काठमाडौं । यस वर्ष नेपालमा मनसुन औसत मिति (जुन १३ तारिख)भन्दा अगाडि भित्रने भएको छ । भारतमा सरदरभन्दा एक साताअघि मनसुन प्रवेश गरेसँगै नेपालमा पनि एक साता छिटो मनसुन प्रवेश गर्दै छ । मौसम विज्ञान विभागले सोमबार भिडिओ सन्देश जारी गर्दै यही १८ जेठदेखि ४ असोजसम्म चार महिनाको अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना देखिएको जानकारी दिएको हो ।
भारतको केरलामा सामान्यतया १ जुनमा र नेपालमा १३ जुनमा मनसुन भित्रिने गर्छ । तर, यस वर्षको मनसुन भारतमा २४ मे अर्थात् १० जेठमै भित्रिएको छ । भारतको केरलामा यस वर्ष मनसुन औसत मिति ३० मेभन्दा ६ दिनअघि नै २४ मे (१० जेठ) मै भित्रिसकेकाले नेपालमा औसत मितिभन्दा चाँडै मनसुन प्रवेश गर्नेछ ।
विभागका मौसम विज्ञान सहायक सुरेश खनालका अनुसार मध्य जेठदेखि मध्य असोजसम्मको अवधिलाई मनसुन अवधि भनिन्छ । मनसुन भित्रिएपछि बर्खा सुरु भएको मानिन्छ । अहिले भने नेपालमा मनसुन भित्रिनुअघिको सिजन प्रि–मनसुन चलिरहेको छ । मनसुन भित्रिएपछि यो सिजन अन्त्य हुन्छ । यसपटक मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । मौसमविद्का अनुसार नेपालमा मनसुन जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिना रहन्छ ।
एल–निनो कि ला–निनो ?
दक्षिण एसियाली देशमा मनसुनलाई ठूलो असर गर्ने प्रणाली भनेको प्रशान्त महासागरमा देखिने ‘एल–निनो’ र ‘ला–निनो’ गतिविधि हो । समुद्रको सतहको पानी सामान्यभन्दा बढी तातेको अवस्थालाई ‘एल–निनो’ भनिन्छ । यसको असर वायुमण्डलमा पर्दा कम वर्षा हुन्छ ।
उष्णदेशीय (उष्णकटिबन्धीय) प्रशान्त भूमध्य क्षेत्रमा समुद्रको तापमान र वायुमण्डलीय परिस्थितिमा आउने परिवर्तनका लागि जिम्मेवार समुद्री घटना एल–निनो हो । यो परिवर्तनका कारण तापक्रम सामान्यभन्दा ४ देखि ५ डिग्री सेल्सियस बढी हुनसक्ने मौसमविद्हरू बताउँछन् ।
‘एल–निनो’को ठीक उल्टो ‘ला–निनो’ हो । अर्थात् समुद्रको सतहको तापक्रम औसतभन्दा चिसो भयो भने त्यसलाई ‘ला–निनो’ भनिन्छ । यसो हुँदा औसतभन्दा बढी वर्षा हुन्छ र बाढी पहिरोको जोखिम बढी हुन्छ । यस वर्ष ला–निनोको प्रभाव बढी देखिन्छ । त्यसैले दक्षिण एसियाली मौसम आउटलुक फोरम (सास्कोफ) र अन्तर्राष्ट्रिय विज्ञहरूसमेतको सहभागितामा दक्षिण एसियाली देशहरूको मनसुन प्रक्षेपण गरिएको थियो । सोहीअनुसार गत महिना मात्रै सास्कोफले यस वर्ष सरदरभन्दा बढी वर्षा र गर्मी पनि अत्यधिक बढ्ने प्रक्षेपण गरिसकेको छ ।
सरदर वर्षा भनेको के हो ?
कुनै पनि ठाउँको सरदर वर्षा थाहा पाउन ३० वर्षको पानी परेको तथ्यांक अध्ययन गर्नुपर्छ । यसलाई टर्साइल क्याटागोरी भनिन्छ । यसका लागि ३० वर्षभन्दा लामो हरेक सालको वर्षालाई थोरैदेखि धेरैको क्रमलाई मिलाएर राखिन्छ । ३३ दशमलव ३ र ६६ दशमलव ६ प्रतिशतले टुक्र्याई ३ बराबर भागमा विभाजन गरिन्छ । ३३ दशमलव ३ प्रतिशत वा त्यसभन्दा थोरै पानी प¥यो भने सरदरभन्दा कम पानी परेको भनिन्छ ।
३३ दशमलव ३ प्रतिशतदेखि ६६ दशमलव ६ प्रतिशतबीचमा पानी प¥यो भने सरदर पानी परेको भनिन्छ । त्यसैगरी, ६६ दशमलव ६ प्रतिशतभन्दा बढी पानी प¥यो भने सरदरभन्दा बढी पानी परेको भनिन्छ । मौसम विज्ञान सहायक सुरेश खनालका अनुसार यस वर्ष मनसुनमा तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना छ । सरदरभन्दा बढी पानी पर्ने र तापक्रम पनि बढी हुने भएकाले यसको असर धेरै क्षेत्रमा पर्ने देखिन्छ । यसले सरदरभन्दा बढी वर्षा हुँदा बाढी आउने तथा पानी जम्ने समस्याले कृषिमा असर हुन सक्छ । बालीमा लाग्ने रोग बढ्न सक्छ । बढी तापक्रमको असर पनि बालीनालीमा पर्न सक्छ ।
यसैगरी, सरदरभन्दा बढी पानी पर्दा मलेरिया, डेंगी, हैजा, झाडापखालाजस्ता रोग फैलिन सक्ने भएकाले यसले स्वास्थ्यमा पनि असर गर्नसक्छ । सरदरभन्दा बढी तापक्रमका कारण वृद्ध, बालबालिकाहरूमा गर्मीको असर पर्न सक्छ । त्यस्तै सरदरभन्दा बढी पानी पर्नाले नदीनालामा बाढी आउन सक्छ भने सरदरभन्दा बढी पानी पर्दा सडक, पोल पूर्वाधारमा क्षति हुन सक्छ । ठूलो पानी र बाढीले यातायात प्रभावित हुनसक्छ । यी कारणले विपद्का घटना बढ्न सक्छन् । यसैले यस वर्ष मनसुन अवधिमा बढी सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
कुन–कुन प्रदेशमा छ सरदरभन्दा बढी वर्षाको सम्भावना ?
खनालका अनुसार सरदरभन्दा बढी पानी पर्ने सम्भावना कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा देखिएको छ । कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका अधिकांश भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भूभाग, बाग्मती र कोशी प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । मधेश प्रदेशको समतल भूभागमा सरदर वर्षा हुने सम्भावना छ ।






