सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी ग्वालिपिन्नस्थित बमबहादुर बुढाको घर पछाडि कोटमाराको रुखमा राखिएको पराल र खरमा विहीबार राति ९ बजेतिर कसैले आगो लगाईदियो । खरमा लागेको खबर तुरुन्तै छिमेकीको घरतिरबाट बमबहादुर कहाँ पुग्यो । उनका अढाई वर्षे छोरा र तीन महिनाकी छोरी निदाइसकेका थिए ।
१४ घण्टापछि सकुशल फेला, युवती प्रहरी नियन्त्रणमा
बमबहादुर र उनको श्रीमति मनिषा छिटो–छिटो आगो निभाउन दौडिए । छिमेकीहरु पनि जम्मा भए । आगो निभाउन र कसले आगो लगायो होला भन्ने अनुमानमा गफिँदागफिँदै उनीहरुको झण्डै एक घण्टा समय त्यहीँ बित्यो । आगो निभाएर ओझ्यानमा पुग्दा बमबहादुर दम्पति शिशु अवस्थाकी छोरी श्रेयालाई देख्दैनन् ।
छोरी ओझ्यानबाटै गायब भएको देख्दा बमबहादुर दम्पति मात्र होइन छिमेकीहरुमा पनि सन्नाटा छायो । ’round जताततै खोजतलास गर्दा समेत कुनै भेउ पाएनन् । छोरी हराएको पीडाले बमबहादुर दम्पति रातभर निदाउन पनि कसरी ? प्रहरी, नातागोतालाई खबर गर्नेदेखि सामाजिक सञ्जालहरुबाट खोजीका लागि अनुनय गर्दै रात कट्यो ।

शुक्रबार बिहान ९ बजेतिर चामुण्डाविन्द्रासैनी नगरपालिका–२ लामीडाँडामा एक युवतीले शिशु काखी च्यापिरहेको अवस्थामा भेटिइन् । स्थानीयले ती अविवाहित युवतीलाई चिन्थे । उनीहरुले नवजात शिशु देखेपछि कसको हो भनेर सोध्न थाले । युवती हड्बडाइन् ।
स्थानीयले उनको व्यवहारलाई शंकास्पद लिँदै शिशुका आफन्तको सोधीखोजीमा लागे । तीन महिने शिशु च्यापेकी ती २० वर्षीय युवती थिइन्, चामुण्डाविन्द्रासैनी नगरपालिका २ सिरौलीकी शर्मिला विष्ट । लामीडाँडाका स्थानीयले शर्मिलालाई नियन्त्रणमा लिँदै जम्बुकाँध र ठाँटीकाँधबाट प्रहरी बोलाए । शिशुका बाबु बमबहादुर सहितका युवाहरु पनि चामुण्डाविन्द्रासैनीको लामिडाँडा पुगे ।
करिब १४ घण्टापछि छोरी सकुशल भेटिएपछि परिवारजन हर्षित भए । ठाँटीकाँध गाउँपालिका पश्चिम दैलेखमा पर्छ । त्यहाँबाट चामुण्डाविन्द्रासैनी नगरपालिका १ सिराडी गाउँ पुग्न हिँडेरै एक दिन लाग्छ । शिशुको घर रहेको सिराडीमा ती युवतीका आफन्त, नातेदार पनि छैनन् । उनी कसरी त्यहाँ पुगिन र के उद्देश्यले शिशु अपहरण गरिन् ? भन्ने अनुसन्धानपछि खुल्दै जाला । प्रारम्भिक सोधपुछमा शर्मिलाले दुल्लूका तीन जना युवाहरुले शिशु आफूलाई थमाएको बताएकी छन् । स्थानीयसंग उनले भनिन्, ‘घरबाट मैंले उठाएर ल्याएको होइन, मलाई बीच बाटोमा फेला पारेका हुन्, आफूहरु खाजा ल्याउन जान्छौं भनेर बच्चा मलाई समाउन लगाए, त्यसपछि सम्पर्कमै आएनन् ।’
जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले शिशु अपहरणमा संलग्न युवतीलाई अनुसन्धानका लागि सदरमुकाम ल्याइएको बताए । ‘घटनामा को–कसको संलग्नता थियो, किन अपहरण गरियो, रातीको समयमा त्यति टाढा कसरी पुगियो ? यी सबै कुरा विस्तृत अनुसन्धानपछि नै थाहा हुन्छ, उनले भने, ‘युवतीको बयानका आधारमा घटना सलंग्नहरुको पहिचान गरी आवश्यक कारबाही हुन्छ ।’
प्रहरी र स्थानीयले घटनालाई नियोजित र संगठित प्रकृति भनेका छन् । उनीहरुका भनाईमा ती युवती एक्लैले रातिको समयमा जंगलको बाटो बच्चा काखी च्यापेर हिँड्न असम्भव छ । शिशुका काका दीपक बुढाले एक जनाबाट मात्र यो घटना नभएको बताए । ‘सानो बच्चा छ भन्ने थाहा पाएरै आगो लगाउने र बाबुआमा निभाउन गएको मौका छोपेर चोरी गरिएको छ, योजनाबद्ध घटना हो,’ उनले भने, यसले गाउँमा झन् त्रास फैलायो ।’






