धनगढी । धनगढी उपमहानगरपालिकाले वितरण गरेको चामल कुहिएको र किरा परेको भेटिएको छ । उपमहानगरपालिकाले लडकडाउनका बेला खान समस्या भएको विपन्न परिवारलाई चामललगायतको खाद्यान्न खरिद राहतस्वरुप चामल वितरण गर्दै आएको छ ।
उपमहानगरपालिकाले खरिद गरी वितरण गरेको चामल कुहिएको र किरा परेको भेटिएपछि सोमबार स्थानीयले उपमहानगरलाई नै फिर्ता गरे ।
‘उपमहानगरले वितरण गरेको चामल बुझेर ल्याएँ ।’ घरमा आएर हेर्दा कुहिएको र किरा भेटिएपछि उपमहानगरलाई फिर्ता गरेको धनगढी ४ बोराडाँडीकी मञ्जु नाथले बताइन् । उनले चामल गनाउनुका साथै लामालामा सेता किराहरु रहेको बताइन् ।
उपमहानगरले आइतबार दोस्रो चरण अन्तरगत प्रतिपरिवार २० किलोग्राम चामल, दुई किलोग्राम दाल, एकपाकेट नुन र एकपाकेट तेल राहतस्वरुप वितरण गरेको थियो भने यसअघि १० किलोग्राम चामल, दाल, नुन र तेल वितरण गरेको थियो ।
महामारीका बेला विपन्न जनतालाई कुहिएको चामल वितरण गरेर उपमहानगरले मार्न खोजको स्थानीयको आरोप छ । उपमहानगरले भने मिलबाट प्याकिङ भएर आएको र सोेझै सिधै नगरवासीलाई वितरण गरेको जनाएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले राहतमा वितरण गरिएको ६–७ कठ्ठा चामल कुहिएको र किरा परेको भन्दै फिर्ता आएको बताउँदै त्यसमा कसको कमजोरी भएको छानविन हुने बताए ।
यसैबीच धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले राहतका सामग्री आपूर्ति गर्ने जिम्मा धनगढीस्थित ठाकुर ट्रेड लिंकलाई दिइएको बताए । उनले दुई करोड ६१ लाखमा तीन हजार तीन सय क्विन्टल चामल, ८ सय क्विन्टल दाल लगायतका सामग्री आपूर्तिका लागि ठाकुर ट्रेड लिंकसँग ठेक्का गरेको जानकारी दिए ।
कुहिएको चामल बाडेपछि ठाकुर ट्रेड लिंक गोदाममा छापा
धनगढी उपमहानगरपालिकाले राहतमा वितरण गरेको चामल कुहिएको र किरा परेको भेटिएपछि खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धनगढीको टोलीले सोमबार ठाकुर ट्रेड लिंक गोदाममा छापा मारेको छ ।
गुण नियन्त्रण कार्यालयका सूचना अधिकारी दीपक कुँवरले राहतमा वितरण भएको चामलको गुणस्तरमाथि प्रश्न उठेपछि परीक्षणका लागि गोदाममै पुगेर छापा मारेको बताए ।
उनले कुहिएको र किरा भेटिएको भनिएको चामलका बोरा खोलेर अध्ययन सुरु भएकाले सरोकारवालासँगको छलफल पछि थप प्रक्रिया अगाडी बढाइने बताए । ठाकुर ट्रेड लिंकले दुई करोड ६१ लाखमा राहत समाग्री आपूर्ती गर्ने जिम्मा पाएको छ ।






