कपिलवस्तु । जगदीशपुर तालमा वसन्तसँगै चराले गुँड बनाउने, अण्डा पार्ने, चल्ला हुर्काउने समय हो । तर तालमा चल्न थालेका मोटरबोटका आवाज, छाल र चहलपहलले चराको प्राकृतिक जीवनशैलीमा यस्तो खलल पारेको छ कि उनीहरूले आफ्नै बासस्थान छोड्न थालेका छन् ।
नेपाल पन्छीविद् संघको टोलीले अन्वेषणका क्रममा मोटरबोटले आत्तिएका चराको दृश्य क्यामरामा कैद गरेको छ । चराविज्ञ डा. हेमसागर बराल भन्छन्, ‘यहाँ प्रजनन चक्रमै डिस्टर्ब भएको छ, यस्तो अवस्थामा चरा अण्डा त्याग्न, ओथारो छोड्न वा प्रजनन नै नगर्न बाध्य हुन सक्छन्, दीर्घकालमा यो संकट गम्भीर बन्छ ।’

जगदीशपुर तालमा अहिले हरिहास, सिमकुखुरा, कुर्मा, बगाले सिमकुखुरा, जलअप्सरा, लामाऔले, ठिमाहा, फ्यालफ्याले र जुन बकुल्ला जस्ता चराहरू प्रजननरत छन् । ठिमाहा फ्यालफ्याले त अझै दुर्लभ प्रजाति हो, जसको नेपालमा प्रजनन हुने एक मात्र स्थान यही ताल हो । नादुन हाँसले पनि यसपालि यहीँ चल्ला हुर्काइरहेको देखिएको पन्छीविज्ञ कृष्ण भुसालले बताए । उनी भन्छन्, ‘मोटरबोटले जल वनस्पति र त्यसमा गुँड बनाउने चराहरूमा असर परेको छ । यो जैविक चक्रमै हस्तक्षेप हो ।’
कानुनविपरीत मोटरबोट सञ्चालन
रामसार सूचीमा परेको नेपालकै एक मात्र मानव निर्मित ताल जगदीशपुरमा गत वैशाखदेखि मोटरबोट सञ्चालन थालिएको हो । जगदीशपुर जलाशय बहुसरोकार मञ्चले तालको व्यावसायिक प्रयोगका लागि वार्षिक ८ लाख ५५ हजार रुपैयाँमा ठेक्का दिएको छ । ठेक्का मायादेवी गाउँपालिकाका विनोद पालले लिएका भए पनि स्रोतका अनुसार मञ्चकै केही सदस्यले मोटरबोट चलाइरहेका छन् । तर, यो सबै प्रक्रिया वातावरणीय प्रभाव मूल्यांकनबिना गरिएको भन्दै वातावरणविद्हरू आपत्ति जनाउँछन् । ‘संरक्षणका नाममा गठन भएको मञ्च स्वयंले प्रकृति विरोधी कार्य गरिरहेको छ,’ उनीहरू भन्छन् ।
चराचुरुंगी मात्र होइन, सबै प्रभावित
मोटरबोटको गतिविधिले चराचुरुंगी मात्र होइन, ताल ’roundका जलचर, सरीसृप र स्तनधारी प्रजातिहरूमा पनि प्रतिकूल असर परेको विज्ञहरू बताउँछन् । सन २००३ मा रामसार साइटको मान्यता पाएको यस जलाशयमा हाल १ सय ६७ प्रजातिका चरा पाइन्छन्, जसमा ५७ प्रजाति स्थायी रूपमा यहीँ बसोबास गर्छन् ।
साइबेरिया, मंगोलिया, चीन र रुसबाट आउने आगन्तुक चराहरू पनि यही तालमा निर्भर छन् ।







