सक्दैन । यस किसिमको शिक्षाले समयको मागलाई पूरा गर्न सक्दैन । त्यसैले देशको शिक्षा प्रणालीमा वैज्ञानिक र प्राविधिक ज्ञान सिक्ने र सिकाउने मोडेलको शिक्षा आजको आवश्यकता हो ।
अवैज्ञानिक तथा अव्यावहारिक शिक्षाको कारण आज पढेलेखेका शिक्षत युवा आप्mना खेतबारी बँझाएर अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, इजरायललगायतका देशमा काम गर्न लर्को लागेका छन् । बेरोजगार शिक्षित जनशक्ति उत्पादन गर्न राज्यले किन यति ठूलो लगानी गरेको छ ? विद्यमान शिक्षा पद्धतिबाट राष्ट्र र राष्ट्रियताप्रति प्रतिबद्ध, स्वदेशमा नै परिश्रम गर्ने, स्वावलम्बी हुने र कर्मशील बन्ने नागरिक किन उत्पादन हुन सकेनन् ? राज्य कहाँ चुक्यो ? राज्यले सोचेको छ ? छैन । अहिलेको शिक्षा कमजोर भएमा देशको भविष्य अन्धकार हुन्छ भन्ने दृष्टिकोणको अभाव छ । देशको शिक्षा प्रणाली नै अभिभावकविहीनको अवस्थाबाट गुज्रिइरहेको छ ।
राजनीतिक भागबन्डाको आधारमा प्रधानमन्त्री र शिक्षामन्त्री हुने राजनीतिक दुष्कर्मले गर्दा शिक्षा क्षेत्रले सक्षम अभिभावक पाउन सकेको छैन । प्रधानमन्त्री कुलपति, शिक्षामन्त्री सहकुलपति हुने शिक्षानीति नै अवैज्ञानिक छ । असान्दर्भिक छ । सरकारमा आउने र जाने आयाराम गयारामहरूले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी, विशिष्टीकृत र अन्वेषणमुखी बनाउने गफ गरेको सुनिन्छ । तर, यिनीहरूको कार्यशैलीमा न त भविष्यको दृष्टिकोण छ न त शिक्षालाई समयसापेक्ष बनाउने क्षमता नै । विश्वविद्यालयमा शैक्षिक प्रशासन र समग्र शैक्षिक व्यवस्थापनमा प्रत्यक्ष प्रभाव पार्ने पदहरूमा राजनीतिक भागबन्डामा पद बाँडिन्छ । शैक्षिक क्षमता वा मेरिटोक्रेसीको आधारमा पदपूर्ति गर्नुपर्नेमा राजनीतिक आस्थाका आधारमा व्यक्तिहरू भर्ना हुन्छन् । अनि देशका विश्वविद्यालय कसरी उत्कृष्ट बन्न सक्छन् ? कसरी शिक्षालय गुणस्तरीय तथा अनुसन्धान केन्द्र हुन सक्छन् ?
विश्वविद्यालयको मात्र अवस्था नाजुक छैन, शिक्षाको जगको रूपमा रहेका देशका सामुदायिक विद्यालयको अवस्था पनि दयनीय छ । शिक्षकले विभिन्न माग राखेर आन्दोलन गरिरहने र पेसाप्रतिको कर्तव्य र दायित्वलाई बिर्सिएर दलका पार्टी कार्यालयमा धाउने गर्छन् । शिक्षा क्षेत्रलाई राजनीतीकरण गर्ने काम दलले गरेका हुन् । गाउँका विद्यालयको अवस्था अत्यन्त कमजोर भएकाले हुनेखाने परिवारका बालबालिकाहरू निजी विद्यालयमा भर्ना हुने गरेका छन् । अहिले गाउँका विद्यालयमा विद्यार्थी छैनन् । हुनेखाने परिवार गाउँ छाडेर शिक्षा र स्वास्थ्य सेवाको सुविधा भएको ठाउँमा बसाइसराइ गरेका छन् । गाउँ मानवविहीन भएका छन् । हँुदै छन् ।
राज्यले शिक्षामा ठूलो लगानी गरेको छ । विद्यालय शिक्षा परीक्षाको नतिजा ५० प्रतिशत पनि छैन । विद्यालय तहमा मात्र होइन पछिल्लो समयमा विश्वविद्यालयमा पढ्ने विद्यार्थीको संख्या घट्दै गएको तथ्यांकले बताउँछन् । विश्वविद्यालयका कतिपय संकायमा त विद्यार्थी भर्ना नै हुन छाडेका खबर आइरहेका छन् । देशका शिक्षालयले अवस्थाले विकराल भविष्यको सकेत गर्छ । देशका विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाबाट सक्षम जनशक्ति उत्पादन हुन नसकेपछि राज्यले भविष्यमा अब्बल जनशक्ति कहाँबाट पूर्ति गर्न सक्छ ? विज्ञहरू भन्छन्, अबको एक दशक पछाडि कुनै पनि क्षेत्रमा अब्बल स्तरको जनशक्ति पाइनेछैन । यस सन्दर्भमा । शिक्षा बिग्रियो भने देशका सबै क्षेत्र कमजोर हुन्छन् भन्ने सत्यतथ्यलाई राज्यले बेलैमा मनन गरोस् । शिक्षा क्षेत्रका तमाम समस्या समाधान गर्न देशका थिङ्कट्यांकसँग सहकार्य गर्नुपर्छ । गरोस् ।
अन्त्यमा, अहिलेको युगमा शिक्षा देशमा आवश्यक जनशक्ति उत्पादन गर्ने केन्द्र हुन् । विश्वविद्यालय उच्चस्तरका दक्ष जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलो हुन् । गुणस्तरीय शिक्षाको अभावमा देश विकास सम्भव हुुँदैन । त्यसैले शिक्षाको जग बलियो हुनुपर्छ । व्यक्ति, समाज र सिङ्गो देशको जीवन समृद्ध बनाउने कार्य राजनिति मात्र होइन, गुणस्तरीय शिक्षा हो । राजनीतिलाई समयसापेक्ष बनाउन पनि शिक्षा नै चाहिन्छ । तसर्थ राज्यले किन्तु, परन्तु बट, इफ केही नभनी शिक्षा क्षेत्रलाई विद्यालय तहदेखि विश्वविद्यालयसम्म शल्यक्रिया गर्नुपर्छ । यसो गर्दा शिक्षानीतिमा सुधार, प्राज्ञिक वर्गको शैक्षिक नेतृत्व, मेरिटोक्रेसीमा आधारित योग्य जनशक्ति छनोट, समयसापेक्ष पाठ्यक्रम, व्यावहारिक पाठ्यपुस्तक, आधुनिक तथा प्रविधिमैत्री शिक्षण सिकाइ, प्रयोगात्मक अभ्यासलगायतका सुधार अनिवार्य ठानिन्छ ।