वीरगन्ज । आर्थिक वर्षको टुप्पामा वीरगन्ज महानगरपालिकाले पनि असारे कार्यक्रमलाई प्राथमिकता दिएको पाइएको छ । संक्रामक तथा महामारीजन्य रोग, खानेपानी, खाद्य गुणस्तर निगरानी कार्यक्रम र खाद्य सुरक्षा तथा सरसफाई सम्बन्धी होटेल व्यवसायी रेष्टुरेन्ट व्यवसायीसँग अभिमुखीकरण भनी लम्बेतान शिर्षकमा शुक्रबार एकै ठाउँमा कार्यक्रम गरिएको हो ।
मुलुकका प्रायः सबै सरकारहरुलाई यतिवेला बजेट सक्ने ध्याउन्न छन् । वीरगन्ज महानगर पनि यसमा पछि चाही छैन । सालभरी होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई अभिमुखीकरण गर्न बिर्सिएको महानगरले आर्थिक वर्षको टुप्पामा आएर असारे खेती झैं सरकारी कार्यक्रम गरेको छ । विगतले यो समय तालिम, अभिमुखिकरण, गोष्ठी जस्ता कार्यक्रम गरी बजेट सक्ने भन्ने झल्को दिएकै छ ।
महानगरको यो कार्यक्रमले पनि त्यसलाई बिर्साइ दिएन । आन्तरिक श्रोतबाट कर्मचारीको तलब खुवाउँदै आएको महानगरले दुई महिनादेखि कर्मचारीलाई समयमा तलब खुवाउन सकेको छैन । तथापि आन्तरिक श्रोत पनि अन्यत्र प्रयोग गर्दै आएको खुद कर्मचारी नै बताउँछन् ।
स्थानीय उपभोक्ताहरुले स्वच्छ परिकार उपभोग गर्न पाउने अधिकार सुनिश्चित हुनु पर्छ भन्ने महानगरको धरातलीय उद्देश्य मात्र नभई बजेटरी कदम पनि रहेको आँकलन सहभागीहरुले गरेका छन् । स्थानीय होटल तथा रेस्टुरेन्ट संचालकहरुलाई खाद्य सुरक्षा र सरसफाई सम्बन्धी अभिमुखिकरण भन्दै आर्थक वर्षको बजेट सक्ने समयमा नै कार्यक्रममा सहभागी गराउँदा यसले सकारात्मक मात्र सन्देश भने दिएको छैन ।

तथापि वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ प्रवद्र्धन शाखा प्रमुख राजु प्रसाद साह भने यो असारे कार्यक्रम नभएको दावी गर्छन् । स्वास्थ्य महाशाखाकै सम्योजनमा यो कार्यक्रम भएको छ । उनी भन्छन् ‘तीन महिनादेखि होटल तथा व्यवसायीहरुलाई जुटाउने प्रयास बल्ल बल्ल सम्भव भएको हो’ । पालिकाका जुनसुकै क्षेत्रको नियमन समेत गर्न सक्ने अधिकार रहेको स्थानीय सरकारले बोलाउँदा होटल तथा व्यवसायीलाई जुटाउन गाह्रो हुने कुरा धरातीय यथार्थ नभएको खुद होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुकै तर्क छ । असारे कार्यक्रममा महानगरका कर्मचारी सहित ७० जनाको सहभागीता रहेको खुलेको छ ।
समयमा कर्मचारीले पाएका छैनन् तलब
कर्मचारीलाई तलब खुवाउने आन्तरिक श्रोत पनि जनप्रतिनिधिको विभिन्न दवावले यताउता तानतुन हुन थालेपछि कर्मचारीले भने समयमा तलब नपाउने रोग महानगरमा छिरेको खुलासा भएको छ । आन्तरिक आयलाई विभिन्न शिर्षक खर्च गर्न थालेपछि कर्मचारीको तलब खुवाउन अन्कनाई रहेको महानगरले असारे भेलसँगै विभिन्न तालिम र अभिमुखीकरण कार्यक्रमलाई भने तारे होटलमा सोझ्याएको भेटिएको छ । यसमा महानगरकै अन्य महाशाखाका कर्मचारीहरुको पनि चित्त नबुझेको खुलेको छ । शुक्रबारको कार्यक्रम पनि वीरगन्जस्थित होटल मकालुको सभाहलमा गरिएको थियो । महानगरको आफ्नो सभाहल हुँदा हुँदै खर्चिलो होटलतर्फ कार्यक्रम मोढिएको उनीहरुको आरोप छ ।
वीरगन्जमा अवस्थित होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई जनस्वस्थ निरीक्षक सुमनचन्द्र ठाकुरले शुक्रबारको कार्यक्रममा खाद्य सुरक्षा र सरसफाइका ’boutमा अभिमुखीकरण गराएका थिए । सो कार्यक्रममा वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले महानगर अनुगमनकारी निकाय पनि भएकोले अनुगमन गर्नु अधि सबै होटल तथा रेस्टुरेन्ट व्यवसायीहरुले खाद्य सुरक्षा र सरसफाई सम्बन्धी सम्पूर्र्ण जानकारी दिइएको पनि दावी गरेका छन् ।
महानगर अनुगमनमा आउँदा सम्पूर्णरूपमा चुस्त दुरुस्त देखिने गरी होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले राम्रो सेवा दिन पर्ने उनले निर्देशन दिए । आफूले सिकेका कुरा व्यवहारमा उतार्न पनि होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई उनको सुझाव थियो ।
आयोजक महानगर कार्यक्रम अध्यक्षतामा संघका अध्यक्ष
आयोजक महानगरले अभिमुखिकरण कार्यक्रमको सभापतित्व भने आफूले नगरी होटल तथा पर्यटन व्यावसायी संघ पर्साका अध्यक्ष हरि पन्तलाई बनाएको थियो । महानगरले भने अभिमुखीकरणको मात्र भूमिका निर्वाह गरी सहजीकरणको पाटो पनि होटल एशोसिएसन हानका मधेश प्रदेश उपाध्यक्षलाई दिएको सहभागीले जनाए ।
कार्यक्रम फलदायी भएको र अझ पहिले यस्तो अभिमुखीकरण कार्यक्रम भए व्यवसायीहरुले धेरै कुराहरु सिक्न सक्ने होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए । अनुगमनकारी निकायहरुले अनुगमन गर्दा कतिपय कुराहरु व्यवहारिक रूपमा पनि विचार गरिदिनु पर्ने पनि अध्यक्ष पन्तले सुझाव दिएका छन् ।






