सशस्त्रमा एआईजी बढुवा प्रक्रिया सुरु

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि आइतबार बढुवा समितिको सचिवालयले सूचना निकालेको छ । सूचना निकालेसँगै बढुवाका दाबेदार नायब महानिरीक्षक (डीआईजी) हरूबीच रस्साकस्सी सुरु भएको छ ।

एआईजी बने आईजीपीको दाबेदार नबने डीआईजीबाटै अवकाश

३० वर्षे सेवा अवधिका कारण एआईजी चन्द्रप्रकाश गौतम २ वैशाख रातिदेखि अनिवार्य अवकाशमा गएसँगै रिक्त पदमा बढुवाका लागि बढुवा समितिको सचिवालयले सूचना निकालेको हो ।

बढुवा समितिको सचिवालयका सदस्य सचिवसमेत रहेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा हस्ताक्षरित सूचनामा आइतबारको मितिले ७ दिनभित्र बढुवा प्रयोजनका लागि आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरू पेस गर्न भनिएको छ । सूचनामा रिक्त एआईजीको संख्या भने उल्लेख गरिएको छैन ।

बढुवामा परेको खण्डमा भावी संगठन प्रमुख बन्नसक्ने बलियो आधार र बढुवा नभए डीआईजीबाटै अवकाशमा जानुपर्ने बाध्यकारी अवस्थाका कारण दाबेदारहरूबीचको रस्साकस्सी चर्काे बनेको स्रोतको भनाइ छ ।

पहिलो वरीयताका डीआईजीको सम्भावना बलियो, प्रहरीमा पनि वरिष्ठतालाई नै आधार मानिएको थियो

बढुवाको प्रतिस्पर्धामा डीआईजी कमल गिरी गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी मुख्य दाबेदार रहेका छन् । डीआईजीहरू गिरी र ठाडामगर ३ असार २०५६ मा प्रहरी निरीक्षकमा प्रवेश गरी सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।

नेम्वाङ भने उनीहरूपछिको वैकल्पिक सूचीमा थिए । सुवेदी वर्तमान आईजीपी राजु अर्याल, एआईजीद्वय नारायणदत्त पौडेल र वंशीराज दाहालका ब्याची हुन् । १८ चैत २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका उनीहरू पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।

डीआईजीको वरीयतामा गिरी १ नम्बरमा रहेकाले उनी नै एआईजी बढुवामा पर्ने सम्भावना र आधार बलियो छ । नेपाल प्रहरीको हालै भएको एआईजीको बढुवा सिफारिसमा पनि वरिष्ठतालाई नै आधार मानिएकाले सशस्त्रमा पनि गिरीको सम्भावना बलियो बनेको हो ।

यसैगरी, बढुवाका लागि नेपाल प्रहरीमा प्राविधिक नायब निरीक्षक (सई मा भर्ना भएर सशस्त्रमा डीआईजी बन्न सफल कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पालले पनि आफ्नो दाबेदारी प्रस्तुत गर्न सक्नेछन् ।

एक त प्राविधिक पृष्ठभूमि, अर्काे अत्यन्तै कमजोर कार्यसम्पादन र ३० वर्षे सेवाको उत्तराद्र्धमा पुगिसकेका हुनाले उनीहरूमध्ये कोही एक जना एआईजी बनेर पछि नेतृत्व तहमै पुग्ने सम्भावना अत्यन्तै न्यून छ । यसका साथै सशस्त्र प्रहरीकै पहिलो ब्याच (सि.सं. १ सशस्त्र प्रहरी निरीक्षक) का डीआईजीहरू पनि एआईजीको प्रतिस्पर्धामा छन् ।

एआईजी बन्न नसकेको अवस्थामा सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार डीआईजीबाटै अवकाशमा जानुपर्ने हुनाले पनि उनीहरूले यस बढुवालाई प्रतिष्ठाकै विषय बनाएको स्रोतको भनाइ छ ।

संसद्मा दर्ता भइसकेको सशस्त्र प्रहरी ऐन यस बीचमा पास भएको अवस्थामा भने उनीहरूको वृत्तिविकासमा नयाँ ढोका खुल्नसक्ने सम्भावना भने नभएको होइन । सशस्त्र प्रहरीको सिसं १ सशस्त्र प्रहरी निरीक्षक टोलीका ६ जना अहिले डीआईजी छन् ।

सि.सं. १ टोलीका डीआईजीमा वरीयतामा क्रमशः सुरेशकुमार श्रेष्ठ, अञ्जनी पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा, दीपक अधिकारी र कृष्णराज ढकाल छन् । श्रेष्ठ, पोखरेल , शाह र थापा एउटै मितिमा डीआईजी बन्दा अधिकारी भने उनीहरूभन्दा १ वर्षपछि डीआईजी बनेका थिए । ढकाल भने दुई महिनाअघि मात्रै डीआईजी बनेका हुन् ।

त्यसो त संसद्मा विचाराधीन ऐन लागू नभएको अवस्थामा सशस्त्र प्रहरी महानिरीक्षक अर्याल १७ वैशाख २०८३ सम्म नेतृत्वमै रहनेछन् । अर्यालपछि वरीयताको एक नम्बरमा रहेका नारायणदत्त पौडेल र त्यसपछिको वरीयतामा रहेका वंशीराज दाहालमध्ये एक जना १७ चैत २०८४ सम्म नेतृत्वमा रहनेछन् सशस्त्र प्रहरी नियमावलीअनुसार त्यसपछि भने अब एआईजी बन्ने एक जना उनीहरूपछि नेतृत्वमा पुग्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका दुई पलिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी