युवा संघमा थेवे र पुरी प्यानल

पोखरा । पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ ।

गत शुक्रबारदेखि जारी महाधिवेशनमा आइतबार मनोनयन दर्ता भएकामा सोमबार साँझ मात्र निर्वाचन कमिटीले अन्तिम नामावली सार्वजनिक गरेको हो । मतदान भने मंगलबार बिहानमात्र हुने तयारी छ ।

अध्यक्षमा निवर्तमान अध्यक्ष क्षितिज थेवे र निवर्तमान महासचिव सुमन परीबीच नै प्रतिस्पर्धा निश्चित भएको छ ।

१५१ सदस्यीय कमिटीमा आगामी नेतृत्वका लागि दुवैले अडान नछाडेपछि प्यानलसहित चुनावमा होमिएका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत प्यानल सार्वजनिक गरी भोट मागिरहेका छन् ।

उपाध्यक्ष खुलामा पर्वत भण्डारी, प्रकाश गौतम, महाराज गुरुङ, इ. विनय शाहको उम्मेदवारी परेको छ । तीमध्ये थेवे प्यानलतर्फ महाराज र विनय हुन् । पुरी प्यानलका पर्वत र प्रकाश हुन् ।

महासचिवमा कुवेर अधिकारी र महेश चौलागाई तथा उपमहासचिवमा उपेन्द्र शाही र खेमराज शर्माबीच प्रतिस्पर्धा हुनेछ । थेवे प्यानलका महासचिव महेश हुन् भने उपमहासचिव उम्मेदवार उपेन्द्र हुन् । पुरीतर्फ महासचिव उममेदवार कुवेर हुन् भने उपमहासचिव खेमराज हुन् ।

सचिव (खुला) मा अरुणबहादुर कुँवर, देव बस्नेत (देवबहादुर बस्नेत), ध्रुव खड्का, मदन भण्डारी, मीनाकुमारी राई (रञ्जु) र वकिलबहादुर बम छन् । थेवेतर्फ मदन र देव हुन् ।

सचिव (मधेशी) मा चितरन्जन यादव, मोविन अख्तर आलम, विकास झा, सचिव (महिला) उमा पाण्डे (रोजिना), नीशा लिम्बु सुब्बा र रेश तामाङ छन् । थेवे प्यानलका सचिव (मधेशी) का उम्मेदवार मोविन हुन् भने महिला उम्मेदवार नीशा हुन् ।

११ जना खुला सदस्यका लागि ५८ जनाले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोग अध्यक्षमा मदन गिरी र अधिवक्ता शिवराज रिमाल, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी (किसुनजी) र विक्रम गुरुङ, युवा विज्ञ परिषद् अध्यक्षमा चीन लामा (चिनबहादुर तामाङ) र मोदनाथ सिलवाल (सन्तोष) बीच प्रतिस्पर्धा हुनेछ ।

मतदान अधिकृत ईश्वरी पौडेलले मतदान मंगलबार बिहानदेखि मात्र हुने तयारी भइरहेको बताइन् । आगामी कार्यकालमा अध्यक्षसहित उपाध्यक्ष २, महासचिव, उपमहासचिव, सचिव ४ पदाधिकारीसहित १५१ कमिटी बन्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा