गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँमा उत्पादन भएका कृषिजन्य सामग्रीको बजारीकरण गर्ने उदेश्यले पालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्याएको हो । एम्बुलेन्समा संघीय सरकारको १९ लाख र पालिकाको १५ लाख गरी कुल ३४ लाख लगानी छ ।
एम्बुलेन्स संचालनका लागि सबै वडामा उप–समितिहरु गठन गरिएको छ भने पालिकास्तरमा ‘थाप्ले सत्यवती कृषि बजार’ गठन गरिएको छ । सबै टोलमा संकलन केन्द्र पनि राखिएको छ । एम्बुलेन्सले कुल १५ क्विन्टलसम्म तरकारी बोक्न सक्छ । एम्बुलेन्समा माइनस १५ डिग्री र प्लस २५ डिग्रिसम्म तापक्रम कायम गर्न मिल्ने र पाँच दिनसम्म कुनै पनि तरकारी टिकाइराख्ने क्षमता रहेको कृषि शाखा प्रमुख उपकार भण्डारीले जानकारी दिए । एम्बलेन्सले तरकारी मात्र नभएर मासु र दुध पनि निर्यात गर्न सक्ने भण्डारीले जानकारी दिए ।

अहिले किसान आफैले एम्बुलेन्सको संचालन गरेका छन् । जसले गर्दा नाफा र उत्पादनमा आधारित अनुदान पनि किसानसँगै रहने गर्दछ । सबै वडामा संकलन भएको कृषि उपज बुटबलको बजारमा पुग्ने गर्दछ । सत्यवतीदेखि बुटबलसम्म लगेको भाडा प्रति केजी तीन देखि छ रुपैँयासम्म तोकिएको छ ।
पालिकाले एम्बुलेन्समा सहजिकरण गरेसँगै किसानहरु पनि लाभाम्बित भएका छन् । ‘अब तरकारी, दुध बिक्री गर्न सहज हुनेभयो ।’ स्थानीय मीना ढकालले भनिन्, ‘किसान र उपभोक्ताको सिधा सम्पर्क भएपछि बिचौलियाको पनि अन्त्य भएको छ ।’ अर्का कृषक मनिराम पाण्डेले अब उत्पादित कृषिजन्य सामग्रीको बजारीकरणको सुनिश्चितता भएको बताए ।
सत्यवती गाउँपालिकामा ६० वटा समुहमा नौ सय किसान आवद्ध छन् । करिब सय जनाले एकल रूपमा पनि तरकारी खेती गरेका छन् । पालिकामा एक हजार किसानले उत्पादन गरेको तरकारी एवं दुध र मासुजन्य सामग्री स्थानीय बजारका साथै बुटबलसम्म पुग्ने गरेको छ ।
पालिकामा तरकारी, फलफुल, माछा, मासु, दुध र अण्डाबाट बार्षिक करिब १० करोड भित्रिएको पालिकाको तथ्याकं छ । सत्यवतीले गत बर्ष देखि नै बुटबल हाटबजारको २८ नम्बर सटरमा पालिकामा उत्पादित कृषिजन्य सामग्री बिक्री गर्दै आएको पशु शाखा प्रमुख नारायण खनालले जानकारी दिए ।






