सिन्धुली । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार साँझ सार्वजनिक भएको छ । एसईई २०८१ मा जिल्लाबाट ७५.३८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन । २४.६२ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गर्न सकेका छैनन ।
जिल्लाबाट एसईई परीक्षा दिएका ४ हजार ९ सय ४३ विद्यार्थी मध्ये ३ हजार ७ सय २६ जनाले एसईई उत्तिर्ण गरेका हुन । ननग्रेडमा १ हजार २ सय १७ जना परेका छन ।
जिल्लाका तीन जनाले ४ जिपीए अंक प्राप्त गरेका छन । साईनिङमुन एकेडेमी सिन्धुलीकी छात्रा रोशनी थापाले ४ जिपिए अंक प्राप्त गरिन भने सूर्योदयका छात्रा सुजता भुजेल र छात्र सुमन बस्नेतले ४ जिपिए अंक सहित जिल्लामा उत्कृष्ट भएका छन ।
शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका अनुसार जिल्लामा प्राविधिक धारतर्फ १७० जना विद्यार्थी उत्तिर्ण भएका छन भने साधारणतर्फ ३ हजार ५ सय ५६ जनाले एसईई उत्तिर्ण गरेका छन ।
जसमध्ये ४ जिपिए ३ जनाले प्राप्त गरेका छन । यस्तै ३.६० जिपिए भन्दा माथि ४ जिपिएभन्दा कम नतिजा ल्याउने ४ सय ५ जना, ३.२० देखि ३.६० सम्मको नतिजा ल्याउने ८ सय ४० जना, २.८० देखि ३.२० सम्म जिपिए ल्याउने १ हजार २ सय ६६ जना रहेका छन ।
यस्तै २.४० देखि २.८० सम्म जिपिए प्राप्त गर्ने १ हजार ६१ जना र २ देखि २.४० सम्मको ग्रेड प्राप्त गर्ने १ सय ५१ जना रहेका छन ।
उत्कृष्ट नतिजा फिक्कलको
जिल्लामा पालिका अनुसार नतिजा हेर्दा जिल्लाको उत्कृष्ट नतिजा फिक्कल गाउँपालिकाले प्राप्त गरेको छ । फिक्कल गाउँपालिकाको शिक्षा शाखाले एसईई २०८१ को पालिकास्तरीय नतिजा सार्वजनिक गर्दै पालिकाभित्रका ९५.६० प्रतिशत विद्यार्थी उत्तिर्ण भएको जनाएको छ ।
पालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार पालिका भित्रका १३ वटा सामुदायिक विद्यालयका ३४१ विद्यार्थी परीक्षामा सहभागि भएका थिए । ती मध्ये ३२६ जनाले एसईई उत्तिर्ण गरेका छन । यस्तै १५ जनाले ग्रेड प्राप्त गर्न सकेका छैनन ।
मावि सुम्नामसुन्तले चण्डी भञ्ज्याङका तीन जना विद्यार्थीले पालिकाको उत्कृष्ट नजिता प्राप्त गरेका छन । उक्त विद्यालयका शतप्रतिशत विद्यार्थी पास भएका छन । विद्यालयका भिमकुमारी राना, मिलन थापा मगर र चित्र बहादुर सुनुवारले ३.६० जिपिए प्राप्त गरि पालिकाभरीकै उत्कृष्ट विद्यार्थी समेत बनेका छन ।
पालिकाका ७ वटा सामुदायिक विद्यालयले शत प्रतिशत विद्यार्थी पास गराउन सफल भएका छन । मावि महादेवडाँडा, मावि सुम्नामसुन्तले चण्डीभञ्ज्याङ, मावि रातमाटा खोलागाउँ, महाकाली मावि पोटी खाङसाङ, सुनकोशी मावि खाङसाङ, फिक्कल मावि सोल्पा र रत्नगंगा मावि सोखुडिहिटारले शत प्रतिशत विद्यार्थी पास गराउन सफल भएका हुन । फिक्कल गाउँपालिकामा नीजि विद्यालयहरु छैनन ।







