रुरुक्षेत्रमा गुड खुदो उद्योग स्थापना

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ थोर्गा पानीटंकीका गोविन्द ज्ञवालीको पुख्र्यौली पेशा नै उखु खेती हो । उनले उखुबाट बन्ने खुदो र गुड बेचेरै आम्दानी गरिरहेका छन् । ज्ञवालीले ढाई रोपनी जग्गामा गरेको उखु खेतीबाट बार्षिक ५८ हजार आम्दानी गर्दै आएका छन् । उखु खेती बाहेक परिवार अन्य कृषि पेशामा आवद्ध छ भने गोविन्दले गाउँमै स्थापना भएको गुड खुदो उद्योगमा काम गर्छन् । केही उखु बीउको लागि पनि राखेको राम्रो आम्दानी भइरहेकोले विदेश जाने कुनै योजना नभएको गोविन्द बताउछन् ।

रुरुक्षेत्रमा गोविन्दजस्तै उखु खेतीबाट धेरैले मनग्य आम्दानी गरिरहेका छन् । रुरुक्षेत्र गाउँपालिका उखु खेतीको लागि प्रख्यात मानिन्छ । पालिकाभरी करिब तीन हजार रोपनीमा अहिले उखु खेती भइरहेको छ । पछिल्लो समय उखुको उचित मूल्य र बजारीकरणका लागि पालिकाले वडा नम्बर ४ मा ‘थोग्रेली गुड खुदो उद्योग’ स्थापना गरेको छ । जसबाट स्थानीयले एकातर्फ उखुको झण्डै दोब्बर मूल्य पाएका छन् भने अर्कोतर्फ गाउँमै रोजगारी समेत सिर्जना भएको छ । उद्योगबाट उखुको रसबाट गुड, खुदो र मिठाई उत्पादन हुदैँ आएको छ । जसले गर्दा उखु कृषकको जीवनस्तर नै फेरिएको छ ।

चार महिनामै ६९ लाखको कारोबार, फेरियो किसानको जीवनस्तर

उखु कृषकलाई एकीकृत गरी उद्योग स्थापना गर्नको लागि रुरु बहुउदेश्यीय सहकारी संस्था लिमिटेड गठन भयो । सहकारीमा हाल एक सय १० कृषक आवद्ध छन् । ‘थोग्रेली गुड खुदो उद्योग’ पनि यसै सहकारीमार्फत संचालन भइरहेको छ । उद्योगले अहिले कृषकको बारीमै पुगरे उखु खरिद गर्दछ । माघ २० गते स्थापना भएको उद्योगले माघ महिनाभर प्रतिकेजी ११ तथा फागुन महिनादेखि हालसम्म प्रतिकेजी १२ रुपैँयामा उखु खरिद गरिरहेको छ । उद्योगले ल्याएको उखु पेलेर खुदो पकाउने, गुड तथा गुडका मिठाई बनाउने काम गरिरहेको रुरु कृषि परियोजनाका संयोजक प्रकाश चालिसेले जानकारी दिए ।

उद्योगबाट रोजगारी सिर्जना
रुरुमा स्थापना भएको उद्योगले रोजगारी समेत सिर्जना गरेको छ । स्थानीय हरी सेनानीले पहिले दुवैको कम्पनीमा काम गरे । केही सयमअगाडी घर आएका उनले गाउँमै स्थापना भएको उद्योगमा काम पाए । अहिले उनले उखु खुदो पकाउने, गुड बनाउने र प्याकेटिङ्को काम गर्छन् । ‘विदेशमा अरुको दबावमा धेरै काम गर्नुपथ्र्यो, यहाँ साथिभाइसँगै काम गर्न पाइएको छ ।’ उनले भने, ‘यहाँको उद्योगमा काम गर्दा पारिवारिक वातावरण छ ।’ सोही उद्योगमा गुड प्याकेटिङको काम गर्ने सीता पन्थलाई उद्योगमा काम सुरु गरेदेखि दैनिक घरखर्च चलाउन निकै सहज भएको छ । काम गरेर मासिक १२ हजार कमाउने उनले सहकारीको शेयर सदस्य भएको कारणले काम पाएको बताइन् ।

उद्योग स्थापनादेखि नै काम गर्दै आएकी कल्पना राइले पनि अहिले सानोतिनो खर्चको लागि श्रीमानसँग समेत माग्नु नपरेको बताइन् । ‘घरखर्च चलाएकी छु, दुई हजार पैसा पनि साथमा हुने गरेको छ ।’ उनले भनिन्, ‘गाउँमै उद्योग स्थापना भएपनि हाम्रो दैनिकी फेरिएको छ ।’ उद्योगमा हाल नियमित पाँच जनाले रोजगारी पाएका छन् । काम गर्ने सबै सहकारीका शेयर सदस्य छन् । उनीहरुको कामको प्रकार हेरिकन मासिक १२ हजारदेखि २५ हजारसम्म प्रदान गरिएको छ ।

यसरी सबै कामदारको मासिक दुई लाख रुपँैया सहकारीले भुक्तानी गर्ने प्रबन्धक प्रकाश थापाले बताए । यसरी हेर्दा रुरुक्षेत्रमा स्थापना गरिएको गुड खुदो उद्योगले चार महिनामै ६८ लाख ८० हजारको कारोबार गरेको छ ।

चार महिनामै २९ लाखको गुड, खुदो विक्री
उखुको रसबाट बन्ने परिकार बनाउनको लागि वडा नम्बर ४ मा उद्योग स्थापना भयो । जसमा पालिकाले भवन निर्माणको लागि २० लाख र नवप्रभावत युवा संघद्धारा संचालित रुरु कृषि परियोजनाको समन्वयमा हेफर इन्टरनेशनलले ५२ लाख लगानी छ । उद्योगले स्थापनाको छोटो समयमै राम्रो आम्दानी गरेको छ । उद्योगले उखुको खरिददेखि गुड, खुदो र मिठाई उत्पादन गरी बिक्री गर्दछ । उत्पादित गुड, खुदो स्थानीय बजारमै खपत हुन्छ । अहिलेसम्म दुई सय ६५ टन उखु प्रशोधनबाट १९ लाखमा ७५ क्विन्टल गुड र १० लाखमा पाँच हजार लिटर खुदो विक्री भएको सहकारीका प्रबन्धक थापाले बताए । अहिले दैनिक ढाई क्विन्टल खुदो उत्पादन भइरहेको छ ।

अहिले पनि १५ हजार लिटर खुदो स्टक रहेको छ । उद्योग स्थापनादेखि हालसम्म दुई सय ६५ टन उखु बिक्रीबाट किसानले ३१ लाख ८० हजार रकम बुझेका छन् । पहिले प्रतिकेजी सात रुपैँयामा बिक्री हुने उखु अहिले उद्योग स्थापना भएसँगै प्रतिकेजी १२ रुपैँयामा बिक्री भइरहेको छ । उखु बिक्रीबाट सबैभन्दा धेरै गंगा पुनले दुई लाख ५० हजार आम्दानी गरेकी छिन् । ‘उद्योग स्थापनापछि उखुमा झण्डै दोब्बर मूल्य पाइएको छ ।’ पुनले भनिन्, ‘अब बजारको पनि कुनै समस्या छैन ।’ रुरुमा हाल रातोकोशेर, थारापाते लगायतका जातका उखु उत्पादन हुने गरेका छन् । लगाएको नौ महिनामा तयार हुने एउटा उखुको घार औषतमा तीन किलो हुने गरेको छ ।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले किसानको आवश्यकतालाई मध्यनजर गरी उद्योग स्थापना गरको बताए । ‘कृषि र पर्यटनमार्फत रोजगारी सिर्जना गर्नेतफ उन्मुख भइरहेका छौँ ।’ अध्यक्ष ज्ञवालीले भने, ‘उखु खेती विस्तार गर्नको लागि पालिकाले मल, बीउ र प्रविधिमा सहयोग गरको छ ।’ उनले अब बनाउने नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रममा पनि उखुखेती र उद्योगलाई विशेष प्राथमिकता दिने बताए । ‘किसानका समस्यामा पालिका सधै सँगै छ ।’ ज्ञवालीले भने ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संसद विघटन गर्ने ओलीलाई किन भोट दिने : देउवा