कर्मापा सेवा समाजले मनायो धर्मगुरु कर्मापाको ४१औं जन्मोत्सव

काठमाडौं । काठमाडौंको बौद्धस्थित कर्मापा सेवा समाज नेपालले धर्मगुरु परम पूजनीय १७औं कर्मापा उर्गेन डोडुल ठिन्ले दोर्जेको ४१औं जन्मोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

कर्मकाग्यू सम्प्रदायका प्रमुख गुरु कर्मापा ४० वर्ष पूरा गरी ४१औं वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौंको बौद्धस्थित दाप्साङ रिम्पोछे गुम्बा परिसरमा आयोजित जन्मोत्सव कार्यक्रममा समितिले सयौं लामा गुरुहरूलाई भेला गरेर झाँकीसहित बिहीबार बिहानैदेखि बौद्धनाथ मन्दिर परिक्रमालगायत विविध धार्मिक नृत्य तथा सांस्कृतिक कार्यक्रम गरेको थियो ।

कार्यक्रम उद्घाटन लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय बौद्ध महासंघका अध्यक्ष डा. ल्हार्केल लामा, धर्मगुरु कर्मापाकी दिदी नुडुप पेलजोम र कर्मापा सेवा समाज नेपालका संस्थापक अध्यक्ष एवं पूर्वअध्यक्ष जितेन लामाले गरेका थिए । धर्मगुरु कर्मापाको दीर्घायुको कामनासहित कर्मापाको तस्बिर अंकित ब्यानर बोकेर बौद्धनाथ मन्दिर परिक्रमा गरेपछि दाप्साङ रिम्पोछे गुम्बामा सुरु भएको जन्मोत्सव विशेष कार्यक्रममा विविध नृत्य तथा झाँकी प्रदर्शन गरिएको थियो ।

आयोजक संस्था कर्मापा सेवा समाजकी अध्यक्ष डोल्मा छिरिङ भने असक्त भएका कारण सो कार्यक्रममा सहभागी भएकी थिइनन् । समितिका कार्यालय सचिव सार्जन चापागार्इंले सञ्चालन गरेको कार्यक्रमको संयोजन फुन्चोक छोपेनले गरेका थिए । कार्यक्रम संयोजक छोपेनले स्वागत मन्तव्य व्यक्त गरेका थिए । समितिका कार्यालय सचिव चापागाईंले समितिले स्थापनाकालदेखि गर्दै आएका विविध कार्य र कर्मकाग्यू सम्प्रदायका प्रमुख गुरु कर्मापाको जीवनी’bout जानकारी गराएका थिए ।

धर्मगुरु कर्मापाकी दिदी नुडुप पेलजोम सो कार्यक्रमका लागि अमेरिकाबाट नेपाल आइपुगेकी हुन् । उनी अमेरिकी नागरिक हुन् ।

कर्मकाग्यू सम्प्रदायका प्रमुख गुरु ग्याल्वाङ कर्मापा २६ जुन १९८५ मा सुदूर तिब्बतको खाम प्रदेशमा जन्मिएका हुन् । बौद्ध शिक्षा, काग्यूपा धर्म परम्परालाई अभिरुचिपूर्वक गहिरो अध्ययन गरेका गुरु कर्मापाबाट मानव जातिका लागि धर्म, संस्कृति र वातावरण संरक्षणमा आफूलाई सक्रिय गराउने काम एकदमै राम्रो भएको सो समितिले जनाएको छ ।

बौद्ध धर्म परम्परा र काग्यूपा संस्कृतिलाई सबै गुम्बामा प्रतिस्थापन गर्दै, लामा आनीहरूलाई शिक्षाको समान अवसर दिनुका साथै सबै गुम्बाले बौद्ध, काग्यूपा एवं जीवन र दर्शन भोगाइका व्यावहारिक शिक्षा दिन गुरु कर्मापाले प्रेरित गरेको सो समितिले जनाएको छ । ‘सबै मानिसले कर्मले बाच्नुपर्छ र नैतिकतालाई आफ्नो जीवन पद्धति बनाउनुपर्छ’ भन्ने नै कर्मापाको मार्गदर्शनभित्र समेटिएको सो समितिले जनाएको छ ।

यसैगरी, सबैलाई जिउन सहजताका लागि, अपनाउनुपर्ने जीवन पद्धति सूत्रका रूपमा उनले १ सय ८ बुँदा मार्गदर्शन दिएको र जसको थोरै मात्र अनुसरण हामीले गर्नसकेमा पनि व्यक्ति समाज र राष्ट्रलाई समेत दिशाबोध गर्न सकिन्छ भन्ने प्रेरणाले अहिले आफूहरूले यस्तो कार्यक्रम गर्दै आएको सो समितिले जनाएको छ ।

धर्मगुरुको यही प्रेरणाबाट अहिले कर्मापा सेवा समाजमा आबद्ध भई विगत ३१ वर्षदेखि आदर्श एवं गौरव परम पूजनीय १७औं कर्मापाको शुभजन्मोत्सव मनाउन पाउनु आफूहरूको अहोभाग्य भएको कार्यक्रम संयोजक छोपेनले बताए । समाजका पूर्वअध्यक्ष लामाले बौद्ध रामहिटीमा रहेको सेतो गुम्बाको उद्घाटन स्वर्गवासी राजा श्री ५ वीरेन्द्र शाह र सोही कर्मापा परम पूजनीय स्व. राडजुङ रिग्पे दोर्जेबाट संयुक्त रूपमा भएको स्मरण गर्दै यस समितिको सक्रियतामा २०७२ सालको गोर्खा भूकम्पबाट क्षतिग्रस्त बौद्ध स्तुपा पुनर्निर्माणमा पनि गुरुको अमूल्य योगदान रहेको बताए । सो योगदानलगायत नेपालमा आइपर्ने विविध आपत्–विपद् एवं समस्यामा पनि गुरुको आदेश एवं मार्गदर्शनबाट यस सेवा समाजको अगुवाइमा राहत वा सहयोगमा धेरै सामाजिक तथा मानवीय सेवाको काम गर्दै आएको पनि उनले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु