काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेको अध्यक्षमा पनौतीमा केन्द्रीय कार्यालय रहेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था (साकोस)का प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल चयन भएका छन् । क्लबको तेस्रो वार्षिक साधारणसभाले दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
क्लबको उपाध्यक्षमा आर्थिक विकास मित्र साकोस पाँचखालका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारी, सचिवमा आभास साकोस, बनेपाका प्रमुख कार्यकारी अधिकृत सुवास वैद्य र कोषाध्यक्षमा लक्ष्मी महिला साकोस काभ्रेका मनोज रायमाझी चयन भएका छन् ।
सञ्चालक सदस्यहरूमा एक्सेस साकोसका अरुण थापा, सक्षम साकोसकी पार्वती थापा, महिला आधारशिला साकोसकी यशोदा बोगटी, सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाका गौतम प्रजापति र वासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका अनन्त तिमल्सिना चयन भएका छन् । सीएमसी काभ्रेजस्ता क्लबहरू देशका विभिन्न जिल्लामा गठन भएका छन् ।
यस्ता क्लबले जिल्लाका सहकारी संस्थाबीच अनुभव आदान–प्रदान, तालिम आयोजना, नेतृत्व विकास, नीति संवाद तथा सहकार्य प्रवर्धनमा सकारात्मक भूमिका खेल्न सक्छन् । यी संस्था सहकारी व्यवस्थापनको व्यावसायिकता बढाउन, दक्ष जनशक्ति तयार पार्न तथा सदस्य संस्थाबीच समन्वय कायम गर्न महत्वपूर्ण ठहरिएका पनि छन् । तथापि कहिलेकाहीँ यस्ता नेटवर्कहरूले आफ्नै सीमित समूहको मात्र पहुँच कायम गरेर ‘सिन्डिकेट संस्कृति’ विकास गरेको आरोप पनि लागेको छ । यस्तो अवस्था आउन नदिनका लागि क्लबले भूमिका खेल्नुपर्ने अनिवार्य बनेको छ ।
सहकारीको छवि उच्च बनाउनका लागि यस्ता क्लबले आफ्नो कार्यविधिलाई पारदर्शी र समावेशी बनाउनुपर्छ । नयाँ तथा साना सहकारी संस्थालाई पनि अवसर दिनुपर्छ । कार्यसम्पादनको मूल्यांकन पारदर्शी बनाइनुका साथै कार्यक्रमहरू सबै सदस्य संस्थासँग परामर्श गरेर सञ्चालन गरिने र स्वच्छ प्रतिस्पर्धात्मक वातावरणलाई खलल हुन दिनु हुँदैन । यस प्रकारको नेटवर्कले खुला, समावेशी र सुधारमुखी कार्यशैली अपनाउनसके काभ्रे जिल्लाको सहकारी अभियान थप सशक्त र विश्वसनीय बन्नेछ ।