गुल्मी । गुल्मीमा दुई गाउँपालिका जोड्नेगरी झोलुङ्गे पुलको निर्माण गरिएको छ । जिल्लाको पश्चिम क्षेत्रका धुर्कोट र इस्मा गाउँपालिका जोड्नेगरी तीन सय ७० मिटर लामो झोलुङ्गे पुलको निर्माण गरिएको हो । छल्दी खोलामाथि निर्माण गरिएको पुलले धुर्कोट गाउँपालिकाको वस्तु र इस्मा गाउँपालिकाको अम्मरपुर जोड्छ ।
पुलको गुल्मी क्षेत्र नम्बर २ का सासंद एवं पूर्व मन्त्री गोकर्णराज विष्टले उद्घाटन गरे । सस्पेन्सन ब्रिज डिभिजन ललितपुर मार्फत झोलुङ्गे पुल एक करोड ८४ लाखको लागतमा निलगिरी निर्माण सेवा प्रालिले निर्माण गरेको हो । एकैपटकमा झण्डै आठ सय नागरिकले आवत–जावत गर्न सक्ने क्षमता पुलको रहेको छ ।
झोलुङ्गे पुलले बिचित्र गुफालाई राजमार्गबाट नजिक बनाएको छ । त्यसैगरी हिमालय माविका विद्यार्थीलाई विद्यालयसम्म आवात–जावत गर्न, घाँस, दाउरा गर्न एवं स्थानीयको दैनिकीमा सहजता आएको छ । ‘केही बर्ष पहिले खोला तर्ने क्रममा पाँच बर्षिय बच्चालाई आमाकै काखबाट खोलाले बगाएको थियो, बच्चालाई हामीले हुलाकेमा मृत फेला पारेका थियौँ ।’ स्थानीय बोमलाल भण्डारीले भने, ‘अहिले पुल बनेको छ, हाम्रो दैनिकी फेरिएको छ ।’ उनले पुलले वस्तु र अम्मरपुरका धेरै नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको बताए ।
धुर्कोट गाउँपालिका–५ को वस्तुमा प्राकृतिक रुपमै बिचित्र रहेको बिचित्र गुफा छ । यो पुलले मदनभण्डारी राजमार्ग अन्तरगत तम्घास–सिमलटारीबाट नजिक बनाएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सजिलो भएको छ । राजमार्गबाट ५ मिनेटमा पुल तरेपछि १० मिनेटमा बिचित्र गुफा पुग्न सकिने भएको छ ।
छल्दीखोला झोलुङ्गे पुल लामो भएकाले आन्तरिक पर्यटनमा समेत टेवा पुगेको छ । लामो तथा अग्लो स्थानमा निर्माण गरिएको झोलुङ्गे पुलका कारण दैनिक घुम्न, हावा खान र फोटो खिचाउन आउनेहरुको घुइँचो लाग्ने गरेको वडाध्यक्ष केशवराज भण्डारीले जानकारी दिए ।
धुर्कोट गाउँपालिका–५ वस्तुको यो गुफा पत्ता लागेका तीन दशक बढि भए । तर, संरक्षण र उचित विकास समयमै हुन सकेन् । शान्ति प्रक्रिया पछि गुफा संरक्षणका केहि काम भएका छन् । सदरमुकाम तम्घासबाट ४५ मिनेटमा बिचित्र गुफा पुगिन्छ । मदन भण्डारी राजमार्ग अन्तरगत तम्घास–सिमलटारी सडकखण्डबाट गुफा पुग्न १५ मिनेट लाग्छ ।
गुफा भित्र फेला परेका संरचनाहरुलाई स्थानीयले सभाहल, रामजानकी आश्रम, शिबालय, स्वर्गजाने बाटो, लगायतका नामाकरण गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्री विष्टले पहाडका गाउँ–गाउँ पनि भुगोलका कारण टाढा हुने भएकाले झोलुङ्गे पुलको महत्व अझै रहेको बताए ।
क्षेत्र नं २ मा २०७४ सालमा २७ झोलुङ्गे पुलका योजना समावेश गरेकाले अधिकांश निर्माण सम्पन्न भएको बिष्टले बताए । उनले सडक, खानेपानी, पुल, सिँचाई लगायतका पुर्वाधारमा थुप्रै बजेट बिनियोजन गरेकाले क्रमिक रुपमा समृद्धिको यात्रा सुरु भएको बताए ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पुलले धुर्कोटको पर्यटन विकासलाई बृद्धि गर्ने बताए । उनले तिनै तहका सरकारको समन्वयमा विकासका काम अगाडी बढिरहेको बताउनु भयो । उहाँले बाह्य पर्यटकको समेत घुइँचो हुने बिचित्र गुफामा अझै सडकको आवश्यकता रहेको बताउनुभयो ।






