पोखरा । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी सुमन परीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन् ।
पोखरामा भएको १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार मतदानको अन्तिम परिणाममा थेवेले कुल खसेको मतमा ७९६ मत प्राप्त गरे । पुरीको पक्षमा ६०८ मत परेको छ ।
महाधिवेशनस्थल पोखरा सभागृहमा भएको मतदानमा कुल मतदाता १ हजार ७ सय ६४ जना मतदातामध्ये १ हजार ४ सय ४ मत खसेको निर्वाचन अधिकृत ईश्वरी पौडेलले जानकारी दिइन् ।
चुनावी परिणामअनुसार थेवे प्यानलले पदाधिकारीसहित अधिकांश पदमा वर्चश्व कायम गरेको छ ।
१५१ सदस्यीय कमिटीमा सर्वसम्मत् नेतृत्वको प्रयास विफल भएपछि थेवे र पुरी प्यानल बनाएरै चुनावमा होमिएका थिए । रुपन्देहीका पुरी निवर्तमान महासचिव हुन् ।
उपाध्यक्ष (खुला) मा थेवे प्यानलकै महाराज गुरुङ निर्वाचित भए । उनले ८९५ मत प्राप्त गरेका छन् । अर्का उपाध्यक्षमा इ.विनय शाह ७७३ मतसहित निर्वाचित भए ।
महासचिवमा थेवे प्यानलकै महेश चौलागाई निर्वाचित भए । उनले ७५५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कुवेर अधिकारीले ६४९ ले मत प्राप्त गरेका छन् ।
उपमहासचिवमा उपेन्द्र शाही निर्वाचित भए । उनले ८१५ ल्याउँदा उनका प्रतिस्पर्धी खेमराज शर्माले ५८९ मत ल्याए ।
सचिव (खुला) मा थेवे प्यानलकै मदन भण्डारी निर्वाचित भए । अर्का सचिव पुरी प्यानलबाट अरुण कुँवर निर्वाचित भए । भण्डारीले कुल खसेको मतमा ७९४ र कुँवरले ६४८ मत ल्याए ।
सचिव (मधेशी) मा थेवे प्यानलका मोविन अख्तर आलम, सचिव (महिला) मा नीशा लिम्बु सुब्बा निर्वाचित भए ।
अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा निर्वाचित भएका छन् । उनीहरु सबै थेवे प्यानलका हुन् ।
पदाधिकारी ९ जनासहित १५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरी १६३ पदमा निर्वाचित भएका छन् । चुनावी परिणाम मुख्य निर्वाचन अधिकृत मदनप्रसाद भण्डारीले सार्वजनिक गरेका थिए । तीमध्ये ६४ पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
गत शुक्रबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरेका थिए ।






